Play

पहिरोमा परि मृत्यु भएका सातजनाको परिवारलाई प्रमुख पार्टीको सहयोग,एक मृतकको परिवारले सरकारी राहत नपाएको गुनासो

पहिरोका कारण मृत्यु भएकी राधिकाको परिवारले सरकारी राहत नपाएको गुनासो


गुरुकुल खबर


पोखरा, कास्कीको पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट टारी भन्ने स्थानमा पहिरोले घर पुर्दा भएको घटनामा परि मृत्यु भएका परिवारका सदस्यहरुलाई विभिन्न राजनीतिक पार्टीले समेत आर्थिक सहयोग गरेका छन। सोमबार उक्त स्थानमा पुगेका नेपाली काँग्रेस कास्की अन्तर्गत विभिन्न तहका नेता र कार्यकर्ताहरुले पिडितहरुको आवाश निर्माणको लागि ५५ हजार ५ सय र भेटि स्वरूप ५ हजार रुपैया सहयोग गरेका थिए।

नेपाली काँग्रेस पोखरा महानगरपालिका -१९ वडा कार्यसमितिले संयोजन गरेको उक्त कार्यक्रममा पार्टीका जिल्ला स्थित विभिन्न तहका नेताहरु पुगेका थिए । स्थानीय बासिन्दा समेत रहेका नेपाली काँग्रेस कास्कीका सहसचिब शंकर ढुंगानाका अनुसार अकल्पनीय घटनाको कारण  बिपन्न परिवारका ७ जनाको मृत्यु भएको र मृतकका परिवारलाई केहि सहयोग पुगोस भनेर पार्टीका नेता कर्यकर्ताबाट स्वतस्फुर्त रुपमा संकलित रकम हस्तान्तरण गरिएको हो ।

नेपाली काँग्रेस वडा कार्यसमितिका सभापति बिष्णु बास्तोलाले उक्त घटनापछि पिडितहरुलाई विभिन्न किसिमको सहयोग उपलब्ध गराउन विभिन्न संघ संस्थासंग समन्वय गर्नेकाम पार्टीको तर्फबाट भैरहेको जानकारी दिए ।

सोहि वडाका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले जोखिम जस्तो नदेखिने स्थानमा गत असार २८ गते बिहान अचानक पहिरो गएको कारण ७ जनाको मृत्यु भएको र सरकारको तर्फबाट कास्की जिल्ला प्रशासन कार्यालय मार्फत राहत दिने काम भैरहेको जानकारी दिए । उनले सोहि घटना भएकै बेला राधिका परियारको समेत मृत्यु भएको कारण  उनको परिवारलाई समेत सरकारले राहत रकम दिन आग्रह गरे ।

घटनामा कुल बहादुर परियारको परिवारका सात जनाको मृत्यु भएको र केहि घाइते भएका थिए । मृत्यु हुनेमा वर्ष ४६ को कुल बहादुर परियार, निजको श्रीमती बर्ष ४३ की मनकुमारी परियार, निजको आमा वर्ष ८५ की लक्षीमा परियार, निजको छोरी बर्ष १५ की प्रशना परियार, छोरी २० बर्षकी प्रभा परियार र ज्वाइ २५ बर्षीय अस्मित परियार रहेको छन । स्यांग्जा घर भएको प्रभा आफ्नो श्रीमान अस्मित परियार संगै माइत आएकी थिईन। सोहि घटनामा स्थानीय भोजबहादुर परियारकी श्रीमती राधिका परियारको पनि मृत्यु भएको थियो ।

हाल मृतक बृद्ध लक्ष्मी परियारको काजक्रिया उनका छोरा स्वबर्ण परियारले , लक्ष्मी परियारकै अर्का छोरा मृतक कुल बहादुर र उनकी श्रीमती मनकुमारी समेतको काजक्रिया उनीहरुको एक्लो छोरा एक्लो छोरा पवन परियारले तथा मृतक राधिका परियारको काजक्रिया   उनका दुई छोरा प्रकाश परियार र कुमार परियारले गरिरहेका छन ।

राधिका परियारका परिवारले सरकारी राहत नपाएको गुनासो 

घरको माथि पट्टि नजिकै बाट आएको पहिरोले टीनले छाएको कच्ची एकतले घर पुर्दा ६ जनाको मृत्यु भएको थियो । सोहि घरसंगै जोडिएको अर्को कच्ची घरको गार्हो भत्किएर खसेको ढुंगाले टाउकोमा चोट लागेको कारण राधिका बेहोस बनेकी र सोहि कारणले उनको मृत्यु भएको कारण उनको परिवारलाई पनि सरकारले राहत दिनुपर्ने स्थानीयको भनाइ छ।

