पोखरा, पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रबर्द्दनसंग सम्बन्धित बिभिन्न गतिबिधि हुने क्रममा होटल ब्यबसायीहरुको छाता संस्था होटल संघ पोखराले २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव आयोजना गर्नको लागि आबश्यक तयारी शुरु गरेको छ । संघको कार्यसमितिको हालै सम्पन्न बैठकले यहि चैत्र २९ देखि वैशाख १ गतेसम्म पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडको सडकमा फेवा नवबर्ष महोत्सव संचालन गर्ने निर्णय गरेको हो ।
बिगतमा पोखराको लेकसाइडमा होटल ब्यबसायीहरु सम्बद्ध दुईवटा संस्थाहरु पश्चिमान्चल होटल संघ र पोखरा होटल ब्यबसायी समिति क्रियाशील रहेका थिए। पश्चिमान्चल होटल संघलाई ठुला होटलका ब्यबसायी संलग्न संस्था र पोखरा होटल ब्यबसायी समितिलाई साना होटल ब्यबसायीहरुको संस्थाको रुपमा लिने गरिएको थियो।
तत्कालिन अबस्थामा पोखरा होटल ब्यबसायी समितिले आंफ्नो मुख्य कार्यक्रमको रुपमा नेपाली नयाँ बर्षको सन्दर्भ पारेर फेवा नव बर्ष महोत्सब आयोजना गर्दै आएको थियो। पछिल्लो समय दुवै संस्थाका होटल ब्यबसायीहरुले साझा संस्थाको रुपमा पोखरा होटल संघलाई अगाडी बढाएपछि पोखरा होटल संघले नै फेवा नव बर्ष महोत्सबलाई निरन्तरता दिन लागेको हो ।
पोखरा होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिँदै हरेक वर्ष झैं यस बर्ष पनि महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवको तयारीका लागि विभिन्न उपसमितिहरू समेत गठन गरिएको संघका अध्यक्ष एबम महोत्सब मूल आयोजक समितिका संयोजक सुवेदीले बताए । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठ र द्वितीय उपाध्यक्ष गणेशराज पहारीलाई महोत्सवको सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाली नयाँ वर्ष उल्लासमय बनाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गरी आफ्नो मौलिक संस्कृति रक्षा गर्ने उद्देश्यले सांस्कृतिक झाँकीसहित महोत्सवको आरम्भ हुने भएको छ । महोत्सवका अवसरमा पोखरा आउने पाहुनाका लागि संघ अन्तर्गतका होटलमा बिशेष छुट समेत दिने गरिन्छ । अन्य पर्यटन प्रतिष्ठान र व्यवसायीले पनि सक्दो छुट तथा सहुलियत प्रदान गर्दै आएकोले यस पटक पनि यस किसिमको छुट प्रदान गर्ने बिश्वास गरिएको छ ।
नेपाली संस्कृति जगेर्ना गर्दै पोखराको पर्यटन प्रबर्द्दन गर्ने र पर्यटक बसाइ अवधि लम्ब्याइ आर्थिक चलायमान बढाउने महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । अंग्रेजी नयाँवर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि भव्यताका साथ मनाउँदै फेवातालको संरक्षणमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ महोत्सब आयोजना गरिएको संघले जनाएको छ ।
जेन–जी आन्दोलन र त्यसपछि सम्पन्न आम चुनावसँगै अबका दिनमा आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न महोत्सवले सघाउने विश्वास संघले लिएको छ । महोत्सवको उद्घाटन अघि बिभिन्न सांस्कृतिक सहित अन्य झाँकीहरूको प्रदर्शनी गरिने छ । महोत्सवको प्रचारका लागि यही चैत ९ गतेदेखि १३ गतेसम्म संघले पूर्वी नेपालका विभिन्न शहरमा ‘जाउँ है पोखरा’ कार्यक्रम आयोजना गरी महोत्सवमा सहभागिताका लागि निमन्त्रणा प्रदान गर्ने छ ।
प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खाना प्रदर्शन, सांस्कृतिक कार्यक्रम प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, पर्यटक दौड प्रतियोगिता, ब्याडमिन्टन कप, स्थानीय एवं प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामान प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम लगायत महोत्सवका आकर्षण रहने गरेकोमा यस पटक पनि त्यस्ता कार्यक्रमलाई निरन्तरता दिन आबश्यक तयारी भैरहेको बुझिएको छ ।
सम्बन्धित समाचार ..
पोखरामा फेवा महोत्सबको तयारीमा तिब्रता, होटलले बिस प्रतिशत र अन्य प्रतिष्ठानले पनि छुट दिने















