Play

पछिल्लो ११ महिनामा देशभर ६ हजार ९६३ जनाले आत्महत्या गरे, एक दिनमा २१ जनाभन्दा बढीको आत्महत्या

गुरुकुल खबर


काठमाडौं । गत जेठ महिनामा शुक्रराज ट्रपिकल अस्पतालमा कार्यरत नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी क्वार्टरमै झुण्डिएको अवस्थामा फेला परेका थिए । अर्काे घटना, परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा अनुप भण्डारी पोखराको बेगनास तालमा डुबेको अवस्थामा मृत फेला परेका थिए ।

त्यस्तै, गत पुसमा काठमाडौंको विजुली बजारकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित प्रेमीको घर अगाडि पुगेर आफूलाई अन्त्य गरिन् । प्रेमीले इन्गेजमेन्ट तोडेपछि तनावमा रहेकी न्यौपानेले आफैंलाई पेट्रोलियम पदार्थ छर्किएर आत्मदाह गरेकी थिइन् ।

व्यवसायका कारण डुबेको भन्दै सरकारमाथि प्रश्न उठाउँदै इलामका प्रेम प्रसाद आचार्यले पनि संसद भवन अगाडि आत्मदाह गरेका थिए ।

एक महिनाअघि आफू अध्यक्ष रहेको सहकारी चरम आर्थिक संकटमा परेको अवस्थामा जोरपाटीका शेरबहादुर तामाङले पनि आत्महत्या गरेका थिए । उनी लामो समयदेखि भाग्दै बसेका थिए ।
डीआईले गाली गरेको भन्दै त्रिपुरेश्वरस्थित विश्व निकेतनकी छात्रा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् भने नयाँ बजारस्थित इलिप्स स्कुलमा ५ कक्षामा अध्ययनरत १२ वर्षीय छात्र विद्यालयकै होस्टलमा मध्यरातमा भुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

यी माथिका केही प्रतिनिध घटना हुन् । मृत्युका विविध कारणमध्ये आत्महत्या प्रमुखमध्येकै रुपमा अगाडि देखिएको छ । अझ पछिल्लो तथ्यांकलाई केलाउँदा नेपालमा आत्महत्याका घटना कीर्तिमानतर्फ लम्केको छ ।

चालू आर्थिक वर्षको पछिल्लो ११ महिनामा देशभर ६ हजार ९६३ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसलाई गहिरिएर हेर्ने हो भने एकै दिनमा २१ जनाभन्दा बढीले आत्महत्या गर्छन् भन्ने हुन्छ ।

यसमध्ये ३ हजार ४९८ पुरुष, एक हजार ९८३ महिला, २४२ बालक र ४४४ जना बालिका रहेका छन् ।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका थिए । त्यसअघि एकै आर्थिक वर्ष यति धेरैले आत्महत्या गरेका थिएनन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा देशभर ६ हजार ८३० वटा आत्महत्याका घटना प्रहरीमा दर्ता भएका थिए । त्यसमा पुरुष ३ हजार ८६०, महिला २ हजार २६१, बालक २५३ र बालिका ४५६ जना रहेका थिए । पछिल्ला वर्षहरुको तथ्यांक हेर्दा नेपालमा मासिक औसतमा ५ सयभन्दा बढीले आत्महत्या गर्ने गरेको देखिएको छ ।

चालू आर्थिक वर्षमा सबैभन्दा बढी कोशी प्रदेशमा एक हजार ३६५ जनाले आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशमा एक हजार १५६, मधेश प्रदेशमा ९१४, बागमती प्रदेशमा ८४२, गण्डकी प्रदेशमा ६६२, कर्णाली प्रदेशमा २५१, सुदूर पश्चिम प्रदेशमा ५०५ र काठमाडौं उपत्यकामा ४७२ जनाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ३१२ पुरुष, १४९ महिला, ६ बालक र ५ बालिकाले आत्महत्या गरेको पाइएको छ । सबैभन्दा बढी बालिकाले मधेश प्रदेशमा आत्महत्या गरेका छन् । त्यहाँ मात्र १३९ जना बालिका र ३३८ जना महिलाले आत्महत्या गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । गत आर्थिक वर्षमा पनि त्यहाँ १७६ जना बालिका र ३६५ जना महिलाले आत्महत्या गरेका थिए ।

पछिल्ला ६ आर्थिक वर्षमध्ये २०७४/७५ मा ५ हजार ३५९, २०७५/७६ मा ५ हजार ७८५ र २०७६/७७ मा ६ हजार २५२ जनाले आत्महत्या गरेका थिए ।

१६१ वटा आत्महत्या दुरुत्साहनका मुद्दा

चालू आर्थिक वर्षमा देशभर १६१ वटा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता भएका छन् । प्रहरी कार्यालयमा दर्ता भएका जाहेरीका आधारमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा २८ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै कोशी प्रदेशमा २०, मधेशमा २१, बागमतीमा २३, गण्डकीमा १०, कर्णालीमा ११ र सुदूरपश्चिममा २४ वटा आत्महत्या दुरुत्साहनका मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा २४ वटा यस्ता मुद्दा दर्ता भएको छ ।

आत्महत्याबारे के भन्छन् मनोवैज्ञानिकहरु ?

मनोवैज्ञानिकहरुका अनुसार आत्महत्या हुनुका पछाडि धेरै कारण हुन्छन् । यसको धेरै हदसम्म रोकथाम गर्न सकिने टीपीओ नेपालका चिकित्सा मनोविज्ञ भरत गौतम बताउँछन् ।

विशेषगरी मानिसहरुले देखाउने केही पूर्वसंकेतहरुलाई जसमा आत्महत्याका विचारहरु समावेश हुन्छन् । त्यस्तो अवस्था आएमा साइकोथेरापी, औषधि वा अन्य सेवाहरु लिन सकिने जसले गर्दा आत्महत्या हुनसक्ने जोखिम न्यूनीकरण हुने गौतमको भनाइ छ ।

टीपीओ नेपालले आत्महत्यासँग सम्बन्धित आपतकालीन सेवाहरु निःशुल्क रुपमा प्रदान गर्दछ । आफ्ना वरपरका वा परिवारका कोही सदस्यमा कुनै पनि अनौठो किसिमको व्यवहार देखाएमा वा आत्महत्याबारे कुनै पनि पूर्वसंकेत गरेमा नजिकैको स्वास्थ्य संस्था वा आपतकालीन अवस्थामा निःशुल्क फोन गर्न सकिने १६६६ वा १६६०००१०२००५ मा सम्पर्क गर्न सकिने गौतमले बताए ।

के-के कारणले मानिसले आत्महत्या गर्न तत्पर हुन सक्छ ? भन्ने जिज्ञासामा गौतम भन्छन्, ‘विशेषगरी हरेक आत्महत्याका पछाडि मनोसामाजिक कारणहरु वा मानसिक समस्याहरु जोडिएका हुन्छन् । जसमा सिभियर डिप्रेशन भएको व्यक्तिले आफूलाई अन्त्य गर्न सक्ने जोखिम बढी हुन्छ । त्यस्तै, बोर्डरलाइन पर्सनालिटी डिसअडर र साइकोटिक प्रबलममा पनि आत्महत्याको जोखिम रहेको हुन्छ । सब्सटान्स युजको कतिपय विशेष अवस्थामा पनि यसको खतरा हुनसक्छ भने हाइली एग्रेसिभ व्यक्तित्व भएको मानिसले पनि आत्महत्या गर्न सक्ने जोखिम रहेको हुन्छ ।’

त्यस्तै, दुर्खाइम कजले पनि आत्महत्या हुने उनी बताउँछन् । दुर्खाइम कज भनेको व्यक्ति समाजको कस्तो सामाजिक समूहमा हर्किएको बढेको वा संगतमा रहेको छ भन्ने कुराले पनि उसको मानसिकता निर्धारण हुने गर्छ । जसका कारण आफूलाई हरेक अवस्थामा सहयोगी किसिमको सामाजिक समूह नहुँदा पनि आत्महत्याको जोखिम बढ्न सक्छ । जसलाई एनोमी सुसाइड भनेर दुर्खाइमले भनेका छन् । आफ्नो आर्थिक स्थितिको सुधार नहुँदा वा समाजमा आफ्नो सकारात्मक छाप छोड्न नसक्दा पनि मानिसमा निराशा छाउने र आत्महत्याको जोखिम निम्त्याउने सक्ने हुन्छ ।

यसबाहेक आर्थिक समस्या, सम्बन्धमा आएको खराबी, जीवनका कतिपय घटनामा असफलता, उद्देश्य नहुनु, एक्लोपना आदिले तत्कालीन रुपमा निम्त्याएको परिणामले पनि आत्महत्या हुने गरेका छन् ।

आत्महत्या हुनुपूर्व मानिसको अवस्था र उसले देखाएको व्यवहारबारे केही जानकारी भएमा त्यो जोखिमलाई न्यूनीकरण गर्न सकिने मनोविज्ञ गौतम बताउँछन् ।

जसमा परिवारले आफ्नो सदस्यको अवस्था हेरेर आवश्यक सेवा लिनका लागि सम्बन्धित निकाय (मनोवेत्ता वा अस्पतालमा) लैजान सक्ने उनको भनाइ छ । त्यसैगरी, वरिपरीका साथीहरुले पनि यसमा ध्यान दिएर सुरुवाती चरणमा उसका कुरा सुनिदिएर उसलाई बुझ्न कोसिस गर्दा पनि आत्महत्याको भयानक जोखिमलाई धेरै हदसम्म कम गर्न सकिने गौतमको बुझाइ छ ।

नेपाल प्रेस

१२ असार २०८०, मंगलवार ११:१८ मा प्रकाशित
Nabintech