Play

नियमित र बिशेष महाधिबेशनको नामको बिबाद अहिले समानान्तर राजनीतिक गतिविधिमा केन्द्रित

गुरुकुल खबर


काठमाडौँ, नेपाली कांग्रेसभित्र नियमित महाधिबेशनको नेतृत्व र बिशेष महाधिबेशनको नाममा उत्पन्न नेतृत्व सम्बन्धि बिबाद अब समानान्तर राजनीतिक गतिविधिमा केन्द्रित हुन थालेको छ । शुक्रबार एकै दिन कांग्रेसका दुई समूहले काठमाडौँका दुई फरक स्थानबाट राजनीतिक शक्ति प्रदर्शन गर्दै आफूहरू नै पार्टीको वैधानिक र वास्तविक प्रतिनिधि भएको दाबी गरेका छन् । दुवै समुहले कांग्रेसका संस्थापक बिपी कोइरालाको नीति बिचार र बिरासत आँफुहरुसंग रहेको दाबी समेत गरिरहेका छन

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति गगनकुमार थापाको अध्यक्षतामा केहि दिन देखि जारी केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई विधि र विधानअनुसार अघि बढाउँदै नियमित महाधिवेशन गर्ने र संगठन सुदृढीकरणलाई प्राथमिकता दिने सन्देश दिएकोमा  चुनदेवीमा कार्यालय राखेर सुकेधाराको मिराकल पार्टी भेन्युमा भेला भएको शेरबहादुर देउवा–शेखर कोइराला पक्षको नेपाली कांग्रेसले पनि कांग्रेस बचाउ अभियान’मार्फत विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वकै वैधानिकतामाथि प्रश्न उठायो । कांग्रेसको संस्थागत निरन्तरता, बीपी कोइरालाको विचार र पुरानो नेतृत्वको विरासत आफ्नोे पक्षमा रहेको उक्त समुहाले दाबी गर्दिया आएको छ ।

यसरी कांग्रेसभित्रको विवाद अब को सभापति भन्ने प्रश्नमा मात्र सीमित रहेन । पार्टीको आधिकारिकता कससँग छ, महाधिवेशन गर्ने अधिकार कसलाई छ र कांग्रेसलाई कुन राजनीतिक बाटोबाट अघि बढाउने भन्ने दुई धारको संघर्षमा परिणत भएको छ । सानेपामा गगन थापा पक्षले परिवर्तन र नयाँ नेतृत्वलाई कांग्रेसको भविष्यसँग जोडेको छ । सुकेधारामा देउवा–कोइराला पक्षले त्यसलाई पार्टीमाथिको ‘कब्जा’ भन्दै संस्थागत निरन्तरता र पुरानो कांग्रेसको विरासतको प्रश्नलाई जोडतोडले उठाएको छ ।

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसलाई विधि, विधान र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढाउने प्रतिबद्धता पुन सार्बजनिक गरेको छ । सभापति गगन थापाले कांग्रेस कुनै व्यक्ति वा गुटको पेवा नभएको बताए । ‘नेपाली कांग्रेस कुनै व्यक्ति वा गुटको पेवा होइन । हामीले विधि, विधान र लोकतान्त्रिक मूल्यमान्यतालाई शिरोधार्य गरेर अघि बढ्नुपर्छ,’ थापाले भने, ‘सानेपामा बसिरहेको यो बैठक पार्टीलाई नयाँ युगअनुकूल रूपान्तरण गर्ने र समयमै नियमित महाधिवेशन सम्पन्न गरेर जनताको विश्वास जित्ने संकल्पको जग हो ।’

उनले पार्टीभित्रका असन्तुष्टि छलफलबाट समाधान गर्न सकिने भन्दै समानान्तर गतिविधिले पार्टीलाई कमजोर बनाउने बताए । थापा नेतृत्वले आगामी नियमित महाधिवेशनलाई आफ्नो राजनीतिक वैधताको अर्को आधारका रूपमा अघि सारेको छ । पार्टी विधान र कानुनी प्रक्रियाअनुसार महाधिवेशन सम्पन्न गरी संगठनमा नयाँ ऊर्जा भर्ने उसको रणनीति छ । उपसभापति विश्वप्रकाश शर्मालगायत नेताहरूले पनि विगतका कमजोरीबाट पाठ सिक्दै पार्टीलाई आम कार्यकर्ता र नागरिकको भावनाअनुसार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।

सानेपामा बैठक जारी रहेकै अबस्थामा सुकेधारामा देउवा–कोइराला पक्षले त्यसको राजनीतिक प्रतिवाद गरेको छ । पूर्वसभापति शेरबहादुर देउवा, वरिष्ठ नेताहरु डा. शशांक कोइराला, नेता शेखर कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, विमलेन्द्र निधिलगायत नेताहरू सहभागी राष्ट्रिय भेलाले गगन थापा नेतृत्वमाथि थुप्रै प्रश्न उठाएको छ । भेलामा सहभागी नेताले विशेष महाधिवेशनबाट बनेको थापा नेतृत्वले कांग्रेसको संस्थागत निरन्तरता तोडेको आरोप लगाएका छन् ।

