पोखरा, अंग्रेजी नयाँ वर्षको अबसरमा पोखराको लेकसाइडमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले बर्षेनी गर्दै आएको पोखरा सडक महोत्सब यस बर्ष पनि बिशेष रुपमा गरिने भएको छ। डिसेम्बर २८ आइतबार देखि जनवरी १ बिहिबारसम्म हुने महोत्सबको सम्पूर्ण तयारी पुरा भएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक रेबानले जानकारी दिएको छ।
फेवाताल किनारको साढे तिन किलोमिटर सडकमा हुने महोत्सबका अबधिमा पोखरा भित्र र पोखरा बाहिरका बिदेशी पर्यटकहरु समेतले बिभिन्न खानका परिकार र संस्कृतिक कार्यक्रमबाट भरपुर मनोरंजन लिन पाउने छन। महोत्सब स्थललाई सिंगारेर झिलिमिली पारिएको छ।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवलाई बिगतको भन्दा यस बर्ष केहि फरक बनाइने रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार जेन–जी आन्दोलन र आर्थिक मन्दीले सुस्ताएको पर्यटन क्षेत्रलाई उठाउन यो महोत्सवले एउटा नयाँ ऊर्जा दिनेछ । ‘पोखरा सुरक्षित र खुला छ’ भन्ने सन्देश विश्वभर पुर्याउनु पनि महोत्सवको मुख्य लक्ष्य रहेको उनले बताए ।

तिन दशकपछि ‘एक्स–नेपथ्य’ का पुराना सारथिहरू रविन श्रेष्ठ र गौतम गुरुङ एउटै सडक महोत्सबको एकै मञ्चमा गुञ्जिनेछन् । कोमागाने पार्कमा हुने ‘हिट्स अफ नाइन्टिज’ कार्यक्रममा उनीहरूसँगै डी–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाइभ ब्यान्डमार्फत दर्शकलाई नचाउनेछन् । यस्तै काठमाडौंबाट विशेष प्रस्तुतिका लागि आस्मा विश्वकर्मा, स्वप्न सुमन, केहर एन्ड द लुंगा र चक्र ब्यान्ड आउने आयोजकले बताएका छन् ।
महोत्सवका संयोजक वसन्त गौतमका अनुसार सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारको स्वाद लिन पाइनेछ । सांस्कृतिक झाँकी, मौलिक भेषभूषा, र ‘रोधी’ को मौलिक प्रस्तुतिले महोत्सवलाई थप रमाइलो बनाउनेछ । खेलकुद प्रेमीका लागि ‘बोट रेस’, ‘वेटर रेस’ र ‘टग अफ वार’ जस्ता प्रतियोगिता पनि राखिएका छन् । पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता र स्कुल ब्यान्डहरूको भिडन्त समेत हुने गौतमले जानकारी दिए ।
यसैबीच महोत्सब औपचारिक रुपमा शुरु नहुँदै पोखराको लेकसाइड क्षेत्रमा स्वदेशी र बिदेशी पर्यटकहरुको चाप बढेको रेबान पोखराका महासचिब बिरेन्द्र शेरचनले गुरुकुल खबरलाई बताए। बिहिबार र शनिबार बिदा परेको र आइतबार महोत्सब शुरु हुने भएकोले कतिपय आन्तरिक पर्यटक पोखरा घुम्न आइसकेको छन महोत्सबको बेला पोखरा आउने पर्यटकहरु केहि दिन पोखराको मनोरंजन र महोत्सबको रौनकमा भुल्ने गरेको छन ।

कतिपय पर्यटकहरुले महोत्सब अबधिमा होटल ब्यबसायीहरुले कोठाको शुल्क धेरै लिने गरेको र कतिपय रेस्टुरेन्टहरुले खानाका परिकारको मूल्य अरुबेला भन्दा महँगो गर्ने गरेको भन्दै यस तर्फ आयोजकको ध्यान जानुपर्ने समेत बताउने गरेका छन।
महोत्सवमा मनोरञ्जन मात्र होइन, सचेतनामूलक सडक नाटक र पोखराको पर्यटनबारे ‘टक शो’ पनि चल्नेछ । पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ सँग हात मिलाउँदै आयोजना गरिएको यो महोत्सवले लाखौं पर्यटक भित्र्याउने र आर्थिक मन्दीलाई बिर्साउने अपेक्षा गरिएको छ । नयाँ वर्षको यो साता लेकसाइडको सडकमा रमाउन आयोजकले सबैलाई खुल्ला निम्तो दिएका छन् ।















