पोखरा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको राजनीतिक सहमतिलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन । काँग्रेस र एमालेबीच मुलुकमा राजनीतिक स्थायित्व दिने, नेपालको संबिधानमा रहेका केहि बुंदाहरु समय, परिस्थिति र जनताको चाहना अनुसार संसोधन गर्नुपर्ने लगायतका बिषयमा कांग्रेस र एमाले बीच सहमति हुनुपर्नेमा जोड दिंदै आएका कांग्रेसका नेता भण्डारीले यो सहमति मुलुकको लागि आबश्यक रहेकोले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने स्पष्ट पारे ।
माओबादी केन्द्र र नेपाली काँग्रेस बिचको सत्ता सहकार्य टुटेर माओबादी केन्द्र र नेकपा एमालेको बिचमा सत्ता सहकार्य भएलगत्तै उनले एमाले माओबादीको गठबन्धन धेरै समय नटिक्ने दाबि गरेका थिए । उनले गत चैत्रमा कांग्रेस एमाले बिचको सहमति भएर केहि महिनाभित्रमा नै नयाँ सरकार बन्ने उद्घोष समेत गरेका थिए उनले मुलुकको विभिन्न स्थानमा आयोजित कार्यक्रममा ब्यक्त गरेको बिचारलाई कतिपय संचारमाध्यमले प्राथमिकताका साथ प्रकाशन/ प्रशारण गरेका थिए ।
केहि दिन अगाडी पोखरामा आएका भण्डारीले आँफु निकटका काँग्रेस कार्यकर्ता र सिमित संचारकर्मी समक्ष पनि एमाले माओबादीको गठबन्धनमा खिया लागिसकेको कारण गठबन्धन लामो समय नटिक्ने दाबि गरेका थिए ।
उनले गत वर्ष पोखरामा नेपाली काँग्रेस गण्डकी प्रदेशले आयोजना गरेको एक कार्यक्रममा देशमा राजनीतिक रुपमा ठुलै परिबर्तन हुने कुरा बताएका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा सहित थुप्रै पदाधिकारी र नेताहरु समेत सहभागी थिए ।
तपाइंले पोखरामा आयोजित कार्यक्रममा चैत भित्र राजनीतिक परिबर्तन हुने बताउनुभएको थियो तर त्यस्तो केहि भएन त? भन्ने एक कार्यकर्ताको जिज्ञाशामा भण्डारीले भने । “त्यो बेला कांग्रेस र माओबादीको गठबन्धनको सरकार थियो तर चैत अगाडि त्यो गठंबन्धन भत्किन पुग्यो त्यसैको चरणबद्ध रुप अहिलेको गठबन्धनलाई पनि लिनुपर्छ। ”
यसै सन्दर्भमा आंफुले बोलेको कुरालाई पार्टीका जिम्मेवार पदाधिकारीले ‘चैतपछि बैशाख आउँछ’ भनि ब्यङ्ग गरेको सम्झिन्दै भण्डारीले भने, “मैले देशभित्रका विभिन्न पार्टीका विभिन्न तहका नेताहरु र देशबाहिरका विभिन्न नेताहरुसंग गरेको कुराकानी र छलफलको आधारमा विचार ब्यक्त गर्ने गरेको छु, तर कतिपयले मेरो कुरालाई हल्का रुपमा लिने गरेको छन। ”
उनले तनहुँको दमौलीमा आएर आफ्ना शुभचिन्तकहरुसंग पनि माओबादी एमालेको गठबन्धन लामो समय नजाने कुरा बताएको तनहुँका नेपाली काँग्रेसका नेता डा. कृष्ण गौतमले गुरुकुल खबरलाई जानकरी दिए। ‘ भण्डारीजीले राजनीतिक स्थिरता र बिकासको लागि मात्र नभएर नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने भन्दै संबिधान संसोधनको मुद्दालाई जोडतोडले उठाउँदै आउनुभएको छ। संबिधान संसोधन गर्न एमाले र कांग्रेस मिल्नुको विकल्प नभएकोले पनि वहाँले कांग्रेस एमालेको गठबन्धनमा पहिले बाट नै जोड दिनुभएको हो।” डा. गौतमले भने ।
काँग्रेस केन्द्रीय सदस्य एबम पूर्वमन्त्री भण्डारीले नेपाललाई हिन्दुराष्ट्र बनाइनुपर्ने एजेण्डा सहित पार्टी भित्र र बाहिर पनि लबिंग गर्दै आइरहेका छन। उनले यस अगाडी १ हजार भन्दा बढी महासमिति सदस्यको हस्ताक्षर गराएर नेपाली काँग्रेसले हिन्दुराष्ट्रको एजेण्डा लिएर जनता माझ जानुपर्छ भन्ने बिषयलाई नेपाली काँग्रेसको महासमितिको बैठकमा प्रवेश गराएका थिए ।
महासमिति बैठक हल बाहिर रहेका नेता कार्यकर्ताका माझ उनको अभियानले राम्रो चर्चा पाएको भएपनि पार्टीभित्र भने यो बिषयले आधिकारिक रुपमा प्रवेश पाएको छैन । “यो एजेन्डा नेपाली काँग्रेस र देशको लागि पनि आबश्यक भएकोले पार्टीले गम्भीरताको रुपमा लिने र केन्द्रीय समितिमा वा आबश्यकता अनुसार अन्य तहमा छलफल गरि टुंगोमा पुर्याउने सम्बन्धमा सबैको ध्यान जानेमा म विश्वस्त छु । ” केन्द्रीय सदस्य भण्डारीले भने ।
‘गणतान्त्रिक, वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ महाअभियानका संयोजक समेत रहेका भण्डारीले मुलुक र धर्म सँगसँगै रहने भएकाले आफूहरू सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे । भण्डारीले आफूहरूले स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा रहेको भएपनि कहिले हाम्रो अभियानलाई राजसंस्था संग जोड्ने गरेकोमा चिन्ता प्रकट गरे
उनले भने, राजसंस्था र धर्म फरक विषय हो । मुलुक र धर्म सँगसँगै रहने कुरा हो । संस्था र पार्टीहरू त्यसभित्र रहने कुराहरू हुन् । त्यसैले हामी स्पष्ट छौँ नेपाललाई सनातन वैदिक धर्म सापेक्ष हिन्दु राष्ट्र बनाउनु पर्छ ।’
नेपालको संविधान २०७२ जारी गर्दाका बखत गरिएको जनमत संकलनमा ८० प्रतिशत नागरिकले हिन्दु राष्ट्रको माग गरेको भए पनि त्यसको विरुद्धमा संविधानमा धर्म निरपेक्ष राष्ट्र लेखिएकोमा भण्डारीले आपत्ति प्रकट गर्दै आएका छन।
उनले भने, ‘म आफैँ संविधान सभा सदस्य हुँ । म यो कुरा बुझेर मस्यौदा समितिमा बसेको हुँ । म लगायत धेरै जना कांग्रेसका सदस्यहरूले धर्म निरपेक्षताका विपक्षमा आवाज उठाएका हौँ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पछि संविधान संशोधन गरेर भए पनि यो राखौँला । अहिले यो प्रस्ताव फिर्ता लिदिनुस् भनेकाले मैले मानेको हुँ ।’
गौतम बुद्ध जस्ता महान् व्यक्तित्व जन्मेको हिमालय मुलुक नेपाल हरेक क्षेत्रमा कमजोर भइरहेको बताउँदै देशको स्वाधीनता र स्वाभिमान जोगाइराख्न नेपाली कांग्रेस र अब बन्ने सरकार गम्भीर बन्नुपर्ने बेला भएको नेता भण्डारीको भनाइ छ । पार्टीको महासमिति बैठकमा जस्तै केन्द्रीय समितिमा पनि धेरिया नेताहरु सनातन हिन्दुराष्ट्रको पक्षमा रहेको उनको दाबी छ ।
पूर्वमन्त्री भण्डारीले अब बन्ने गठबन्धन सरकारमा मन्त्री बन्ने सम्भावना लाई नकार्न चाहेनन “मेरो पार्टी भित्र र बाहिरका नेताहरु सबैसंग राम्रो सम्बन्ध छ र मेरो कार्यक्षमताबारेमा वहाँहरु पनि जानकार हुनुहुन्छ, त्यसैले नयाँ सरकारमा बस्नको लागि नेताहरुले जिम्मेवारी दिने कुरामा म पनि आशाबादी छु,” उनको भनाई उदृत गर्दै नेपाली काँग्रेस तनहुँ जिल्ला कार्यसमितिका सदस्य डम्बर अधिकारीले भने ।
नेपाली काँग्रेसको आसन्न महाधिबेशनमा माथिल्लो तहका नेताहरुले सनातन हिन्दु राष्ट्रको एजेण्डा अंगाल्ने बिश्वास ब्यक्त गर्दै यो एजेन्डा बोक्ने चाहना नेतामा नदेखिएमा आँफुले नै उक्त एजेन्डा बोकेर पार्टीको महत्वपुर्ण जिम्मेवारीमा पुग्न चुनाब लड्ने अवस्था आउनसक्ने बताएको समेत अधिकारीले जानकारी दिए। अधिकारी तनहुँमा शंकर भण्डारी निकट मानिन्छन।