Play

पर्यटकीय नगर पोखरासहित घान्द्रुक र मुस्तांगमा पर्यटकको संख्या ह्वात्तै बढ्यो, पाहुना ब्यबस्थापनमा कठिनाई

पर्यटकहरुको संख्या ह्वात्तै बढेपछि घान्द्रुक र मुस्तांगका ब्यबसायीले भने - जानकारी दिएर मात्र घुम्न आउनुहोला


गुरुकुल खबर


पोखरा, केही समयदेखि सुस्ताएको पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेको छ । दसैँ तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमले गर्दा पोखरा र आसपासका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिमा उत्साहजनक चहलपहल देखिएको हो । यसले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ भने पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह भएको छ ।

अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त वातावरण, प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायरजस्ता साहसिक खेलका कारण नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य हो पोखरा । यसका साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथको प्रवेशद्वारका रूपमा पनि पोखरा पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समय  जेनजी पुस्ताको नाममा भएको आन्दोलन र प्रतिकूल मौसमका कारण आएको बाढी पैरोका कारण करिब सुन्य जस्तै अबस्थामा पुगेको पोखरा सहित यस क्षेत्रको पर्यटन पछिल्लो समय मौसममा सुधार देखिनु र लामो सार्बजनिक बिदाका कारण पुनर्जीवित हुन पुगेको छ ।

“विभिन्न मारमा परेको पोखराको पर्यटन क्षेत्रमा अहिले केही राहत महसुस भएको छ । विशेष गरी तिहारको समयमा आन्तरिक पर्यटकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक मात्रामा आइरहेका छन्”, होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका भने । “लामो बिदा, अनुकूल मौसमले अहिले लेकसाइडका  अधिकांश होटलमा  ८०/९० प्रतिशतसम्म अकुपेन्सी पुगेको छ, पोखरा हुँदै आसपासका पर्यटकीय गन्तव्यमा अन्नपूर्ण पदयात्रादेखि मुस्ताङसम्मको यात्रामा निस्केका आन्तरिक तथा केही बाह्य पर्यटकको आगमनले उत्साह थपेको छ ।” अहिले पोखरा मात्र नभई गण्डकी प्रदेशकै पर्यटनमा सकारात्मक प्रभाव पारेको सुवेदीले बताए। सुबेदीले सेप्टेम्बर महिनामा १५/२० प्रतिशतमा झरेको अकुपेन्सी ८०/९० प्रतिशत पुगेको र नोभेम्बर महिनामा बिदेशी पर्यटकहरुको आगमन समेत बढ्ने अनुमान गरिएको बताए

अध्यक्ष सुवेदीका अनुसार पोखराको पर्यटन क्षेत्रमा हाल करिब रु आठ खर्ब बराबरको लगानी भएको छ । सोमध्ये करिब रु ६ खर्ब होटल व्यवसायमै लगानी भएको छ भने प्रत्यक्ष रूपमा करिब १५ हजार व्यक्ति यस क्षेत्रको रोजगारीमा आश्रित छन् । पोखरामा करिब १ हजार २ सय पर्यटकीयस्तरका होटल सञ्चालनमा छन्, जस मध्ये ७ सयवटा जति लेकसाइड र ड्यामसाइड क्षेत्रमा केन्द्रित छन् । एक रातमा करिब ४० हजार पाहुना समायोजन गर्न सक्ने क्षमता पोखराका होटलमा रहेको छ । हाल पोखरामा एउटा फाइभस्टार, ६ फोरस्टार र करिब ३० वटा थ्री स्टार, टु स्टार र वन–स्टार लक्जरी होटल सञ्चालनमा रहेका छन् ।

आन्तरिक पर्यटकमा पदयात्राप्रति पनि उत्साह देखिएको छ । पोखरा पदयात्रा ९ट्रेकिङ० का लागि एक महत्त्वपूर्ण प्रवेशद्वार हो । अन्नपूर्ण बेस क्याम्प ट्रेक, मर्दी हिमाल ट्रेक, घोरेपानी–पुनहिल ट्रेकजस्ता विश्व–प्रसिद्ध पदमार्ग पोखराबाटै सुरु हुन्छन् । यी पदमार्गले हरेक वर्ष हजारौँ ट्रेकरलाई आकर्षित गर्छन्, जसले पोखराको पर्यटनमा थप विविधता ल्याएको छ ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यले भने, “पोखरा नेपालका लागि पदयात्राको प्रवेशद्वार हो । अन्नपूर्ण क्षेत्रमा रहेका अनगिन्ती सुन्दर पदमार्गले यस क्षेत्रलाई विश्वभरका ट्रेकरका लागि आकर्षक गन्तव्य बनाएका छन् । अहिले आन्तरिक र बाह्य पर्यटकको आगमन उत्साहजनक देखिएको छ ।” उनले पोखराको पर्यटनलाई दिगो र समृद्ध बनाउन यी पदमार्गको संरक्षण र प्रवर्द्धनमा सरकारले चासो बढाउनुपर्ने बताए । आचार्यले भने, “यस याममा पोखरामा पर्यटकको चाप बढ्नु स्वाभाविक हो, तर हामी समग्र वर्षभरि नै पदयात्रा पर्यटनलाई सक्रिय राख्न चाहन्छौँ”, आचार्यले यसका लागि नयाँ ट्रेकिङ रुटहरूको पहिचान, अवस्थित रुटको स्तरोन्नति, ट्रेकर सुरक्षाका लागि आवश्यक पूर्वाधार विकास र पथप्रदर्शकको क्षमता अभिवृद्धिमा सक्रियतासँगै हालैमात्र अन्नपूर्ण नर्थ जसलाई मौरिस हर्जोग ट्रेल भनेर टानले प्रवर्द्धन गरेको बताए।

रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले पनि लामो समयपछि पोखरामा पर्यटकको आगमन उत्साहजनक देख्न पाएकामा खुसी व्यक्त गरे। दसैँभन्दा तिहारमा पर्यटकको आगमन राम्रो छ, “रेस्टुरेन्ट र बारमा पनि पर्यटकको चहलपहल बढेको छ । यसले हामी व्यवसायीलाई थप ऊर्जा दिएको छ”, उनले भने ।

पोखरा पर्यटन परिषद्का वरिष्ठ उपाध्यक्ष हरि भुजेलले यो मौसम मात्र पर्यटनको आगमनले पर्यटन क्षेत्रको लगानी थेग्न नसक्ने भन्दै सबै मौसममा पर्यटन भित्र्याउने दीर्घकालीन योजना सरकारसँग हुनुपर्ने बताए। आन्तरिक तथा बाह्य बजारमा पोखराको सुन्दरता र विविधतालाई चिनाउन विशेष पहलको खाँचो छ ।  “पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको गन्तव्य हो, पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयको खाँचो छ।”

उनले प्राकृतिक प्रकोप, राजनीतिक अस्थिरता र महामारीको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा पर्ने भएकाले राज्यले दिगो पर्यटन रणनीति अवलम्बन गरेर पर्यटन क्षेत्रलाई सुरक्षित राख्नुपर्ने बताए । पोखरालाई साहसिक पर्यटनको हबका रूपमा विकास गर्ने, नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र पूर्वाधार विकासमा सहयोग पुर्‍याउने योजनाको भुजेलले खाँचो औँल्याए ।

सांस्कृतिक विविधता, र साहसिक गतिविधिको अनुपम सङ्गम, फेवातालमा डुङ्गा सयर, सराङकोटबाट सूर्योदयको दृश्यावलोकन, विश्व शान्ति स्तूपा भ्रमण, डेभिस फल्स र गुप्तेश्वर गुफाको अवलोकन, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयजस्ता आकर्षणले पर्यटकलाई सधैँ लोभ्याउने गरेकाले यसलाई व्यवस्थित गर्नुपर्ने भुजेलको भनाइ छ ।

नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोखरामा विदेशी पर्यटकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको छ । विशेष गरी फेवातालको किनारमा रहेका रेस्टुरेन्ट, क्याफे र पसलले साँझमा जीवन्त वातावरण सृजना गरिरहेका छन् । तालमा गरिने डुङ्गा सयर, ताल किनारमा साइक्लिङ वा पैदलयात्रा गर्दा पर्यटकले शान्ति र आनन्दको अनुभव गर्ने गर्दछन् । तालको बीचमा रहेको तालबाराही मन्दिरले पनि सांस्कृतिक महत्त्व बोकेको छ ।

मुस्तांगमा एकै दिन भित्रिए करिब ७ हजार पर्यटक 

पोखरा हुँदै आएका अधिकांश पर्यटकहरु पुग्ने गरेको महत्वपूर्ण धार्मिक एबम पर्यटकीय स्थल मुस्तांगमा एकै दिनमा करिब ७ हजारको संख्यामा पर्यटकहरु पुगेको छन । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारको भाइटीका सकिएको पहिलो दिन राष्ट्रिय गौरवको (बेनी–जोमसोम) सडकमार्ग हुँदै ६ हजार ८ सय ५९ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका थिए। मुस्तांग क्षेत्रमा रहेका ३ सय बढी होटलमा पाहुनाहरुको ब्यबस्थापनमा समेत समस्या उत्पन्न भएको बताइएको छ।

राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमार्ग सहज भएपछि मुस्तांग पुग्ने पर्यटकको संख्या बढ्न लागेको हो। पर्यटकीय मौसममा स्थानीय होटलले पर्यटक थेग्न नसक्ने अवस्था देखिएपछि प्रहरीले विशेष चाडपर्वका बेला मुस्ताङ भ्रमण गर्ने योजनामा रहेका पर्यटकहरुलाई होटल बुकिङ गरेर मात्रै आउन समेत अनुरोध गर्नुपरेको छ ।

भाइटिकाको भोलिपल्ट शुक्रबार बेनी–जोमसोम सडकमार्गमा यात्रुवाहक सवारीसाधनको लस्करले उक्त राजमार्ग पुरै व्यस्त रह्यो । मुक्तिनाथ दर्शन तथा यहाँको रमणीय प्राकृतिक सौन्दर्यता अवलोकन गर्न तिहार पर्वलगत्तै मुस्ताङमा पर्यटक आवागमन ह्वात्तै बढेको कारण सडकको ट्राफिक ब्यबस्थापन मात्र नभएर पर्यटकहरुलाई खानपिन र बसोबासको ब्यबस्थापन गर्न समेत हम्मेहम्मे परेको थियो  । शुक्रबार एकैदिन २ हजार १ सय ६८  भन्दा बढी यात्रुबाहक सवारीसाधन म्याग्दी हुँदै मुस्ताङ भित्रिएको प्रहरीले जनाएको छ ।

कात्तिकको पहिलो सातामा बेनी–जोमसोम सडकमार्ग हुँदै २० हजार ५ सय ९ जना आन्तरिक तथा बाहय पर्यटक मुुस्ताङ भित्रिएका थिए । कात्तिकको पहिलो सातासम्म बेनी–जोमसोम सडकमार्ग हुँदै ६ हजार ७ सय ३६ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म १ लाख १८ हजार ५ सय ८९ पर्यटक मुस्ताङ भित्रिएकोमा आन्तरिक पर्यटक ९१ हजार १ सय २५ र विदेशी पर्यटक २७ हजार ४ सय ६४ जना मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

तिहारलगत्तै मुक्तिनाथमा दर्शनार्थीको सङ्ख्या अत्यधिक रुपमा वृद्धि भइरहेको मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।  मन्दिरमा दर्शनार्थीको सहजताका लागि सुरक्षा निगरानी र लाइनबद्ध गराउन सुरक्षा निकायसँगै स्वंयसेवक खटाइएको कोषाध्यक्ष गुरुङले बताए । हिउँदयाम सुरु भइसकेकाले चिसोसमेत बढेकाले हाइअल्टिच्युड हुने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मी र हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरलाई तयारी अवस्थामा राखेर दर्शनकार्यमा सहजीकरण गरिएको उनले बताए । यहाँ वडा कार्यालय र मुक्तिनाथ विकास समितिको पहलमा मन्दिरको चारैतर्फ सीसी क्यामेरा जडान गरिएकाले दर्शनार्थी सुरक्षाका लागि कुनै समस्या नहुने कोषाध्यक्ष गुरुङले सुनाए ।

उद्योग वाणिज्य सङ्घ मुस्तांगका अध्यक्ष राजुप्रसाद लालचनले शुक्रबार बेनी–जोमसोम राष्ट्रिय राजमार्गमा सञ्चालनमा रहेका सबै होटल पर्यटकले भरिभराउ भएको बताए । चाडपर्वका बेला मुस्ताङ घुमफिर गर्ने महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थलका रुपमा विकास भएकै कारण पर्यटकको सङ्ख्यामा अकल्पनीय रुपमा वृद्धि हुँदै जान थालेको अध्यक्ष लालचनको भनाइ छ।विशेष चाडपर्वमा पारिवारिक भ्रमण, स्कुल तथा कलेजका विद्यार्थी, कर्मचारी र विदेशबाट चाडपर्व मान्न स्वदेश फर्किएका नेपालीहरु मुस्ताङ भ्रमणमा आएको उनले बताए । सामान्य अवस्थामा पर्यटक व्यवस्थापन नहुने भए पनि दसैँ तिहार र छठ पर्वमा लामो सरकारी बिदा पर्ने भएकाले युवापुस्ताको घुमफिरको केन्द्र मुस्ताङ बन्न थालेको छ ।

मुस्ताङमा अघिल्लो बर्ष सन् २०२४ मा विदेशी पर्यटक आगमन ५० प्रतिशतले वृद्धि भएको थियो।  सन् २०२३ को तुलनामा सन् २०२४ मा मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या ५०.२० प्रतिशत अथवा ४५ हजार तीन सय ६३ ले बढी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ । मुस्ताङ घुम्ने पर्यटकको संख्या सन् २०२४ मा एक लाख ३५ हजार ७१९ जना पुगेको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

सडक यातायातको सुविधा, अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका उत्कृष्ट दश गन्तव्यमा समेटिनु, नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार, डिजिटल मार्केटिङ, सुविधायुक्त होटेल खुलेका र अनलाइनमार्फत रुट परमिट लिने प्रणाली सुरु भएका कारण मुस्ताङमा पर्यटक आगमन बढेको उनले बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ र मुस्ताङको भ्रमण गरेपछि भारतीय नागरिकहरू मुस्ताङ भ्रमणमा आउने क्रम क्रम बढेको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताए।

घान्द्रुकको अबस्था उस्तै, पर्यटकलाइ बस्ने होटलको अभाव

कास्कीको प्रमुख पर्यटकीय गाउँको रुपमा परिचित घान्द्रुकमा पनि यतिबेला पर्यटकहरुको आगमन निकै बढेको छ गुरुङ समुदायको बाहुल्यता रहेको घान्द्रुक गाउँ प्राकृतिक एबम सांस्कृतिक रुपमा अन्तराष्ट्रिय स्तरमा समेत परिचित गाउँ हो । घान्द्रुकसम्म पुगेर त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउने र सांस्कृतिक महत्वको बारेमा जनाकारी लिन चाहनेहरु मात्र नभएर अन्नपूर्ण हिमालको आधार शिबिरसम्म पुग्नेहरु समेत सोहि ठाउँ हुँदै जाने भएकोले पनि घान्द्रुक आन्तरिक एबम बाह्य पर्यटकहरुको आकर्षक गन्तब्यको रुपमा परिचित बन्दै गएको छ।

घान्द्रुकको पर्यटन प्रबर्द्दनमा सक्रिय रहेर अन्नपूर्ण सेन्चुरी पर्यटन समितका अध्यक्ष ललित गुरुङका अनुसार घान्द्रुक पुग्ने सडक बिस्तार भएसंगे पाहुनाहरुको संख्यामा वृद्धि हुँदै गएको छ । गुरुङ अध्यक्ष रहेको उक्त समितिले हरेक बर्ष घान्द्रुकमा अन्तराष्ट्रियस्तरको अन्नपूर्ण म्याराथन प्रतियोगिता सहित अन्य गतिबिधिहरु समेत संचालन गर्दै आएको छ। घान्द्रुकबाट एबीसी ट्रेक (अन्नपूर्ण आधार शिविर), हिडन लेक लगायत एसियाकै लोकप्रिय पदमार्ग जान सकिने भएकोले पनि मानिसहरुले घान्द्रुकलाई आफ्नो गन्तब्य बनाउने गरेको छन ।

अन्नपुर्ण गाउँपालिका -१० र ११ मा पर्ने घान्द्रुक गाउँ बाट हेर्दा हिमाल नजिक देखिने भएकोले पनि खुल्ला मौसममा घान्द्रुक पुगेर बस्ने चाहना अधिकांश नेपाली र विदेशीहरुको रहेको छ। बिगतमा केहि घण्टाको ट्रेकिंगमा पुग्न सकिने घान्द्रुकमा पछिल्लो समय सडक यातायातको समेत सुबिधा भएपछि सबै उमेरसमुहका स्वदेशी र बिदेशी पर्यटकहरु समेत घान्द्रुक पुग्ने गरेको छन। जसका कारण मौसम खुलेको अनि चाडबाडका कारण बिदा समेत परेको बेला त्यहाँ पुग्ने पर्यटकहरुको उपस्थिति उल्लेखनीय हुने गरेको छ।

यसपटकको तिहारको भाइटिकाको भोलिपल्ट शुक्रबार घान्द्रुकमा पनि पर्यटकहरुले बसोबासको ब्यबस्थापन गर्न निकै हम्मेहम्मे परेको बुझिएको छ। घान्द्रुकमा शुक्रबार मात्रै तिन हजार भन्दा बढी पर्यटक भित्रिएपछि उनिहरुलाई व्यवस्थापन गर्न निकै कठिनाई परेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । “घान्द्रुकमा अहिले पर्यटकको चाप निकै बढेको छ । बिदा र घुमघामको सिजन भएकै कारण घान्द्रुकमा आउने आन्तरिक र बाह्य पर्यटकको घुइंचो लागेको छ। यो बिदाको समयमा घान्द्रुक बस्न आउने पर्यटकहरुले स्थानीय होटल ब्यबसायीसंग सम्पर्क गरेर वा होटल बुकिंग गरेर मात्र आउनु उपयुक्त हुन्छ।” अध्यक्ष गुरुंगले गुरुकुल खबरसंग भने ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिका कोषाध्यक्ष कृष्ण गुरुङले गाउँमा रहेका होटल तथा होमस्टेमा गरेर करिब ३ हजार पर्यटकलाई व्यवस्थापन गर्न सकिने भएपनि पर्यटकहरुको संख्या त्यस भन्दा बढी हुँदा समस्या पर्ने गरेको भन्दै हरेक वर्षको दशैं तिहारको बेला ठुलो संख्यामा पर्यटकहरु आउने गरेको जानकारी दिए । उनले घान्द्रुक आउने योजना बनाएका सर्बसाधारणले सम्पर्क गरेर आएमा असुविधा भोग्नुनपर्ने गरि पाहुनाको ब्यबस्थापन गर्न सकिने स्पष्ट पारे । उनले घान्द्रुक पुग्ने पाहुनाहरु लिएर जाने सवारीसाधन ब्यबस्थापनमा समेत कठिनाई उत्पन्न भएको बताए  ।

९ कार्तिक २०८२, आईतवार ०९:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा