पोखरा, पोखराबाट दुबईको उडानलाई नियमित र प्रभावकारी बनाउने सम्बन्धमा पोखराका पर्यटन ब्यबसायीहरु र यूएईका राजदूतसँग बिशेष भेताघट र छलफल भएको छ। छलफलका क्रममा दुबई जाने कामदारका लागि लागू गरिएको पिसिसी प्रक्रियालाई तत्काल हटाउन सम्भव नभए पनि पर्यटक भिसामा दुबई जाने नेपाली यात्रुका लागि पिसिसी अनिवार्य गर्ने प्रक्रिया तत्काल हटाउन राजदूतसमक्ष आग्रह गरिएको बुझिएको छ। यस विषयमा राजदूतबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको एक सहभागीले गुरुकुल खबरलाई बताए ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य बासुदेव त्रिपाठी, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, होटल संघ गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, नाटा गण्डकी प्रदेशका कार्यकारी सदस्य विजय पौडेल सहितको टोलीले नाटाका केन्द्रीय अध्यक्ष भरतजंग पाण्डे लगायत पर्यटन व्यवसायीहरूको उपस्थितिमा यूएईका राजदूतसँग पोखरा–दुबई उडानलाई नियमित र दिर्घकालिन बनाउने सम्बन्धमा छलफल गरेको हो।

पोखरा- दुबईको उडानले समग्र नेपाल, गण्डकी प्रदेश र पोखराको पर्यटन विकासका लागि ऐतिहासिक र महत्वपूर्ण उपलब्धि हुने भएकोले यसलाई सफल र चिरस्थायी बनाउन सबै पक्षबाट आवश्यक पहल र सहकार्य गर्ने विषयमा पनि छलफल भएको पोखरा पर्यटन परिषदका पुर्व अध्यक्ष श्रेष्ठले गुरुकुल खबरलाई जानकारी दिए। पोखरा–दुबई उडानलाई सफल बनाउन यस अगाडी पनि पर्यटन व्यवसायी, गण्डकी प्रदेश सरकार, स्थानीय सरकारलगायत सबै सम्बन्धित पक्षले आ–आफ्नो क्षेत्रबाट पूर्ण सहयोग र प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।















