Play

गण्डकी सरकारबाट मनांगे हटेपछि कांग्रेसबाट नयाँ मन्त्री बनाउने बाटो खुला

आन्तरिक गुट मिलाएर कांग्रेसबाट मन्त्री बनाइने सम्भावना


गुरुकुल खबर


पोखरा, भौतिक पुर्वाधार तथा यातायात ब्यबस्था मन्त्रालयको जिम्मेवारीबाट बन तथा बाताबरण मन्त्रालयको जिम्मेवारी पाएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङेले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष मन्त्री पदबाट राजिनामा दिएका छन। आफ्नो स्वकीय सचिवमार्फत मनाङेले मुख्यमन्त्रीलाई राजीनामा बुझाएकोमा मुख्य मन्त्री पाण्डेले मनांगेले दिएको राजिनामा स्वीकृत गरिसकेका छन।

मनांगेको राजिनामा स्वीकृत भएसंगै अब गण्डकी प्रदेशमा एकजना नयाँ मन्त्री राख्न मिल्ने भएको छ। एमाले र काँग्रेस बीच भएको सहमति अनुसार काँग्रेसको भागमा ५ वटा र एमालेको भागमा ४ वटा मन्त्रालय पारिएको थियो सोहि अनुरुप एमालेका चार जना मन्त्री नियुक्त भएपनि काँग्रेसको भने कोहि पनि नयाँ मन्त्री बन्ने सम्भावना थिएन।

काँग्रेसको भागमा परेका भनिएका ५ वटा मन्त्रालय मध्येबाट नै स्वतन्त्र सांसद राजिब गुरुङ अर्थात दिपक मनांगे र नेपाल समाजबादी पार्टीक सांसद फणीन्द्र देवकोटालाई मन्त्री पदबाट नहटाउने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अडानको कारण काँग्रेसबाट मुख्यमन्त्री बाहेक दुई जनामात्र मन्त्री बनेका थिए । तर मनांगेले आफै राजिनामा दिनु र उक्त राजिनामा मुख्यमन्त्री पाण्डेले स्विकृत गर्नुले एकजना मन्त्रीको लागि ठाउँ खाली हुन पुगेको छ।

खाली भएको उक्त मन्त्रालयमा काँग्रेसका तर्फबाट कुनै एक सांसदले मन्त्री बन्ने अवसर पाउने पक्का जस्तै भएको छ तर कांग्रेस भित्र पनि मन्त्रीको लागि दौडधुप र रस्साकस्सी चलिरहेकोले मुख्य मन्त्री पाण्डेले कसलाई मन्त्री बनाउलान भन्ने एकिन हुनसकेको छैन। मन्त्री बनाउनको लागि काँग्रेस भित्रको गुट ब्यबस्थापन गर्नुपर्ने र भूगोल समेत मिलाउनु पर्ने अबस्था छ। जातीय, लैंगिक अनि नागरिकको लागि आशा लाग्दो अनुहारलाई मन्त्री बनाउन आबश्यक रहेको कांग्रेसजनको भनाई छ।

यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो । त्यसपछि उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएको थियो । सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गएका मनांगेले आफ्नो भागमा बन तथा बाताबरण मन्त्रालय परेको थाहा पाएपछि त्यहाँबाट छिटो निस्केर मुख्यमन्त्रीलाई राजिनामा पठाएका थिए।

प्रदेशमा वन मन्त्रालय रहेपनि अधिकार केहि नभएको कारण उक्त मन्त्रालयको औचित्य समेत नरहेको र प्रदेशको मन्त्रालयलाई कुनै पनि अधिकार नरहेको उनको भनाई छ । ‘वन प्रदेशले हेर्नै पाउँदैन । वनमन्त्री चाहिँदैन । प्रदेशले तीतेपातीको घारी, असुराको घारी मात्र हेर्ने हो’, मनाङेले भने ‘वन अहिले पनि संघले हेरिराछ।

साथै उनले वन मन्त्रालय कांग्रेसको कोटामा रहेको पनि बताएका छन् । ‘म कांग्रेसको सांसद हैन, स्वतन्त्र सांसद हुँ । कांग्रेसको कोटाको मन्त्री कांग्रसकै सांसदलाई देऊ भनेको छु’, मनाङेको भनाइ थियो।

१७ भाद्र २०८१, सोमबार २२:३३ मा प्रकाशित
Nabintech