काठमाडौँ, नेपाल ट्रेड युनियन कांग्रेसले १ सय ३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित राष्ट्रिय परिषद् कार्यक्रममा सहभागीहरुलाई लक्षित गर्दै स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ट्रेड युनियन कांग्रेसको राष्ट्रिय युवा समितिको संयोजनमा स्वास्थ्य शिबिर गरिएको थियो श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा समग्र ट्रेड युनियन आन्दोलनलाई सुदृढ बनाउने उद्देश्यले आयोजित राष्ट्रिय परिषदमा देशभरबाट आएका श्रमिक प्रतिनिधि, ट्रेड युनियनकर्मी तथा विभिन्न क्षेत्रका सहभागीहरूले स्वास्थ्य शिबिरबाट लाभ लिएका थिए।
उक्त स्वास्थ्य शिविरमार्फत दुईसय भन्दा बढी श्रमिक तथा सहभागीहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेको र शिविरमा नसर्ने रोग सम्बन्धी स्क्रिनिङ, मधुमेह परीक्षण, रक्तचाप जाँच, बडी मास इन्डेक्स मापनका साथै आवश्यक औषधि समेत वितरण गरिएको आयोजक नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारले गुरुकुल खबरलाई जानकारी दिए।

विशेषगरी श्रमिकहरूमा नसर्ने रोगको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य शिविरले समयमै रोग पहिचान, रोकथाम तथा स्वास्थ्य सचेतना अभिवृद्धिमा जोड दिईएको थियो । साथै, श्रमिकहरूको स्वास्थ्यलाई श्रम अधिकारको अभिन्न अंगका रूपमा स्थापित गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो। “स्वस्थ श्रमिक, समृद्ध राष्ट्र” भन्ने अवधारणालाई आत्मसात गर्दै यस्ता कार्यक्रमहरूले श्रमिकहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने धारणा ट्रेड युनियनकर्मीको छ।
राष्ट्रिय परिषद्को उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले श्रमिक अधिकार, सामाजिक सुरक्षा तथा श्रमिक हितका विषयमा सरकार र सरोकारवालाहरूले अझ जिम्मेवार ढंगले काम गर्नुपर्ने कुरामा जोड दिएका थिए। राष्ट्रिय परिषद कार्यक्रमको अध्यक्षता नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुवँरले गरेका थिए।














