पोखरा, लेखनाथ उधोग बाणिज्य संघद्वारा आयोजित एक्काइसौं संस्करणको लेखनाथ महोत्सवको पाचौं दिन सोमवार स्थानीय कृषि उत्पादन र कृषिको सम्भावना बिषयमा बहस गरिएको छ । कृषि बहस कार्यक्रममा माछापालक कृषक यज्ञप्रसाद आचार्य, अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्री र पोल्ट्री व्यवसायी बाबुराम गिरी बहसमा सहभागी भएका थिए।
उनीहरुले आआफ्ना कृषि क्षेत्रका अनुभव, व्यवसाय सुरु गरेदेखि हालसम्म भोग्नुपरेका चुनौती, समस्या र सफलता सहित आआफ्नो अनुभव प्रस्तुत गरेका थिए भने बरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयसंग सम्बन्धित नीतिगत कुराहरु र कृषकहरुलाई मन्त्रालयको तर्फबाट हुन् सक्ने सहयोगबारेमा जानकारी गराएका थिए ।

स्थानीय उत्पादन र कृषिलाई विशेष महत्व दिइएको यो महोत्सवमा कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दूग्धजन्य पदार्थ, माछा तथा फलफूलको व्यापारमा समेत उल्लेखनीय वृद्धि भएको बताइएको छ । पत्रकार सुरेन्द्र पौडेलले सहजीकरण गरेको कार्यक्रममा लेउवा संघका पदाधिकारी अन्य कृषकहरु तथा दर्शकहरुको उपस्थिति रहेको थियो ।
महोत्सब अन्तर्गत सोमवार पनि रत्यौली, विद्यालयस्तरीय प्रस्तुति, नृत्य, लोक दोहोरी, सुगम संगीत लगायतका कार्यक्रममा दर्शकहरुले मनोरंजन लिईरहेका छन। कवि शिरोमणि लेखनाथ पौड्यालसंग सम्बन्धित साहित्यिक कार्यक्रमका लागि संयोजक कृष्णप्रसाद ढुङ्गाना, पदमराज ढकाल, विष्णुहरि पौडेल, तारा ढकाल र रक्षा भण्डारी रहेको उपसमितिले सोमवार कवि शिरोमणि लेखनाथ पौड्यालसंग सम्बन्धित प्रश्न दर्शकहरुलाई सोधेर कार्यक्रम सम्पन्न गरेको छ ।
साहित्यिक कार्यक्रम अन्तर्गत कवि शिरोमणि लेखनाथ पौड्यालको जीवनी र कृतिहरुबाट २१ प्रश्नहरु सोधिने र विजेतालाई रु एक हजार पाँचका दरले पुरस्कृत गरिने संयोजक कृष्णप्रसाद ढुङ्गानाले वताए । यसका साथै कवि शिरोमणि लेखनाथ पौड्यालसंग सम्बन्धित विषयमा विद्यावारिधी गरेका डाक्टर बोधराज ढकाललाई यस महोत्सबमा अभिनन्दन गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
महोत्सवको चौथो दिन मात्र एक करोड बरावरको कारोवार तथा २५ हजार दर्शकले महोत्सवको अवलोकन गरेका प्रचार प्रसार संयोजक ध्रुबबाबु भट्टराईले जानकारी दिए । आइतवार शिवेश्वर महिला समुह पोखरा- २९, बयरपाके महिला कृषक समुह पोखरा- ३० र मातृशिशु कल्याण आमा समुह पोखरा – २८ ले रत्यौली प्रस्ततु गरेको रत्यौली कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटले गुरुकुल खबरलाई जानकारी दिईन।

विद्यालयस्तरीय प्रस्तुती अन्तरगत त्रिवेणी पब्लिक, एपेक्स प्रि स्कुल, विएमजी मावि र लक्ष्मी आदर्श बहुमुखी क्याम्पसको प्रस्तुती रहेको थियो भने नृत्यतर्फ सैनिक बस्ती गुप्र नं १ को घाँटुनाच प्रस्तुत गरिएको थियो । यसैगरी महोत्सवमा आईतबार लोकदोहोरी तर्फ जिवन दाहाल, कृष्ण अखेली, कला लम्साल, शिवहरि ढुंगाना, रमा गौतम, सन्तोष सुवेदी, पुजा तामाङ र साँझको सुगम संगित तर्फ वसन्त सापकोटा, सन्तोष बस्याल र विन्दु परियारको प्रस्तुती रहेको कलाकार व्यवस्थापन उप–समितिका संयोजक भरत कुमार अधिकारीले गुरुकुल खबरलाई जानकारी दिए।
महोत्सवमा दर्शकहरुको संख्या पनि बढ्दै गैरहेको छ। अन्य दिनको तुलनामा शनिवार दर्शकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । त्यस दिन मात्र करिब ५० हजार दर्शकले महोत्सब अबलोकन गरेका थिए। महोत्सवमा देखिएको दर्शकहरुको उपस्थिति र कारोबारले आफुहरुलाई उत्साहित बनाएको र यसले महोत्सवको लक्ष्यभन्दा पनि वढि दर्शक सहभागी हुने र कारोबार पनि बढ्नेमा आँफुहरु विश्वस्त रहेको संघका अध्यक्ष एवं महोत्सव आयोजक मूल समितिका संयोजक जानुका पराजुलीले बताइन ।
महोत्सवमा शनिवार मात्र १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन शनिबार सम्ममा १ लाख बढी दर्शकहरुले महोत्सवको अवलोकन गरीसकेको र आइतबार र सोमबार पनि दर्शकहरुको आगमन उत्साहजनक रहेको महोत्सवका प्रचार प्रसार संयोजक ध्रुबवावु भट्टराईले बताए ।
शनिबार एकै दिन वाल उद्यानतर्फ मात्रै १० लाख वढिको आर्थिक कारोवार भएको बाल उद्यानका संयोजक भरत थापाले दावी गरेका छन । महोत्सव गेटदेखी तीन सय ३५ स्टलपार गरी कार्यक्रम स्थल सम्म पुग्न दर्शकलाई पुग्न हम्मे हम्मे परेको थियो । शनिबार विभिन्न जात जातिहरुको मौलीक पहिचान झल्कने साँस्कृतिक कार्यक्रमतर्फ वडहरे गन्दर्भ समाजको प्रस्तुती रहेको थियो ।
विद्यालयस्तरीय कार्यक्रम अन्तर्गत आनन्द ज्योति मावि, गुरुकुल विद्याश्रम, भवानी कालिका मावि र लक्ष्मी आदर्श माविको प्रस्तुती रहेको थियो। रत्यौली तर्फ गायत्री आमा समुहले आफ्नो प्रस्तुती राखेका थिए। शनिबार सांगितिक कार्यक्रमतर्फ लोकदोहोरी तर्फ खुमन अधिकारी, शिवहरि ढुंगाना, मिरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ्ग, मधु थापा मगर र सुगम संगित तर्फ रचना रिमाल र डेविड शंकरको प्रस्तुतीमा दर्शकहरुले मनोरंजन लिएका थिए ।



















