पोखरा, अविरल बर्षापछि देशका विभिन्न स्थानमा पहिरो जाँदा ठुलो धन जनको क्षति हुन पुगेको छ। पूर्व-पश्चिम राजमार्गको नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको समाचार छ । दुई वटा बसमा कति यात्री थिए भन्ने अझै एकिन हुन सकेको छैन ।
तर कतिपयले सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा दुवै बस त्रिशूलीमा बेपत्ता भएको र ति दुई बसमा चालकसहित ६३ जना रहेको अनुमान गरेका छन्
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएको जानकारी बिहान साढे तिन बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्सको एउटा र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।
प्रारम्भिक जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना यात्रु रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेका कारण उद्वारमा समेत कठिनाइ भैरहेको छ । उद्धारको काम थालिएको छ र पहिरो पन्छाउन काम पनि सुरु गरिएको बताउंदै उनले भने। “यकिन विवरण भने आई सकेको छैन ।
उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको घटनास्थलतर्फ गएका चितवन प्रहरीका एसपी भावेश रिमालले बताए
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ । बुटबलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासी घर भएका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको डीएसपी रिजालले बताए ।
यसैगरी गएराती परेको अविरल वर्षाकाकारण आएको पहिरोका परि पोखरामा एकै परिवारका सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुर र मादी गाउपालिकामा गरेर चार जना बेपत्ता भएका छन्।
गएराती साढे दस बजेतिर पोखरा महानगरपालिका – १९ पुरुन्चौरमा पहिरोले घर पुर्दा एकै घरका ७ जनाको मृत्यु भएको छ । पोखरा -१९ तल्लाकेट ठाटीमा घर माथिबाट आएको पहिरोले स्थानीय कुल बहादुर परियारको घर पुरिदा उनको परिवारका सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। स्थानीय समेत रहेका नेपाली काँग्रेस कास्कीका सह सचिब शंकर ढुंगानाका अनुसार भुर्जुंगखोला जाने थाँटीबजार भन्ने स्थान नजिक उक्त दुर्घटना भएको हो ।
यसैगरी पोखरा – ३२ मा पहिरोले एक घर पुर्दा तिन जना बेपत्ता भएका छन्। पोखरा-३२ चैनपुरस्थित बार्हबिसेकी आरती ओझाको एकतले घर पहिरोले पुरिंदा उनकी छोरी वर्ष १८ किअनिता ओझा, अनुषा ओझा र अर्का एक युवा (छोरा) बेपत्ता भएका छन्। उनीहरुको खोजि भैरहेको प्रहरीले जानकारी दिएको छ। आरती ओझाको भने उद्धार गरिएको प्रहरीले बताएको छ।
त्यस्तै मादी गाउँपालिकामा एक जना बेपत्ता भएको समाचार छ। मादी गाउँपालिका वडा नम्बर ११ तल्लो तापलेमा घर पुरिंदा ८० वर्षीया माइली गुरुङ बेपत्ता भएकी छिन भने उनका ५५ वर्षीय छोरा ओम गुरुङको उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।