पोखरा, देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित आज शनिबार पनि वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हावाहुरी र असिना सहित बर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना छ । शनिबार रातिदेखि भने बिस्तारै मौसम खुल्दै जाने महाशाखाले अनुमान गरेको छ ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी पर्ने र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि मध्यम वर्षा हुने अनुमान छ । यी ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा तथा हिमपात हुने महाशाखाले जनाएको छ ।
पश्चिम नेपालबाट सुरु भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको थियो । राति पूर्वका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । हिजो दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा पनि मध्यम वर्षा भएको थियो । दाङ, बुटवल र चितवन लगायतका ठाउँमा भने हिजो ठूलो हुरीबतास चलेको थियो ।
यसैबीच, हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम-पातिहाल्ना खण्ड अवरुद्ध भएको हो। लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ।

अहिले उक्त खण्डमा काठमाडौंबाट छुटेका रात्रिबसहरू फसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार लुकुम-पातिहाल्ना क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल फसेका छन् भने २५० जनाभन्दा बढी यात्रुहरू अलपत्र परेका छन्। अहिले पनि निरन्तर वर्षा र हिमपात भइरहेका कारण सडक सञ्चालनमा चुनौती देखिएको छ भने टेलीफोन सेवा पनि अवरुद्ध हुँदा थप समस्या भएको छ।
यसैगरी सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरोका कारण सडक दुवै तर्फबाट बन्द भएपछि आवागमन प्रभावित भएको हो । पानी पर्न छाडेपछि सडकमा खसेको ढुङ्गा हटाइने जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई पानी पूर्ण रूपमा रोकिएपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ । अहिले बुटवलबाट पाल्पा जाने र आउने सवारी रोकिएका छन्। प्रहरीले यात्रु र सवारी चालकलाई वैकल्पिक मार्गको प्रयोग गर्न वा सुरक्षित समय कुर्न आग्रह गरेको छ ।