पूर्वउपसभापति पूर्णबहादुर खड्काले देउवाको नेतृत्वमै कांग्रेसमा सम्पूर्ण एकता सम्भव हुने बताए । ‘देउवाको नेतृत्वमा खतरालाई टार्दै संविधान र देशलाई जोगाउँदै जानुपर्छ,’ खड्काले भने । उनले आफूहरूले नियमित महाधिवेशन गर्न खोजे पनि थापा सहित कहिले जबर्जस्ती विशेष महाधिवेशनमा पार्टीलाई पुर्याएर बिखन्डन तर्फ धकेलेको दाबी गरे ।

नेता शेखर कोइरालाले पनि सर्वोच्च अदालतको अन्तिम निर्णयपछि कांग्रेस एकढिक्का हुने बताए । पार्टीमा निरंकुशता स्वीकार्य नहुने उनको भनाइ थियो । ‘ पार्टीको सम्बन्धमा सर्वोच्च अदालतको निर्णय हामीले स्वीकारेका छौं । तर स्वीकार्दा स्वीकार्दै पनि हामीले पुनरावलोकन पनि गर्यौं । हामीले अहिले निस्सा पाएका छौँ,’ कोइरालाले भने, ‘न्यायपालिका स्वतन्त्र मात्रै होइन, निष्पक्ष हुनुपर्छ ।’

सुकेधारा भेलामा सबैभन्दा स्पष्ट रूपमा उठाइएको प्रश्न आगामी महाधिवेशनसँग जोडिएको छ । नेता विमलेन्द्र निधिले १४औँ महाधिवेशनबाट आएको कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने दाबी गरे । ‘विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमितिलाई महाधिवेशन गर्ने अधिकार कसले दियो ?’ निधिले प्रश्न गरे । उनले पार्टीका आधिकारिक सभापति अझै देउवा नै भएको दाबी गरे ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्वाचन आयोगबाट थापा नेतृत्वलाई दिइएको आधिकारिकतामाथि समेत प्रश्न उठाए । उनले निर्वाचन आयोगका आयुक्तको भूमिकामाथि प्रश्न उठाउँदै थापा नेतृत्वको कार्यसमितिलाई ‘लहडमा’ आधिकारिकता दिइएको आरोप लगाए। ‘व्यक्तिगत दुश्मनी केही छैन तर गगन भाइलाई सभापति भन्नै मन लाग्दैन,’ सिटौलाले भने । उनले थापालाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर कांग्रेसलाई एकढिक्का बनाउँदै एउटै बाटोमा हिँड्न आह्वान गरे ।

यसबाट देउवा–कोइराला पक्षको रणनीति केवल थापा नेतृत्वको आलोचनामा सीमित नरही निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको प्रक्रियालाई स्वीकार गर्न सक्ने अबस्थामा देखिएको छैन । नेता प्रकाशशरण महतले सानेपामा कांग्रेसको झण्डा र पार्टी कार्यालय भए पनि कांग्रेसको वास्तविक राजनीतिक आत्मा सुकेधारा भेलामा रहेको दाबी गरे ।

‘अहिले सानेपामा शरीर मात्रै छ, आत्मा यो राष्ट्रिय भेलामा छ,’ महतले भने । उनले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टी एकता नचाहेको आरोप समेत डा. महतले लगाए । ‘विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीमा एकता चाहेकै छैन,’ उनले भने, ‘उनीहरू यो राष्ट्रिय भेलामा आएका नेता–कार्यकर्तालाई चाहेका छैनन्, त्यसैले पटक–पटक भएका वार्ता र संवादमा कुरा मिल्न सकेन ।’

कांग्रेसभित्रको पछिल्लो शक्ति संघर्षलाई जेनजी आन्दोलनको घटनाक्रमले थप गहिरो बनाएको हो । आन्दोलनका क्रममा तत्कालीन सभापति शेरबहादुर देउवामाथि उनको निवासमै आक्रमण भएपछि कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको बहस चर्कियो । त्यसपछि विशेष महाधिवेशन हुँदै थापा नेतृत्वको नयाँ कार्यसमिति बनेको थियो ।

विशेष महाधिवेशन, निर्वाचन आयोगको आधिकारिकता र त्यसपछि सर्वोच्च अदालत पुगेको विवादले कांग्रेसलाई दुई राजनीतिक धारमा विभाजित गरेको छ । अदालतबाट पुनरावलोकनको निस्सा पाएपछि र उपचारपछि देउवा स्वदेश फर्किएसँगै देउवा पक्ष थप सक्रिय भएको छ । त्यसको परिणाम शुक्रबार सानेपामा नयाँ नेतृत्वको संस्थागत अभ्यास र सुकेधारामा पुरानो नेतृत्वको राजनीतिक शक्ति प्रदर्शनले देखाएको छ ।

३० श्रावण २०८३, शनिबार ११:५४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा