काठमाडौँ, लामो समयदेखि पत्रकारितामा क्रियाशील विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुईवटा पुस्तक सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयको लागि उपयुक्त “लेखन र सम्पादन” तथा “लेखन कला” विषयमा उनले पुस्तक प्रकाशन गरेका हुन
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले काठमाडौँमा आयोजित एक कार्यक्रममा ति दुवै पुस्तक संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि पुस्तक उपयोगी हुने बताए ।
सेफर्ड कलेजका प्रमुख कविता शर्माले पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन हुनु खुशीको कुरा भएको बताइन् ।
पुस्तकका लेखक विनोद धौलागिरिले आफूहरुले अध्ययन गर्दा पाठ्यक्रममा आधारित पुस्तकको अभाव भएकोले सो अभाव पूरा गर्नका लागि पुस्तक तयार गरेको बताए । दुबै पुस्तकमा रहेका बिषय पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मास्टर्स इन मिडिया टेक्नोलोजी विषयको प्रथम सेमेष्टरको पाठ्यक्रममा समाबेश छन ।




















