पोखरा, खाडी मुलुक कुवेतमा विषाक्त मदिरा सेवनका कारण तीन दिनको अवधिमा नौजना नेपालीको सहित २३ जनाको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढी बिरामी परेका छन । नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यले दिएको जानकारी अनुसार ३० भन्दा बढी नेपाली कामदार बिरामी रहेको र उनीहरूको कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
‘हामी निरन्तर कुवेतका अधिकारीहरूसँग सम्पर्कमा छौँ । हामी थप विवरण लिने क्रममा अहिले छौँ’, उनले भने । सबै प्रक्रिया पूरा भएपछि मृतकहरूको शव नेपाल पठाउन दूतावासले आवश्यक सहजीकरण गर्ने आचार्यले जानकारी दिएका छन । कुवेतमा हाल १ लाख ३० हजार नेपाली कार्यरत रहेको बताइएको छ । यसबारेमा कुवेत सरकारले नेपाली दूतावासलाई प्रारम्भिक जानकारी उपलब्ध गराइसकेको श्रम सहकारी गिरीप्रसाद आचार्यलाई उधृत गर्दै रातोपाटीले उल्लेख गरेको छ ।
मृतकहरु मध्ये अरु पनि अधिकांश एसियाली नागरिक रहेको अरब टाइम्सले जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार बिरामी परेका मध्ये ३१ जना बिरामीलाई भेन्टिलेटरमा राखिएको छ भने ५१ जनाले आकस्मिक मिर्गौला डायलाइसिस गराएका छन्। २१ जनामा स्थायी अन्धोपन वा दृष्टिदोष देखिएको छ ।
मन्त्रालयले सबै केसहरूको २४ घण्टा निगरानी र आवश्यक उपचारको व्यवस्था सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । कुवेतमा मदिरा प्रतिबन्ध रहेको छ । तर लुकीछिपी बेचबिखन हुने र सोही मदिरा किनेर सेवन गर्दा ठुलो सङ्ख्यामा नेपाली प्रभावित हुने गरेको छन ।