पोखरा, नेपाली काँग्रेस नियमित महाधिबेशन पक्षधर अर्थात डा. शशांक कोइराला नेतृत्वको १५ औं केन्द्रीय महाधिबेशन तयारी समिति अन्तर्गत गण्डकी प्रदेशको अधिबेशन आगामी मङ्सिर ५ र ६ गते पोखरामा हुने भएको छ। नेपाली काँग्रेसको १४ औं महाधिबेशनबाट निर्बाचित सभापति एबम पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अधिबेशनको उद्घाटन गर्ने कार्यक्रम छ। गण्डकी प्रदेश अधिबेशनको लागि पोखराको न्युरोडस्थित पोखरा सभागृहको हल बुकिंग गरिएको छ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललाई भेटेर महानगरपालिकाको नियमानुसारको प्रक्रिया पुरा गरेर प्रदेश अधिबेशनको लागि सभाहल बुकिंग गरेको बुझिएको छ।

प्रदेश अधिबेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका ३६ वटा प्रदेश निर्बाचन क्षेत्रबाट प्रदेश सभापति सहित प्रदेश प्रतिनिधिहरु, १८ वाट संघिय निर्बाचन क्षेत्रबाट क्षेत्रिय सभापति सहित केन्द्रीय महाधिबेशन प्रतिनिधि ,८५ वटा पालिकाका सभापतिहरु, भातृसंस्था एबम शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्नेहरु एबम प्रदेश संसद र बिभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख समेत गरि करिब १ हजार ६ सय जनाको सहभागिता रहनेछ।
नेपाली काँग्रेसको नियमित १५ औं महाधिबेशन अन्तर्गत गण्डकी प्रदेशका ११ जिल्लामध्ये हालसम्म ४ वटा जिल्लाको अधिबेशन सम्पन्न भैसकेको र प्रदेश अधिबेशन भन्दा अगाडी बाँकी रहेका सबै जिल्लाको अधिबेशन सम्पन्न हुने नेपाली काँग्रेस गण्डकी प्रदेशका उपसभापति एबम गण्डकी प्रदेशका पुर्वमन्त्री मेखलाल श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए।

प्रदेश अधिबेशन सम्पन्न गर्नको लागि आबश्यक तयारी भैरहेको बताउंदै उनले त्यसका लागि बिभिन्न उपसमिति गठन गर्ने गृहकार्य भैरहेको जानकारी दिए । प्रदेश अधिबेशन संम्पन्न गर्न आबश्यक पर्ने रकम प्रदेश प्रतिनिधिहरु, प्रदेश कार्यसमितिको बिभिन्न जिम्मेवारीमा रहन चाहने साथीहरु र पार्टीका कार्यकर्ताहरुबाट स्वतस्फुर्त रुपमा जुटाइने समेत प्रदेश उपसभापति श्रेष्ठले बताए।













