काठमाडौं- सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।
‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो ।
भण्डारी सुन प्रकरणका आरोपी दावा छिरिङसँग नाम जोडिएका व्यक्ति हुन् । छिरिङ सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । आयोगले ब्रेक सुबाट ६० किलो सुन र विद्युतीय सिगरेट (भेप)बाट ९ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
सो प्रकरणमा नाम जोडिएका र आरोपीहरुसँग आयोगले बयान लिइरहेको छ । सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व सहसचिवहरू किशोरजंग कार्की, प्रेमराज जोशी र पूर्वएआइजी सहकुल थापा सदस्य रहेको आयोग गठन गरेको थियो ।