राधिकाका श्रीमान भोजबहादुर परियारले गुरुकुल खबरसंग कुरा गर्दै भने “श्रीमती राधिका ३ वर्ष देखि सुगर र जन्डिसको बिरामी थिईन र उक्त दिन पनि अस्वस्थ महशुस गरि बाक्लो ब्ल्यांकेट ओढेर सुतेकी थिईन । सुतिरहेकै बेला पहिरो आउँदा पहिले संगै जोडिएको घर भत्किन पुगेको र लगत्तै हाम्रो घरको भित्ता पनि भत्किन पुग्यो। हामी सबै बाहिर निस्केपनि श्रीमती राधिकालाई भित्ता भत्किएर खसेको ढुंगाले टाउकोमा चोट लाग्यो र उनि बेहोस भईन। सोहि कारणले उनको मृत्यु भयो। ”

परियारले ढुंगा खसेर श्रीमतीको टाउकोमा चोट लागेपनि ब्ल्यांकेट ओढेको कारण बाहिरी घाउ नदेखिएको बताए। तर सरकारी अधिकारीहरुले राधिका आँफै बेहोश भएको भन्दै परिवारलाई राहत रकम नदिने भन्ने सुन्दा निकै दुख लागेको भन्दै उनले पिडा पोखे ।

समबेदना दिन त्यहाँ पुग्नेहरु समक्ष परियारले बिलौना गर्दै पिडा पोख्ने गरेका छन, “म पनि बिरामी छु, दुई छोराहरु पनि पढेलेखेका छैनन,  श्रीमती पनि बिरामी थिईन तर अहिले पहिरोको कारण नै उनको मृत्यु भएको हो। तसर्थ सरकारले दिने राहत हाम्रो परिवारलाई पनि दिने व्यवस्थाको लागि तपाईंहरुले पनि पहल गरिदिनुपर्यो ।”

उनको पिडा सुनेका वडाध्यक्ष पाण्डेले भने। “म वहाँको पिडा संगै छु मेरो तर्फबाट गर्ने पहल गरेको छु तर कास्की प्रहरी र प्रमुख जिल्ला अधिकारीले  यो बिषयलाई गम्भिरता पुर्बक लिईदिनुपर्यो ।”

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले पहिरोका कारण छ जनाको मृत्यु भएको र राधिका भने  बिरामी भएको कारण मृत्यु भएको भन्ने जानकारी आए अनुसार चारजनाको परिवारलाई सोहि स्थानमा र दुईजना मृतकको परिवारलाई स्यांग्जा जिल्ला प्रशासन कार्यालय मार्फत राहत रकम वितरण शुरु भैसकेको जानकारी दिए।  निज राधिका परियारको बारेमा थप बुझेर आबश्यक निर्णय हुन सक्ने उनले बताए ।

बुधबार बिहान नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसकि केन्द्रीय सदस्य शारदा पौडेल, प्रदेश सांसद प्रकाश बराल, कास्की काँग्रेसका पूर्व सभापति कृष्ण केसी, जिल्ला उपसभापति युबराज कुँवर, क्षेत्रिय सभापति मनोज गुरुङ, पोखरा महानगरका सभापति सुरेन्द्रमान बिजुक्छे सहित ठुलो संख्यामा नेता कार्यकर्ताहरु पुगेका थिए । कांग्रेस नेता कार्यकर्ताबाट संकलित रकम वडाध्यक्ष पुष्पेन्द्र पाण्डे मार्फत मृतकका परिवारलाई हस्तान्तरण गरिएको थियो।

नेकपा एमाले र माओबादीको पनि सहयोग 

यसै गरि नेकपा एमालेले पनि करिब ५ हजार भेटि स्वरूप र ५० हजार रुपैया बढी रकम संकलन गरेर मृतकका आफन्तलाइ हस्तान्तरण गरिसकेको र माओबादी केन्द्रका नेता जिबन बराल सहितका नेताहरु पनि सोमबार बिहान पुगेर करिब ३० हजार रुपैया जति सहयोग गरेको बताइएको छ । नेपाली काँग्रेस र माओबादी केन्द्रले पिडित सबैको लागि आर्थिक सहयोग गरेको जनाएपनि माओबादीले दिएको सहयोग भने पवनको परिवारको लागि मात्र भनेर दिएको छ ।

 

२ श्रावण २०८१, बुधबार २२:५१ मा प्रकाशित
Nabintech