Play

कांग्रेसका पदाधिकारीप्रति डा. महतको आक्रोश: पाएको जिम्मेवारी पुरा नगर्ने अनि थप जिम्मेवारीको लागि दौडिने ?

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका प्रवक्ता एबम पूर्व सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले पार्टीका पदाधिकारीहरुले आफुले पाएको जिम्मेवारी पुरा गर्न नसक्ने तर अर्को जिम्मेवारीको लागि दौडधुप गर्ने प्रवृति चिन्ताजनक रहेको बताएका छन। नेपाली काँग्रेस कास्की क्षेत्र न. ३ को दोश्रो क्षेत्रिय सम्मेलनको आइतबार पोखरामा उद्घाटन गर्दै प्रबक्ता डा. महतले कांग्रेसको महाधिबेशन निर्धारित समयमै गर्नको लागि पनि पदाधिकारीहरु गम्भीर बन्नुपर्नेमा जोड दिंदै पदाधिकारीहरुको कार्यशैली प्रति आक्रोश समेत ब्यक्त गरे ।

‘कांग्रेसको १५ औं महाधिबेशन बिधानले तोकेकै समयमा गर्नुपर्ने आवाज सबैतिरबाट उठिरहेको छ। त्यसको लागि सदस्यता नबिकरण र नयाँ सदस्यता वितरण सहित विभिन्न तहको अधिबेशन सकिनुपर्यो।’  डा. महतले भने – “पार्टी सभापति शेरबहादुर देउबाले उदारता देखाएर पदाधिकारीहरुलाई संगठनका यी सबै काम गर्न जिम्मा दिनुभएको छ, तर जसले जिम्मा पाएका छन, उनीहरुले आफुले पाएको जिम्मेवारी पुरा गर्ने तर्फ चासो देखाउनुको साटो अर्को जिम्मेवारी चाहियो भन्दै दौडधुप गरिरहेका छन।”

प्रबक्ता डा. महतले आफ्नो सम्बोधनका क्रममा कुनै पदाधिकारीको नाम नलिएपनि उनको भनाई आसन्न महाधिबेशनमा पार्टी सभापति पदमा उमेद्वारी दिने हालका महामन्त्री गगन थापासहित अन्य तर्फ लक्षित रहेको कार्यकर्ताले अनुमान गरे। यसै सन्दर्भमा डा. महतले भने – “महाधिबेशनको टुंगो अझै लाग्न सकेको छैन। तर, अहिले बाट नै पार्टीको बिभिन्न पदमा चुनाब लड्छु भन्दै प्रचारमा जुट्नुले पार्टीभित्र व्यक्तिगत बिबाद बढाउने र गुटगत मतभेद अझ बढ्नेमात्र नभएर संगठन अझ कमजोर बन्ने अबस्था देखिएको छ।”

म पनि सभापति पदमा चुनाब लड्न सक्छु तर अहिले नै किन बोल्ने ? 

म पनि सभापति पदमा चुनाब लड्न सक्छु, तर महाधिबेशनको टुंगो नै नलागी अहिले नै किन बोल्ने ? उनले प्रश्न गरे । यसै सन्दर्भमा उनले भने “महाधिबेशनबाट नयाँ जिम्मेवारी लिन तिन महिना अगाडीबाट अभियान शुरु गरे हुन्छ। तर, अहिले संगठनमा आंफुले पाएको जिम्मेवारी पुरा गर्नुपर्यो नि।  पार्टी सदस्यताको नबिकरण चैत्र भित्र सक्ने भनियो, पुरानो सदस्यता नबिकरण अझै क्लोज भएको छैन, नयाँ सदस्यताको शुरुवात त कहिले हो कहिले ? अनि यस्तो पाराले कसरि हुन सक्ला त समयमै महाधिबेशन ?” उनले आक्रोश ब्यक्त गरे ।

महतले आँफुले आफ्नो जिम्मेवारी अनुसारको काम नगर्ने तर अर्कोले गर्दा काम भएन भनेर अरुलाई नै दोष देखाउने प्रवृति पदाधिकारीहरुमा देखिएको भन्दै चिन्ता प्रकट गरे। हाम्रो संगठनमा नीति सिद्दान्तमा समस्या छैन, संगठनमा समस्या बढेको छ । पार्टी भित्र ब्यक्तिबाद हावी भएको कारण नै संगठनमा यस किसिमको समस्या देखिएको उनको भनाई थियो।

यसै सन्दर्भमा उनले नेपाल बिद्यार्थी संघको पछिल्लो महाधिबेशन आँफु निर्देशक समितिको संयोजक भएर निकै मेहनतका साथ सम्पन्न गरेको तर त्यसपछि अहिलेसम्म महाधिबेशन हुन नसकेको स्मरण गराए।  नेपाल महिला संघ कास्की अन्तर्गतको बिबादलाइ उनले महिलाहरु बिचको बिबाद र समस्या भन्दा पनि पार्टीका नेता साथीहरुबिचको बिबाद र समस्याको रुपमा चित्रण गरे। मिना पाण्डे नेतृत्वको समितिले कसैलाई सदस्यता दिएन भन्ने लाग्छा भने २/४ जनाको सदस्यता वितरण समिति बनाएर नामावली टुंगो लगाउने र अधिबेशन गर्ने तर्फ लाग्न समस्याको रुपमा नराख्न उनले पार्टीका जिल्ला नेताहरुसंग आग्रह गरे ।

उनले नेपाली काँग्रेसको नीति र सिद्दान्त राम्रो भएकोले कांग्रेस भएकोमा गर्ब गर्न कार्यकर्ताहरुलाई सुझाए। “तर संगठनमा समस्या आएको छ, ब्यक्तिबादी चरित्र हावी भएको छ।  यस्तो रोग पार्टीको केन्द्रमा मात्र नभएर प्रदेश, जिल्ला र वडा तहमा पनि देखिएको छ। तसर्थ कांग्रेसको केन्द्रमा रहने साथीहरु संगै वडामा बस्ने साथीहरुमा पनि सुधार जरुरी छ।” कांग्रेस प्रबक्ता डा. महतले पार्टी बलियो नभए कोहि बलियो बन्न नसक्ने भन्दै पार्टी बलियो बनाउन सबै लाग्नुपर्नेमा समेत जोड दिए ।

‘अहिले देशमा नेता र नीति खराब भए भनेर भ्रम छर्ने प्रयास भैरहेको छ। तसर्थ अब कांग्रेसले पनि सक्रियता पुर्बक कांग्रेसको नीति, सिद्दान्त र कांग्रेसको कारण मुलुकमा भएका बिकास, प्रगति र परिबर्तनको मुद्दालाई सामाजिक संजालबाट प्रवाह गर्नु आबश्यक छ।’ डा. महतले भने

कांग्रेस नेताहरुमाथि मुद्धा लगाइनु दुखद 

डा. महतले बर्तमान गठबन्धन सरकारको कार्यशैली प्रति पनि असन्तुष्टि प्रकट गरे। उनले भने, हाम्रा साथीहरुलाई विभिन्न नियामक निकायबाट आरोपित गर्ने काम भैरहेको छ। पूर्व संचार मन्त्री मोहनबहादुर बस्नेतको नाम लिएर उनले चिन्ता प्रकट गरे , “हाम्रो साथि मोहनमाथि अहिले मुद्दा लगाइएको छ, कल बाईपास रोक्ने प्रबिधि आबश्यक परेकोले नेपाल टेलिकममा उक्त प्रबिधि शुरुवात गर्न खोजेको आरोपमा मुद्दा लगाईनु आश्चर्यजनक हो। अरु साथीहरुले पनि यसकिसिमको समस्या भोग्नुपरेको छ।”

‘अरु पार्टीले आफ्नो नेता कार्यकर्तालाइ यसकिसिमको अभियोग लगाउँदा धर्ना, जुलुस र आन्दोलन गर्छन। तर हाम्रो पार्टीमा जो पर्यो पर्यो अरु नबोल्ने प्रवृति छ। तसर्थ यसबारेमा पनि पार्टीले गम्भीर समिक्षा गर्नु आबश्यक छ।’ उनको भनाइ थियो।

वर्तमान राजनीतिक संरचना हैरानीको अवस्थामा बनेको र यो दीर्घकालीन सोचको उपज नभएको उनको स्पष्टोक्ति थियो। संसदको गणितका कारण गठबन्धनको विकल्प नभएकोले नै  बाध्यात्मक परिस्थितिमा यो गठबन्धन बनेको उनले स्पष्ट पारे ।  यसले दीर्घकालीन राजनीतिक स्थिरता सुनिश्चित गर्न सक्दैनँ ।’ उनले गठबन्धनमा नीति तथा प्राथमिकताको साझा समझदारी नभएको बताएका हुन् । संबिधान संसोधनको लागि तत्काल पहल गर्नुपर्ने भएपनि सरकारले गम्भीरता देखाउन नसकेको उनले आरोप लगाए।

गठबन्धन सरकारमा सबै कुरा आंफ्नो पार्टीले भने जस्तो नहुनु स्वाभाविक हो। तर, प्रयास नै नहुनु दुखद रहेको बताउंदै संविधान संशोधनको आवश्यकतामा जोड दिए । ‘वर्तमान निर्वाचन प्रणालीले स्थिर सरकारको ग्यारेन्टी दिन सक्दैन,’ उनले स्पष्ट भने ‘यसैले अब संविधान संशोधनको प्रक्रिया गम्भीर ढंगले अघि बढाउनु आवश्यक छ ।’

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्बन्धमा चर्चा गर्दै उनले भने नेपाली काँग्रेसले हाईली प्रोफेसनल व्यक्तिलाई गभर्नर नियुक्ति गर्न आग्रह गरे पनि अझै टुंगोमा नपुग्दा नकारात्मक सन्देश बाहिर गएको छ । ‘गठबन्धन भनेको एकअर्काको दृष्टिकोण बुझ्न सक्ने संरचना हो,’ महतले भने, ‘तर अहिले हामीले नै उठाएका विषयमा अन्योल छ, जसले राम्रो सन्देश दिएको छैन ।’

पुर्ब अर्थ मन्त्री समेत रहेका महतले पार्टी सत्तामा पुगेपछि मात्रै घोषणापत्र कार्यान्वयन सम्भव हुने भन्दै सत्तासँगको सहकार्य आवश्यक रहेको सुनाए । ‘हामीले आदर्शका कुरा मात्र गरेर बाहिरै बस्ने हो भने, हाम्रो नीति, कार्यक्रम र बजेट कसरी कार्यान्वयन हुन्छ, हुँदैन?’ उनले भने । सत्तामा नगए पनि कार्यकर्तामाझ गुनासो रहने, सत्तामा गए पनि चुनौतीहरू कायम रहने उनको भनाइ थियो । ‘सत्तामा पुग्दा पनि सबै कुरा तुरुन्तै समाधान हुँदैन,’ उनले अनुभव सुनाउँदै भने, ‘मैले मन्त्री हुँदा पनि सबै कुरा सहज थिएन । अहिले केपी ओली जस्तो व्यक्ति प्रधानमन्त्री हुँदा हामीले सोचेका सबै काम हुन्छन भन्ने पनि सोच्नुहुँदैन।’

तिन करोड भन्दा कम बजेटका योजना नराखौं 

बजेट निर्माणको सन्दर्भमा महतले संघीय सरकारले साना योजनामा ध्यान केन्द्रित गर्नुको सट्टा ठूला परियोजनामा मात्र लगानी गर्नु उचित हुने धारणा राखे । ‘कनिका छरेर परिणाम आउँदैन,’ उनले भने, ‘३ करोडभन्दा कम बजेटका योजना राख्नुहुँदैन भन्नेमा हामी स्पष्ट छौं । उनले सानो–सानो बजेटमा योजना बनाउने प्रवृत्तिले समग्र विकासमा प्रभाव नपर्ने भन्दै ‘थोरै तर प्रभावकारी नतिजा आउने गरि काम गर्नुपर्नेमा जोड दिए ।

आँफु अर्थमन्त्री हुँदा पनि तिन करोड भन्दा तलको योजना संघिय सरकारले नराख्ने भन्ने कुरालाई अगाडी बढाएको तर सरकार फेरिएपछि त्यसमा निरन्तरता नदिईएको उनले सुनाए । जनतालाई छुन सक्ने, प्रभावशाली योजना अगाडि ल्याउनुपर्ने र जनता सन्तुष्ट हुने गरी काम गर्नुपर्यो उनले भने ।

नेपाली काँग्रेस कास्की -३ का सभापति मनोज गुरुंगको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यहरु शारदा पौडेल र पुष्पराज पराजुली, कास्की काँग्रेसका सभापति किशोर बराल, क्षेत्र न.३ का उपसभापति पुष्पेन्द्र पाण्डे, नेका पोखरा नगर सभापति सुरेन्द्र बिजुक्छे, अन्नपुर्ण गाउँपालिकाका सभापति मनापति भण्डारीले सम्मेलनको शुभकामना दिंदै पार्टी बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।

यसैगरी सम्मेलनमा नेपाल महिला संघ कास्कीका सभापति मिना पाण्डे,नेविसंघ कास्कीका पुर्ब अध्यक्ष पुरुषोत्तम पराजुली, नेपाल तरुण दलका केन्द्रीय सदस्य पशुपति भट्टराई, लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देबेन्द्र शेरचन, नेपाली काँग्रेस पोखरा -२२ का सभापति होमप्रसाद बराल, नेविसंघका केन्द्रीय सदस्य महादेव गिरि, क्षेत्रिय समितिका कोषाध्यक्ष खिमलाल पहारी, सचिब द्वय मेख तामांग र लक्ष्मीप्रसाद पौडेल लगायतले आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा कांग्रेसका महिला नेत्रीहरु रनशोभा गुरुङ, शान्ति गुरुङ, भिममाया आले पवित्रा, ज्योती गुरुङ र कुमारी गुरुङले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

६ जेष्ठ २०८२, मंगलवार ०९:१५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा