काठमाडौं, नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमार्फत देशभर झन्डै ४४ हजार युवा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन्। नेपालका राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक यति ठुलो संख्यामा युवा नेतृत्व उदाएका हुन्। पार्टीको नयाँ विधान अनुसार ३५ वर्षमुनिका ४३ हजार ९ सय ८६ जना युवाले वडादेखि क्षेत्रीय प्रतिनिधिसम्मको जिम्मेवारी पाएका हुन्।
पार्टीको नयाँ व्यवस्था अनुसार हरेक वडाबाट ३५ वर्षमुनिका १ महिलासहित कम्तीमा ३ जनालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्ने प्रावधान छ। देशभरका ६ हजार ७ सय ४३ वडाबाट कम्तीमा ३ जनाका दरले २० हजार २ सय २९ जना निर्वाचित भएका हुन्। वडामा क्रियाशील सदस्य संख्याका आधारमा ३ देखि ७ जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ। औसतमा ५ जना निर्वाचित भएको मान्दा ३३ हजार ७ सय १५ जना युवा क्षेत्रीय प्रतिनिधि बनेका छन्।
त्यसैगरी गाउँपालिकाको वडामा १ जना र नगरपालिकाको वडामा २ जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था गरिएको छ।अहिले गाउँपालिकातर्फ ३ हजार २ सय १५ वडाबाट ३ हजार २ सय १५ जना र नगरपालिकाका ३ हजार ५ सय २८ वडाबाट २ जनाका दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन्।
यसरी ३३ हजार ७ सय १५ जना क्षेत्रीय प्रतिनिधि र १० हजार २ सय ७१ जना वडा सदस्य गरी कुल ४३ हजार ९ सय ८६ जना युवाले पदीय जिम्मेवारी पाएका हुन्। यी पदहरूमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धा भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले बताए।
अधिवेशनमा झन्डै १ लाख युवाले विभिन्न पदमा प्रतिस्पर्धा गरेको कटुवालले जानकारी दिए। तिनै क्षेत्रीय प्रतिनिधिहरूबाट गाउँ तथा नगरपालिकाको कार्यसमितिमा १ महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन्। अब प्रदेश निर्वाचन क्षेत्रमा १ जना, संघीय निर्वाचन क्षेत्रमा २ जना र जिल्ला कार्यसमितिमा १ महिलासहित ३ जना निर्वाचित हुने क्रममा छन्।
यस्तै क्षेत्रीय प्रतिनिधिहरूबाटै हरेक निर्वाचन क्षेत्रबाट १ महिलासहित ३ जनाका दरले देशभरबाट ४ सय ९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। यसैगरी १/१ जनाका दरले १ सय ६५ जना महासमिति सदस्य चयन हुन लागेको निर्वाचन समितिले जनाएको छ।
विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट १ महिलासहित २ जना प्रदेश प्रतिनिधि र सातै प्रदेशमा २ महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्। केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट १ युवा र १ युवती गरी कुल १४ जना युवा प्रवेश गर्ने ब्यबस्था गरिएको छ।





















