पोखरा, एसोसियसन अफ एलायन्स क्लव इन्टरनेसनल डिस्ट्रिक्ट १०५५ नेपालको शुक्रबार पोखरामा सम्पन्न संस्थाको उद्घाटन एबम नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रमले पोखराको लामाचौरका थिर बहादुर थापालाई गभर्नरमा चयन गरेको छ ।
उक्त कार्यक्रमबाट संस्थाको प्रथम भाइस गभर्नरमा तनहुँ दुलेगौंडका डा. लक्ष्मण तिम्सिना, सेकेन्ड भाइस गभर्नरमा भक्तपुरकी प्रमिला ढुङ्गाना, क्याविनेट सेक्रेटरीमा ताराप्रसाद पोखरेल, क्याविनेट कोषाध्यक्षमा घनश्याम ढुङ्गाना र जन सम्पर्क अधिकृतमा भक्तपुरका रामेश्वर पौडेललाई चयन गरिएको हो ।
एलायन्स क्लव इन्टरनेसनलका प्रेसिडेन्ट राजकुमार सक्सेनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुस्ताङ, बागलुङ, काठमाडौँ, ललितपुर, भक्तपुर, तनहुँ, चितवन र कास्कीमा रहेका ४३ भन्दा बढि क्लवका ५ सय भन्दा बढि पदाधिकारीलाई पदस्थापन गराइएको थियो । कार्यक्रममा बोल्दै एलायन्सका इन्टरनेसनल प्रेसिडेन्ट सक्सेनाले एलायन्स क्लव सामाजिक र मानवसेवामा समर्पित संस्था भएकाले यसको सदस्य हुनुमा गौरव लागेको बताए ।
त्यस अबसरमा एलायन्स इन्टरनेसनलका फाउन्डर प्रेसिडेन्ट एली थिरुपति बुद्धराजुले एलायन्सका सदस्यले अनुशासनको पालना गर्नुपर्ने जानकारी दिंदै सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्ने एलायन्सको मुख्य लक्ष्य रहेको बताए ।
नवनिर्वाचित डिस्ट्रिक्ट गर्भनर थिरबहादुर थापाले सामाजिक सेवाका हातहरु फैलाउँदै सेवा गर्दै जाँदा आफुलाई आत्मसन्तुष्टी मिल्ने, नेतृत्व बिकास हुने, भारत लगाएत २२ देशका बजारमा व्यवसायिक साझेदारी गर्न सकिने, अध्ययन गर्न वा औषधी उपचारका लागि भारत जाँदा एलाएन्सको संञ्जालले सहजीकरण गर्ने र न्युन शुल्कमा अन्तर्राष्ट्रिय सदस्यता प्राप्त गर्न सकिने जस्ता कुराहरुको जानकारी गराएका थिए ।
एलायन्स इन्टरनेसनल डिस्ट्रिक्ट १०५ का गभर्नर एली उषारानी अतलुरीको अध्यक्षतामा भएको कार्यक्रममा इन्टरनेसनल भाइस प्रेसिडेन्ट एली के राजेश्वर रावले एलायन्स क्लवका पदाधिकारीलाई सपथ तथा पदस्थापन गराएको कार्यक्रममा एलायन्स नेपालका पूर्व मल्टिपल चेयरपर्सन एली नन्दराज पोखरेल, लायन्स क्लव इन्टरनेसनल ३२५ एल नेपालका प्रथम भाइस डिष्ट्रिक गभर्नर तेजनारायण पराजुली, एलाएन्स क्लब १०५५ का प्रथम भाइस गभर्नर डा. लक्ष्मण तिम्सिनाले आआफ्नो भनाई राखेका थिए ।
नव निर्वाचित सचिव एली ताराप्रसाद पोखरेल र एली शंकरबहादुर क्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा क्रिस्टल स्कुल लेकसाइड र पोखरा मन्टेश्वरी स्कुल लामाचौरका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । हाल एलायन्स क्लव इन्टरनेसनलको केन्द्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको र संस्थाले नेपाल लगाएत २२ राष्ट्रमा संजाल बिस्तार गरेको जनाएको छ ।
















