Play

पांचजना प्रजातान्त्रिक योद्धालाई पोखरामा सम्मान, प्रधानमन्त्री प्रचण्ड गैरजिम्मेवार- पूर्वसभामुख ढुंगाना

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका नेता एबम २०४६ सालको जनान्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको नाममा स्थापित  गणेशमान सिंह फाउन्डेसनको  गण्डकी प्रदेश समितिले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका गण्डकी प्रदेशका बिभिन्न जिल्लाका ५ जना व्यक्तित्वलाई सम्मान गरेको छ।

गणतन्त्र दिवसको सन्दर्भ पारेर पोखरामा आयोजना गरिएको उक्त कार्यक्रममा सम्मानित हुने हरुमा मनाङ जिल्लाका कोमलबहादुर घले, बाग्लुङका गोविन्दप्रसाद शर्मा कँडेल, स्याङ्जाका तारापति सुवेदी, कास्कीका पुलेन्द्रमान श्रेष्ठ र तनहुँका लेखबहादुर थापा रहेका छन । प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुलाई सम्मानपत्र र दोषल्लाका साथै नगद २५ हजार रुपैयासहित सम्मान गरिएको थियो।

उनीहरुलाई पूर्व सभामुख दमननाथ ढुंगाना, नेपाली काँग्रेसका पुर्ब महामन्त्री एबम पूर्व सभामुख तारानाथ रानाभाट, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा लगायतका नेताहरुले कदर-पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व सभामुख ढुंगानाले वर्तमानमा टेकेर भविष्य निर्धारण गर्नुपर्ने बेला आएको बताए। उनले २००७ सालदेखिको इतिहासले मात्र कांग्रेस सवल  भएर जान नसक्ने बताउँदै अबको लडाई साम्यवादी चरित्र भएका कम्युनिस्टसँग रहेकोमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार ढंगबाट आउने गरेको बताउंदै पूर्व सभामुख ढुंगानाले प्रधानमन्त्री जस्तो व्यक्तिले सधैँ उथलपुथल पार्छु भन्ने खालकाअभिव्यक्ति दिनु र मुलुकलाई झनै अस्थिरतातर्फ लैजाने प्रयास भैरहेको भन्दै  चिन्ता प्रकट गरे।

पूर्व सभामुख ढुंगानाले प्रधानीमन्त्री बन्ने र बनाउने नेता र दल भन्दा पनि देश बनाउने नेता र दलको खाँचो रहेको बताए । उनले कम्युनिस्ट र प्रजातन्त्रवादी बिच सधैँ अन्तरविरोध हुने भएकाले अहिलेको संकट निम्तिएको उल्लेख गर्दै नेपाली काँग्रेसले अब गम्भीरता पुर्बक देश र जनताका मुद्दा बोकेर अगाडी बढ्नुपर्नेमा जोड दिए।

यसै प्रसंगमा उनले भने- अब नेपाली काँग्रेसले बिपी र गणेशमानको राष्ट्रिय मेलमिलापको नीति लिएर भए पनि कम्युनिस्टलाई समेटेर लैजानुपर्ने आबश्यकता छ। मुलुकमा टिआरसी विद्येयक टुङ्गो लगाउनुपर्ने अवस्थामा कम्युनिस्ट हरु सरकारमा हुँदा समेत जिम्मेवार नभएको भनि उनले चिन्ता प्रकट गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री  एबम नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधानसभाबाट ल्याएको संविधान राजनीतिक दलकै कारण खतरामा पर्नलागेको अनुभूति जनतामा हुन लागेको बताए। मुख्यमन्त्री पाण्डेले संसदीय व्यवस्था र संबिधानमा मात्र नभएर न्यायिक सर्वोच्चता र न्यायिक मर्यादा माथि पनि चुनौती थपिएको भन्दै चिन्ता व्यक्त गरे।

कार्यक्रममा पूर्व सभामुख समेत रहेका नेपाली कांग्रेसका पुर्ब महामन्त्री तारानाथ रानाभाटले बिपी र गणेशमानको बिचारबाट बिचलित बन्दै गएपछि कांग्रेसमा संकट थपिएको बताए।

नेपाली कांग्रेस केन्द्रीय सदस्य गुरुप्रसाद बरालले गणेशमान सिंह फाउन्डेसनले लोकतान्त्रिक आन्दोलनका सिपाहीहरुको सम्मान गर्ने कार्यक्रम गरेर राम्रो काम गरेको भन्दै अबका दिनमा प्रजातन्त्रबादी युवा वा नौजबानहरुसंग पनि यस्तै कार्यक्रम गर्न सुझाब दिए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र  नै हुने भएकोले अहिलेको ब्यबस्थामा देखिएका चुनौतीलाई परास्त गर्दै नेपाली काँग्रेसलाई अझ शसक्त बनाउनुपर्नेमा जोड दिए ।

गणेशमान सिंह फाउन्डेसन गण्डकी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेलका साथै सम्मानित व्यक्तित्वहरुको तर्फबाट  लेखबहादुर थापाले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा गणेशमान फाउन्डेसनका गण्डकी प्रदेश सदस्य मोहन गुरुङ र कुमार रानाले संस्थाको विभिन्न गतिबिधि सहित गणेशमान सिंहको व्यक्तित्व  बारेमा आआफ्नो भनाइ राखेका थिए।

सम्मानित व्यक्तित्वहरु को हुन ?  

