Play

विश्व आदिवासी जनजाति दिवस : आदिबासीको परम्परागत ज्ञानलाई प्रबिधि र दिगो बिकासमा जोड्नु आबश्यक

गुरुकुल खबर


  • राजबहादुर गुरुङ 

आज अगस्ट ९, अर्थात् ३२ औँ विश्व आदिवासी जनजाति दिवस। संसारभरका आदिवासीहरूको अधिकार, पहिचान, संस्कृति र अस्तित्वलाई सम्मान गर्दै मनाइने यो दिन नेपालजस्तो बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक मुलुकका लागि झनै विशेष र अर्थपूर्ण छ। जल, जमिन, जङ्गल र मौलिक ज्ञान-परम्परासँग आदिवासी समुदायको सम्बन्ध केवल जीविकोपार्जनमा मात्र सीमित छैन; यो उनीहरूको धर्म, संस्कृति, जीवनशैली र इतिहासको अभिन्न अङ्ग हो।

नेपालमा आदिवासी जनजातिहरूको इतिहास यो माटोसँगै गाँसिएको विशाल र समृद्ध इतिहास हो। परापूर्वकालदेखि नै प्रकृतिलाई देउताका रूपमा पुज्ने, जङ्गलको संरक्षण गर्ने, जलस्रोतको सन्तुलित प्रयोग गर्ने र वातावरणमैत्री जीवनशैली जिउने अभ्यास आदिवासीहरूले गर्दै आएका छन्। तर, आधुनिक विकासको दौडमा प्रायः यस्ता परम्परागत ज्ञान र प्राकृतिक स्रोतमाथिको मौलिक अधिकार ओझेलमा पर्दै गएका छन्।

आदिवासी अधिकारसम्बन्धी अन्तराष्ट्रिय श्रम सङ्गठनको महासन्धि (आइएलओ- १६९) ले आदिवासीहरूको परम्परागत भूभाग, प्राकृतिक स्रोत (जल, जमिन र जङ्गल) माथिको अधिकार तथा उनीहरूलाई असर पार्ने निर्णय प्रक्रियामा पूर्व-सूचित सहमतिको ग्यारेन्टी गरेको छ। राज्यले यस महासन्धिको मर्मलाई आत्मसात् गर्दै तत्तत् क्षेत्रका आदिवासी जनजातिहरूलाई नीति निर्माण र विकासका हरेक चरणमा सहभागि गराउनु अपरिहार्य छ।

आदिवासीहरूलाई पाखा लगाएर गरिने विकास दिगो हुन सक्दैन, बरु उनीहरूलाई साझेदार बनाएर अघि बढ्दा प्राकृतिक स्रोतको संरक्षण हुनुका साथै समग्र देश विकासमा ठूलो योगदान पुग्छ। नेपालका आदिवासीहरूको एउटा विशिष्ट र लोभलाग्दो पाटो भनेको उनीहरूको आत्मनिर्भरता र सामुदायिक भ्रातृत्व हो।

देशका धेरैजसो आदिवासी बाहुल्य क्षेत्रहरूमा राज्यको सरसफाइ, पूर्वाधार वा विकास बजेट न्यून वा शून्यप्रायः हुँदा पनि उनीहरू पछि हटेका छैनन्। स्वतःस्फूर्त रूपमा रकम संकलन गर्ने, आफैं श्रमदान गर्ने, गुठी, आमा समूह, युवा क्लब वा समाजमार्फत सङ्गठित भएर आधारभूत आवश्यकताहरू पूरा गर्ने र गाउँ-ठाउँको सरसफाइ तथा विकासका कदमहरू चाल्ने परिपाटी आदिवासी समुदायमा कायमै छ। यो आत्मबल र सामाजिक सञ्जाल राज्यका लागि ठूलो सम्पत्ति हो।

विशेष गरी गण्डकी प्रदेशको सेरोफेरोलाई हेर्ने हो भने, यो क्षेत्र गुरुङ, मगर, थकाली, दुरा, तामाङ, बोटे, माझी, भुजेल लगायतका विभिन्न आदिवासी जनजातिहरूको मुख्य थलो हो। अन्नपूर्ण, धवलागिरि र मनास्लु हिमशृङ्खलाको काखमा रहेको गण्डकी प्रदेशको पर्यटन, जैविक विविधता र मौलिक संस्कृतिलाई जीवन्त राख्न यहाँका आदिवासी समुदायको अहम् भूमिका छ। रोधीं संस्कृति, घाटु, सोरठी, कौरा, सालैजो जस्ता लोकसांस्कृतिक धरोहरहरूले नै गण्डकीलाई विश्वमा परिचित गराएका छन्। तथापि, गण्डकी प्रदेशका कतिपय दुर्गम क्षेत्रमा स्रोत-साधनको पहुँच नपुग्नु, युवा पलायन हुनु र विकासका नाममा प्राकृतिक वातावरण र सांस्कृतिक सम्पदामाथि अतिक्रमण हुनु यहाँका आदिवासीहरूको मुख्य चुनौती बनेको छ।

आजको आवश्यकता द्वन्द्व वा अतिवाद होइन, बरु मध्यमार्गी र सकारात्मक दृष्टिकोण हो। एकातिर आदिवासीहरूले आफ्ना संवैधानिक तथा अन्तर्राष्ट्रिय अधिकारका लागि रचनात्मक आवाज उठाउनुपर्छ भने अर्कोतिर राज्यपक्षले पनि आदिवासी जनजातिहरूलाई विकासको विरोधी नभई प्रकृति र संस्कृतिका मुख्य संरक्षकका रूपमा स्वीकार गर्नुपर्छ। आदिवासीहरूको परम्परागत ज्ञानलाई आधुनिक प्रविधि र दिगो विकाससँग जोड्न सकियो भने मात्र समृद्ध र न्यायपूर्ण नेपालको सपना साकार हुनेछ।

३२औँ विश्व आदिवासी जनजाति दिवसले राज्य र आदिवासी समुदायबीच विश्वास, सहकार्य र समानताको नयाँ आधार निर्माण गरोस्। सम्पूर्णमा हार्दिक शुभकामना।

  • पोखरा, कास्की

२४ श्रावण २०८३, आईतवार २०:४६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा