पोखरा, पोखराको मुख्य ब्यबसायिक क्षेत्र चिप्लेढुंगामा संचालनमा रहेको पोखरा ट्रेड मलको हालै सम्पन्न अधिबेशनले दिपक कुमार मुल्मी अध्यक्ष रहेको नयाँ सञ्चालक समिति गठन भएको छ। नयाँ समितिको प्रबन्ध निर्देशकमा सौगात थापा तथा सदस्यहरूमा सन्तोष कुमार घिमिरे, शिव शर्मा, राम कुमार श्रेष्ठ, नगेन्द्र प्रसाद पोखरेल र हरिश चन्द्र तिवारी चयन भएका भएको बताइएको छ।
नवगठित समितिले संस्थाको समग्र व्यवस्थापन, सेवा विस्तार तथा ग्राहकमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाउने प्रतिबद्धता जनाएको सदस्य सन्तोष घिमिरेले गुरुकुल खबरलाई जानकारी दिए।
नवनियुक्त अध्यक्ष मुल्मीले पोखरा ट्रेड मललाई अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। ‘व्यापार व्यवसायको बदलिँदो प्रवृत्तिलाई ध्यानमा राख्दै मलभित्रका सेवा तथा सुविधालाई थप स्तरोन्नति र ग्राहकको सन्तुष्टि र व्यवसायीको सहजता लाई नै हामीले मुख्य लक्ष ठानेका छौं।’ उनले भने
प्रबन्ध निर्देशक थापाले मललाई पोखराको उत्कृष्ट व्यापारिक गन्तव्यको रूपमा विकास गर्न डिजिटल प्रविधिको प्रयोग, प्रभावकारी व्यवस्थापन प्रणाली र आकर्षक व्यापारिक वातावरण निर्माणमा जोड दिने उल्लेख गरे।
नवगठित समितिले व्यापार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम, छुट योजना तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने तयारी गरेको छ। साथै, मलभित्रको पूर्वाधार सुधार, पार्किङ व्यवस्थापन र सुरक्षालाई अझ सुदृढ बनाउने योजना समेत अघि सारिएको छ।