कास्की पोखराका पुलेन्द्रमान श्रेष्ठ नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन । नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि, क्षेत्रिय सभापति सहित बिभिन्न जिम्मेवारी सम्हालेका श्रेष्ठले प्रजातन्त्रको लागि भए गरेका विभिन्न चरणका आन्दोलनमा सक्रियता पूर्वक सहभागी बन्दै आएका छन । पटक पटक आन्दोलनको क्रममा जेल एब हिरासतमा पुगेका श्रेष्ठ २०४६ सालको जनआन्दोलनमा २ महिना बढी जेल बसेका थिए। लाभको पद र सुबिधाको खोजि नगर्ने प्रवृतिका श्रेष्ठ पोखरा महानगरपालिका -१३ का बासिन्दा हुन । प्रजातान्त्रिक आन्दोलन सहित स्थानीय शैक्षिक र सामाजिक बिकाशमा समेत श्रेष्ठको परिवारको योगदान रहेको छ।

सम्मानित हुने अर्का व्यक्तित्व मनांग जिल्लाका कोमल बहादुर घले हाल नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेपनि यस अगाडी उनि कांग्रेसको मनांग जिल्लाको सभापति र पार्टीको महासमिति सदस्य समेत रहेर काम गरिसकेका छन। उनि राष्ट्रिय सभाको पूर्व सदस्य समेत हुन् बिस. २००२ मा जन्मिएका घलेले गण्डकी छात्र समितिको संस्थापक सदस्य हुँदै नेविसंघको केन्द्रीय सदस्य समेत रहेर काम  गरेका थिए ।

सोहि कार्यक्रममा सम्मानित हुने स्यांग्जाका तारापति सुबेदीको जन्म १९९४ सालमा  स्यांग्जाको फेदीखोलामा भएको हो।  उनले बिभिन्न कालखण्डमा गरि १५/१६ वर्ष जेल जिबन बिताएका छन् राजा र राज्य बिरुद्दको अपराध, हात हतियार नियन्त्रण सम्बन्धि, शान्ति सुरक्षा लगायतका विभिन्न मुद्दामा उनि जेल बस्नु परेको थियो।

तत्कालिन राजा महेन्द्रले पुष १७ गते राजनीतिक दल माथि प्रतिबन्ध लगाउंदै शुरु गरेको जनविरोधी र प्रजातन्त्र बिरोधि कदमको बिरुद्द सुबेदी निरन्तर आन्दोलित बनेका थिए । प्रजातन्त्रका सेनानी सुबेदी २०३० सालमा बिपी कोइरालामाथि स्यांग्जामा बम काण्ड गराएको भनि तत्कालिन सरकारले लगाएको मुद्दाका एक आरोपी समेत हुन् । त्यस समयमा बिपी कोइरालालाई बिभिन्न ८ वटा मुद्दा लगाइएको थियो । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको कारण भारतमा निर्बासित जिबन बिताउन बाध्य सुबेदी बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर पुषमा नेपाल फर्किने घोषणा गरेपछि त्यो भन्दा अगाडी नै नेपाल फर्किएका थिए । सुबेदीले तिन कार्यकाल सम्म कांग्रेसको महाधिबेशन प्रतिनिधि र महासमिति सदस्य रहेर काम गरेको र एक पटक राष्ट्रिय सभाको सदस्यको लागि पार्टीले उमेद्वार बनाएको भएपनि बिजय प्राप्त गर्न सकेनन ।

सम्मान प्राप्त गर्ने अर्को व्यक्तित्व तनहुँका लेखबहादुर थापा १९९८ सालमा जन्मिएका हुन। उनि पनि पंचायती शाशनकालमा नेपाली काँग्रेस र प्रजातन्त्रको पक्षमा निरन्तर लागेका व्यक्तित्व हुन । तनहुँको म्याग्देमा जन्मिएका थापाले स्थानीय स्तरमा पार्टीको विभिन्न पदमा रहेर काम गरेका थिए।  उनि नेपाली काँग्रेस तनहुँको सदस्य र महाधिबेशन प्रतिनिधि सहित विभिन्न जिम्मेवारीमा रहेको र २०४९ सालको स्थानीय निकायको निर्बाचनमा नेपाली काँग्रेसको तर्फबाट मनापांग गाबिसको अध्यक्षमा निर्बाचित भएका थिए ।

यसैगरि सोहि दिन सम्मानित हुने बाग्लुंगका गोबिन्दप्रसाद कंडेल १९९५ सालमा जन्मिएका हुन । २०१३ सालमा १८ बर्षको उमेरमा नेपाली काँग्रेसको साधारण सदस्य बनेका कंडेल निरन्तर पार्टीमा सक्रिय रहँदै आएका छन। २०१७ सालमा पार्टीको महाधिबेशन प्रतिनिधि, २०१८ देखि २०४९ सम्म नेपाली काँग्रेस बाग्लुंगको सभापतिको रुपमा काम गरेका थिए। २०४८ सालको निर्बाचनमा बाग्लुंग -१ बाट प्रतिनिधि सभा सदस्यमा निर्बाचित कंडेल २०२८ देखि २०३४ सम्म राज्यद्रोहको अभियोगमा जेल बसेका थिए।  उनि २०४२, २०४६ र २०६२/६३ को आन्दोलनमा पनि महिनौ सम्म जेल बसेका थिए ।

यो पनि ..

गणेशमान फाउन्डेसनले गण्डकी प्रदेशका पांचजना प्रजातान्त्रिक योद्धालाइ सम्मान गर्ने

१९ जेष्ठ २०८१, शनिबार २०:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा