Play

साधारण खर्च गर्ने पैसा पनि सरकारसँग छैन भन्ने कुरा सत्य होइन=अर्थमन्त्री महत

गुरुकुल खबर


भरतपुर– अर्थमन्त्री डा. प्रकाशशरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी उद्योग व्यवसायीलाई आग्रह गरेका छन्।

उद्योग वाणिज्य संघ चितवनको ५७औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘यथार्थ कुरा ग्रासरुटमा पुग्छ। होइन भने तपाईंहरुले प्राप्त गर्न खोजिरहेको कुराविपरीत परिणाम आउँछ।’ तथ्यांकलाई एकातिर राखेर नकारात्मक कुरा गर्दा व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्‍वास कमजोर हुने मन्त्री डा. महतले बताए।

उपभोक्ताले माग नबढाए उत्पादित बस्तुको माग घट्ने भन्दै उनले माग घटे व्यवसाय नबढ्ने भएकाले यथार्थ धरातलमा उभिएर आफ्नो कुरा सम्प्रेषण गर्न आग्रह गरे। अर्थतन्त्र समस्यामा रहेको भन्दै उनले अझै तहमा पुर्‍याउन धेरै काम गर्न बाँकी रहेको उनले स्पष्ट पारे।

उनले भने, ‘राज्य र निजी क्षेत्र दुवै तहबाट काम गर्न बाँकी छ। देशको अर्थतन्त्रले पुरानो स्थितिबाट प्रस्थान गरिसकेको छ। अहिले औषतमा मूल्यवृद्धि घटिरहेको छ।’ अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै गरेको मन्त्री डा. महतले बताए। विप्रेषणमा भर परेर अर्थतन्त्र अगाडि बढाउनु उचित नभएपनि कुनै व्यक्तिलाई विदेश जानबाट रोक्न नसकिने उनले बताए। तर देशमा दक्ष्य जनशक्तिको अभाव भने भइरहेको उनको भनाइ थियो।

उनले निर्माण व्यवसायीको अधिकांश दायित्व सरकारले पूरा गरिसकेको बताए। उनले भने, ‘केही बाँकी छन्, रकमान्तर गरेर सम्बन्धित मन्त्रालयलाई हामीले तिर्नुस् भनेका छौं, जति सम्भव छ, हामी गर्छौँ, नभएको माघपछि काम गरिसकेको दायित्व हामी जहाँबाट ल्याएर भए पनि पूरा गर्छौ। काम गरिसकेका निर्माण व्यवसायीको गुनासो अब रहँदैन।

साधारण खर्च गर्ने पैसा सरकारसँग छैन भन्ने कुरामा कुनै सत्यता नभएको उनको भनाइ थियो। ‘दबाब अवश्य छ, हाम्रो साधारण खर्चमा काहिँकतै समस्या आएको छैन। सामाजिक सुरक्षाको दायित्व एकदमै धेरै छ। ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई धनी गरिब जे भए पनि ४ हजार रुपैयाँ सरकारले दिइरहेको छ,’ उनले भने।

२१ पुष २०८०, शनिबार १९:३६ मा प्रकाशित
Nabintech