काठमाडौँ, विभिन्न स्थानमा कोटीहोम र महायज्ञ संचालन गर्दै आएको मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा काठमाडौँको पशुपति मन्दिर क्षेत्रमा श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ – २०८२ शुरु भएको छ । साउन १ गतेबाट आगामी भदौ २१ गतेसम संचालन हुने पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट् ज्ञानमहायज्ञ मानिसले मनमा चिताएको कुरा पुरा हुने र विभिन्न खालका संकटबाट मोचन गराउने लक्षका साथ आयोजना गरिएको महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीको भनाई छ।

बिहिबार आयोजित एक बिशेष समारोहमा महायज्ञको उद्घाटन पन्चकन्याहरुले गरेका थिए । उनीहरुले पशुपतिनाथ मन्दिरका मूल भट्टबाट पशुपतिको दिप लिएर आई समारोहमा राखिएको पानसमा दिप प्रज्वलन गरि महायज्ञको बिधिबत उद्घाटन गरेका थिए। उद्घाटन समारोहमा विभिन्न स्थानबाट आएका धर्म गुरुहरुको साथै कथा बाचकहरु, जनप्रतिनिधिहरु सहित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
उद्घाटन समारोहमा बोल्दै आयोजक मानव सेवा फाउन्डेसनका संस्थापक अध्यक्ष एबम महायज्ञका संकल्पकर्ता बिजय कृष्णमुर्ती महाराजले पोखरामा गण्डकी कोटीहोम सम्पन्न गरिए लगत्तै छोटो समयको तयारीमा महायज्ञ आयोजना गरिएको बताए। उनले साउन शिब भगवानको प्रिय महिना भएको र भदौमा नेपाली महिलाहरुको महत्वपुर्ण पर्ब तीज परेकोले पनि महायज्ञमा धेरै भक्तजनहरुको सहभागिता रहने बिश्वास ब्यक्त गरे।

महायज्ञको क्रममा बनाइएका विभिन्न पन्डालमा लोकप्रिय कथाबाचकहरुले कथा बाचन गर्ने जानकारी दिंदै उनले हरेक दिन तिन शिफ्टमा कथा बाचन हुने बताए। शुरुवातका दिनमा सागर आचार्य,आदियाेगी गौतम स्वामी र शितल कृष्ण महाराजले कथाबाचन गर्ने र महायज्ञ अबधिमा अमृत शरण देवाचार्य, पण्डित दिनबन्धु पाेख्रेल, राधिका दासी, देवी प्रतिभा, चन्द्रकला सखी, अनुराधा पाण्डेय लगायतले कथा बाचन गर्ने कार्यक्रम रहेको उल्लेख गरे।
यसका साथै तीज पर्वको अवसर पारेर भदौ १ गतेबाट तीज महामहोत्सब समेत आयोजना गरिएको र तीजको ब्रत, पुजा एबम नाचगान लगायतका गतिबिधि संचालन गरेर महिलाहरुलाई धार्मिक र आध्यात्मिक चेतना जगाउने संगै मनोरंजन समेत दिलाउने लक्ष राखिएको छ। सोहि अबसरमा बिभिन्न क्षेत्रमा योगदान गरेर प्रतिष्ठा कमाएका १ सय ८ जना महिलाहरुलाई सम्मान समेत गरिने भएको छ।

महायज्ञको क्रममा विभिन्न धार्मिक अनुष्ठान, धार्मिक गुरुहरुको आशिर्बचन र प्रवचन सहितका विभिन्न क्रियाकलापहरु समेत हुने भएको छन। धार्मिक अनुष्ठानमा सहभागी हुने गुरुहरुको लागि गोदावरीमा लागेर सामुहिक स्नान एबम केशमुन्डन समेत गरिएको थियो।
महायज्ञको उद्घाटन समारोहमा बोल्दै प्रतिनिधि सभाका सदस्य किरण शाहले फाउन्डेसनले हिन्दु धर्म र संस्कृतिको संरक्षन एबम मानबिय सेवाको लागि महत्वपुर्ण काम गर्दै आएकोले धर्मको रक्षाको लागि हुने यसकिसिमका क्रियाकलापमा आफ्नो तर्फबाट सहयोग रहने प्रतिबद्दता प्रकट गरे ।

गण्डकी प्रदेशका सांसद बिन्दु पौडेलले पोखरामा आयोजना गरिएको गण्डकी कोटीहोममा समेत आफुले सक्दो सहयोग गरेको भन्दै धर्म र संस्कृतिको रक्षाका लागि हुने यस किसिमका क्रियाकलापमा सबैको सहयोगको अपेक्षा गरिन ।
चलचित्र अभिनेता सरोज खनालले आंफुले नेपालको पहिलो धार्मिक चलचित्र ‘जय बाबा पशुपतिनाथ’ मा अभिनय गर्ने अवसर मिलेको भन्दै मानब सेवा फाउन्डेसनका मानबिय क्रियाकलापलाई आफुले सहयोग गर्ने बताए।

महायज्ञको उद्घाटन समारोहमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुसंगै पोखरामा आयोजित गण्डकी कोटीहोमको मूल आयोजक समितिका सहसंयोजक गंगाधर पराजुली सहित उपसंयोजक दुर्गा केसी र सल्लाहकार रंगिला पौडेल आचार्य लगायतको उपस्थिति रहेको थियो। त्यस अबसरमा पराजुलीले काठमाडौँमा रहेको समयमा नै संकटमोचन महायज्ञको उद्घाटन समारोहमा आतिथ्यता गर्ने अवसर मिलेकोमा खुसि प्रकट गर्दै महायज्ञको सफलताको कामना गरेका थिए ।
उद्घाटन समारोहमा विभिन्न कलाकारहरुद्वारा बिभिन्न भजन कृतन र नृत्यहरु प्रस्तुत गरिएको थियो। महायज्ञका क्रममा संचालन हुने विभिन्न कार्यक्रमहरुको सचालन उद्घोषकहरु कोष खड्का, दीप काफ्ले, नेत्रपाणी बाँस्तोला, प्रदिपजंग थापा, मालती पराजुली, बिष्णु पौडेल लगायतले गर्ने बताइएको छ।

मानव सेवा फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिका – १४, बोडेगाउँमा मामाघर अनाथालय आश्रम एबम भक्तपुरको चाँगुनारायण-९ ताथलीमा ज्येष्ठ नागरिक आश्रम संचालनमा ल्याएकोमा तिनलाई थप ब्यबस्थित र सुबिधा सम्पन्न बनाउनको लागि अर्थ संकलन गर्ने लक्ष सहित संकट मोचन बिराट ज्ञान महायज्ञ संचालन गर्न लागिएको बताइएको छ।
मामाघर अनाथालय आश्रममा अभिभावक विहिन अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई नि:शुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा प्रदान गरिंदै आएको फाउन्डेसनले जनाएको छ। नेपालकै नमुनाको रुपमा मामाघर अनाथालय आश्रम संचालन गर्न ललितपुरको गोदावरी नगरपालिका -३ तान्चिन्टारमा यस अगाडी संचालित विभिन्न महायज्ञमा संकलित दान रकमबाट जग्गा खरिद गरी आश्रमको शिलान्यास समेत भइसकेको छ।
छोरीको घर र ज्येष्ठ नागरिक आश्रम निर्माणको लागि भक्तपुरमा ३ रोपनी भन्दा बढी जग्गा खरिद गरिएको र हाल ८६ जना बालबालिकाहरुको लागि बस्ने खाने एबम पढ्ने सहितको सबै सुबिधा प्रदान गरिएको समेत बालयोगेश्वर बिजयकृष्ण मुर्तीले जानकारी दिए। भक्तपुरमा हाल संचालित जेष्ठ नागरिक आश्रममा बेसहारा, पिडित, दुखी, गरिव र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क रूपमा गास, वास, कपास, स्वास्थ्य र सुरक्षा प्रदान गर्दै आइरहेको छ।
मानव सेवा फाउन्डेसनले गत बर्ष पशुपति क्षेत्रमा पशुपति कोटीहोमको आयोजना गरेको थियो भने केहि महिना अगाडी पोखरामा गण्डकी कोटीहोम आयोजना गरेको थियो। ति दुवै कोटीहोम महायज्ञमा भक्तजनहरुको उपस्थिति उल्लेखनीय रहेको थियो ।



























