पोखरा, पोखरामा जारी गण्डकी कोटीहोम महायज्ञमा धार्मिक अनुष्ठान र प्रवचन जस्ता कार्यक्रमहरुको साथै विभिन्न क्षेत्र र वर्गलाई समेट्ने गरि मानबिय एबम सामाजिक र रचनात्मक कार्यलाई निरन्तरता दिने क्रम जारी छ। महायज्ञ भन्ने बित्तिकै धार्मिक अनुष्ठान र धार्मिक प्रवचन तथा आशिर्बचन भनेर बुझ्ने गरिएकोमा विभिन्न रचनात्मक एबम सामाजिक काम पनि पोखराको कोटीहोममा भैरहेको छन। कन्या पुजन, जेष्ठ नागरिक सम्मान कार्यक्रममा पनि सयौं कन्या र जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।
यसै क्रममा यहि बैशाख ९ गते शुक्रबार कास्की जिल्ला सहित छिमेकी जिल्लाका शारीरिक अशक्तता (अपाङ्गता) भएका व्यक्तिहरूलाई पनि महायज्ञको समारोहमा सम्मान गरिने भएको छ । पोखरा लगायत मुलुकका विभिन्न शहरहरुमा रगतको अभाव भएको कुरालाई मध्यनजर राखेर नियमित रुपमा रक्तदान कार्यक्रम समेत महायज्ञ परिसरमा आयोजना गरिएको छ।
महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजयकृष्ण मुर्तीका अनुसार अपांगतालाई पूर्व जन्मको पाप भन्दै फरक दृष्टिकोणले हेर्ने सोचाई समाजमा अहिले पनि रहेकोले त्यस किसिमको प्रवृत्तिलाई अन्त्य गर्न तथा उनीहरूलाई सम्मानपूर्वक सामाजिक पहिचान दिलाउने उद्देश्यका साथ उनीहरुलाई सम्मान गरिने भएको हो ।
यसका साथै विभिन्न मानबिय एबम सेवाका कार्यहरु पनि महायज्ञ अबधिमा नियमित रुपमा संचालन भैरहेको उनले बताए सिही दिन रक्तदान कार्यक्रममा सहभागिता जनाएकाहरुलाई पनि सम्मान गरिनेछ। महायज्ञ स्थलमा आयोजित रक्तदानमा सैयौं जनाले रक्तदान गरिसकेका छन।
संकल्पकर्ता बिजय कृष्णमुर्तीका अनुसार शुक्रबार एकादशीकको समेत दिन परेकोले कोटिहोम ज्ञान महायज्ञमा प्रमुख आचार्यगण तथा गुरुजनहरूलाई विशेष सम्मान गरिनेछ। एकादशीको पावन अवसरमा गुरुमहाराज, आचार्य गुरुजन, आयोजक समिति, फाउण्डेसन परिवारका सदस्यहरू तथा ठुलो संख्यामा भक्तजनहरुबाट तण्डुलाचलमा चामल दान तथा अन्य विविध अन्न दानका कार्यक्रम आयोजना गरिनेछ।
यसैगरी शनिबार महायज्ञस्थलमा चित्रकला प्रदर्शनी गरिने भएको छ देशभरिका विभिन्न प्रतिभाशाली चित्रकारहरुले कार्यक्रममा सहभागी भई आफ्नो कला तथा सिर्जनात्मक प्रतिभा मार्फत यस क्षेत्रको महिमा झल्किने विशेष चित्र बनाउने कार्यक्रम तय गरिएको छ । सोहि दिन गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा धार्मिक तथा सामाजिक अभियानमा सक्रिय रहनुभएका अभियन्ताहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम आयोजना गरिनेछभने गण्डकी प्रदेशका विभिन्न धार्मिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र गुरुकुलका पदाधिकारीहरुलाई पनि सम्मान गरिनेछ।
यसैगरी महायज्ञमा सहभागी हुने हजारौं सर्बसाधारणको स्वास्थ्यलाई ख्याल गरि शनिबारको दिन निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने भएको छ। महायज्ञ स्थलमा हेल्थ डेस्क पनि नियमित रुपमा संचालन गरिएको र मंगलवारबाट गण्डकी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुले सेवा दिन शुरु गरेको महायज्ञ आयोजक समितिले जनाएको छ।
पोखराको बिरौटामा जारी गण्डकी कोटीहोममा तुलादान, चौरासी पूजा, ग्रहशान्ति, विवाह, व्रतबन्ध, पितृ पुराणम् (हरिवंश पुराण), कालसर्पयोग पूजा, मङ्गल चतुर्थी व्रतउद्यापन, सप्तवार व्रत उद्यापन, एकादशी व्रत उद्यापन, अर्क विवाह, कुम्भ विवाह, माङ्गलिक शान्ति, ऋणमोचन पाठ, शनि मृत्युञ्जय पाठ, शक्तिपाठ, श्रीसूक्त पाठ, संपुटक पाठ (चण्डी पाठ) जस्ता विभिन्न धार्मिक अनुष्ठानहरु संचालन भैरहेका निर्देशक शंकर खरालले गुरुकुल खबरलाई जानकारी दिए ।
यसैगरी रोगनिवारण पाठ, ग्रहसूक्त पाठ, दुःख निवारण पाठ, गणेश सहस्रार्चन, देवी सहस्रार्चन, विष्णु सहस्रार्चन, शिव सहस्रार्चन, सूर्य सहस्रार्चन, व्रत उद्यापन पूजा, अथर्वशीर्ष पाठ पारायण, १०८ आवृती हनुमान चालिसा पाठ, सङ्कटमोचन एवं वजरङ्गवाण पाठ, कलह निवारण, श्रीसूक्त पाठपारायण, भूमिदोष निवारण, दशमहादान, अष्टमहादान, पञ्चधेनुदान, भूमिदान, गोदान र कवच पाठ लगायतका धार्मिक अनुष्ठानहरुपनि निरन्तर संचालनमा छन महायज्ञ यहि जेष्ठ २६ गते सम्म चल्नेछ।