Play

लम्जुंगमा टकराज र भेषबहादुरको टकराव: तरुणदलका कार्यकर्ताको भिडन्त, खुकुरी प्रहारबाट चार घाइते

गुरुकुल खबर


पोखरा, नेपाली काग्रेसको भात्री संस्था नेपाल तरुण दलको लम्जुंग जिल्ला अधिबेशनको क्रममा दुई पक्षबिच झडप हुँदा केहि घाइते भएका छन् भने अधिबेशन पनि स्थगित भएको छ। केन्द्रीय महाधिवेशनको संघारमा रहेको तरुण दल लमजुङको पहिलो जिल्ला अधिबेशनको उद्घाटन सत्र चल्दै गर्दा एक समूह नाराबाजी गर्दै कार्यक्रम स्थलमा प्रवेश गरेपछि भएको झडपमा खुकुरी प्रहार भएको थियो। बेसीसहर नगरपालिका वडा नम्बर ८ को प्रगति टोल समूहको भवनको सभाहल परिसरमा खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारका कारण ४ जना घाइते भएकोमा २ जनालाई थप उपचारका लागि चितवन पठाईएको छ । पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र बेसीसहर बजारमा चल्दै गरेको अबस्थामा भएको खुकुरी प्रहारबाट बेसीशहर नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएको छन।

गम्भीर घाइते बनेका खुसीजंग र सुदीपलाई थप उपचारका लागि चितवन पठाईएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहार गर्नेहरूको पहिचान गर्न आबश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तरुण दलको अधिबेशनको प्रमुख अतिथि नेपाल तरुण दलका पुर्ब अध्यक्ष एबम राष्ट्रिय सभा सदस्य जीतजंग बस्नेत र विशिष्ट अतिथि दलका बर्तमान अध्यक्ष विद्धान गुरुङ थिए। उद्घाटन समारोह चलिरहेको बेला हल भित्र नाराबाजी गर्दै पसेको समुहले एकलौटी अधिबेशन गर्न पाइँदैन भनेर नारा लगाएको थियो ।

नेपाली कांग्रेस  लमजुङका सभापति समेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङ र उनको समुहलाई लक्षित् गर्दै नाराबाजी भएको र गुरुङकै समूहले फरक मत भएकाहरूलाई पाखा पारेर प्रतिनिधि छनोट गरेको आरोप उनीहरूको थियो । नारा लगाउने हरू कांग्रेसका निवर्तमान सभापति  एबम गण्डकी प्रदेश सरकारका बन मन्त्री भेषबहादुर पौडेल निकटका रहेको बताईन्छ।

लम्जुंगमा पौडेल र गुरुङ बिचको द्वन्द्व लामो समय देखि चल्दै आएको छ । जिल्ला सभापति रहेका गुरुङले कांग्रेसको संस्थापन पक्ष अर्थात सभापति शेरबहादुर देउबा पक्षको नेतृत्व गर्छन् भने पौडेलले संस्थापन इतर र त्यसमा पनि पछिल्लो समय गगन थापा पक्षको नेतृत्व गर्दै आएको बताईन्छ । नाराबाजीकै बिचमा पार्टी जिल्ला सभापति गुरुङ पक्षका युवाले नाराबाजी लगाउनेहरूमाथि खुकुरी प्रहार गरेको र ४ जना घाइते भएको बताइएको छ । घाइतेमध्ये खुसीजंग गुरुङ र सुदीप अधिकारीको अवस्था अलि गम्भीर भएका कारण थप उपचारको लागि चितवन पठाईएको छ । गुरुङ हाल बेंसीशहर नगरपालिका – ९ का वडाध्यक्ष  एबम तरुण दलका क्षेत्रीय सभापति हुन् ।

जिल्ला अध्यक्षका प्रत्याशी खुसीजंग गुरुङ, भीम गुरुङ, बेसीसहर नगर सभापति विशाल अधिकारी लगायतलाई सदस्यबाटै हटाइएको भन्दै उनीहरु नाराबाजीमा उत्रिएका थिए। खुसिजंग जिल्ला सभापतिको दावेदार समेत रहेको र उनैको पूर्णकालीन सदस्यता खोसिएको आरोप पौडेल समुहका युवाले लगाएका छन । घटनामा नेपाली कांग्रेस लमजुङका सदस्य किशोरकुमार बस्नेत र अर्का नेता शंकर सापकोटा पनि घाइते भएर उपचाररत छन्।

मध्यनेपाल नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय धनबहादुर तामा, राइनास नगरपालिका वडा नम्बर ६ का गणेश गुरुङ, मर्स्याङ्दी नगरपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षीय भुपेश गुरुङ लगायतले खुकुरी प्रहार गरेको पीडितहरूले आरोप लगाएका छन ।

उक्त घटनाको बारेमा लम्जुंग प्रहरीले अनुसन्धान शुरु गरिसकेको जनाएको छ । अधिवेशनमा खुकुरी प्रहार भएको घटना पछि भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताउंदै जिल्ला प्रहरी प्रमुख डिएसपी रेशम बोहोराले भने, ‘दुई समूहको विवादले तरुण दलको अधिवेशनमा भएको खुकुरी प्रहारको भिडियो नै देख्यौं ।  खुकुरी प्रहार भएको भिडियो नै सार्वजनिक भएकाले पीडित पक्षबाट जाहेरीकै आवश्यकता पनि पर्दैन । घटनाको अनुसन्धान भइरहेको छ ।’

खुकुरी प्रहारको घटनापछि विशेष कारणबस अधिवेशन स्थगित भएको भन्दै निर्वाचन समितिले सूचना जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले घटनाबारे अनुसन्धान भइरहेको बताए । घटना भएपछि निर्वाचनको तालिका स्थगित गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता सकिएको र बाँकी निर्वाचन कार्यक्रम जेठ १० गते हुने निर्वाचन अधिकृत विजयप्रकाश अधिकारीले जानकारी दिए।

टकराज र भेषबहादुरको आआफ्नै अडान 

लमजुङमा १३ औँ महाधिवेशनपछि हालका गण्डकी प्रदेश सरकारका मन्त्री गुरुङ र पौडेलको गुट स्थापित छ । उनीहरू दुवै जना १३ औँ महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी थिए । गुरुङलाई हराएर पौडेल निर्वाचित भए तर १४ औँ महाधिवेशनमा पौडेलले आफ्नो समूहबाट गमबहादुर गुरुङलाई सभापतिमा अघि सार्दा टकराज आफैँ मैदानमा उत्रिएर चुनाब जित्न सफल भए ।

पौडेल समूहलाई हराएर अघिल्लो हारको बदला लिन टकराज सफल भएपछि उनीहरूको गुट झन झाँगिदै गएको हो । गत निर्वाचनमा दुवै जना प्रतिनिधिसभा सदस्यको टिकटका लागि दौडधुप गरे । संयोगले लमजुङको प्रतिनिधिसभा माओवादीको कोटामा पर्‍यो । पौडेल र गुरुङ आ–आफ्नै निर्वाचन क्षेत्रबाट प्रदेश सांसदमा चुनाव लडे र दुवै जनाले चुनाव जिते ।

दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि सुरेन्द्रराज पाण्डेले गुरुङलाई अर्थमन्त्री बनाए । पौडेलले आफू पनि मन्त्री बन्न पाउनुपर्ने अडान छोडेनन् । संयोगवश भौतिक मन्त्रालयबाट वनमा हुत्त्याइएका स्वतन्त्र सांसद राजीव गुरुङले राजीनामा दिएपछिको रिक्त मन्त्रालयमा पौडेल नियुक्त भए । तल्लो तहको राजनीति देखि नै पौडेल र गुरुङ पक्षधर प्रतिस्पर्धा लमजुङमा चर्को छ । बिगतमा पौडेल कांग्रेस नेता डा. शेखर कोइराला समूहमा जोडिएको थिए। तर, गण्डकीको मन्त्री बन्ने दौडमा लागेका उनलाई महामन्त्री गगन थापाको समुहमा जोडिए मन्त्री बन्न सजिलो हुने भएपछि उनि हाल गगन थापाको समुहमा सक्रिय रहेको बताइन्छ।

उक्त घटना पछि दुवै प्रदेश मन्त्रीहरु आआफ्नै अडानमा रहेको छन। अर्थमन्त्री समेत रहेका कांग्रेस जिल्ला सभापति टकराजले दुखद घटना भएको तर अधिवेशन चलिरहेको समयमा थाहै नभई हुल हुज्जत गरिएको कारण यस्तो हुन पुगेको बताए। “आइलाग्नेहरुमाथि केहि कार्यकर्ताहरु जाइलागेको मात्रै हो, तर जे भयो, दु:खद भयो ।” उनले भने । घटना हुँदा आफू पार्टी कार्यालयमा छलफलका क्रममा रहेको उनले बताए । दुई नेताबिचको शक्ति सङ्घर्षले गर्दा निम्तिएको घटना होला नि ? भनेर प्रश्न गर्दा गुरुङ भन्छन्, ‘मैले त त्यसरी लिएको छैन । जसलाई चोट लागे पनि कांग्रेसलाई नै लागेको हो । यसमा म दुःखी छु ।’

पार्टीको आन्तरिक विवादका कारण सामान्य घटना हुन पुगेको उनले बताए । ‘म लमजुङमै छु । म पार्टीको सभापति समेत भएका कारण त्यो अधिवेशनमा हुने नै भएँ । प्रतिनिधिबीच विवाद हुँदा सामान्य घटना घटेको हो,’ डा. गुरुङले संचारकर्मीसंग  भने ।

बन मन्त्री रहेका पूर्व सभापति पौडेल भने विवादको समाधान माग्दा हतियार प्रहार गरिएको बताउँछन् । ‘सदस्यता सम्बन्धमा बिबाद भएपछि त्यसको समाधान खोज्दा एक्कासी आक्रमण भएको उनले बताए । सदस्यता नदिंदा र पेलेर एकलौटी गर्न खोज्दा यस्तो घटना भयो,’ उनले भने, ‘पार्टीमा फरक मत देखिए पनि अपराधिक व्यवहार हुन नहुने भन्दै उनले कार्यक्रम स्थलमा हतियार कसरी पुग्यो ? भन्ने प्रश्न समेत गरे।

पौडेलले जिल्ला सभापति टकराज गुरुङको अकर्मन्यताका कारण घटना भएको भन्दै यसमा सभापति नै जिम्मेवार हुनुपर्नेमा जोड दिए । ज्यानै मार्ने मनसायले खुकुरी प्रहार भएको विषय सामान्य भन्न मिल्दैन।  भेषबहादुरले भने, ‘लमजुङमा जुन घटना घट्यो, त्यो निन्दाजनकभन्दा पनि तल्लोस्तरको हो । दोषीमाथि कडा कारबाही होस् ।’ सभापति डा. गुरुङले जिल्लाका हरेक भातृसंगठन कब्जा गर्न खोजेको, प्रतिस्पर्धामा समेत  आउन नदिएको र घटना घटाउन उक्साएको समेत पौडेल समूहको आरोप छ ।

संघसंगठनमा कब्जा गर्ने र त्यसमाथि प्रश्न उठेपछि आक्रमणमा उत्रने काम भएको पौडेलको भनाइ छ । पूर्व योजना अनुसार नै हतियार लागिएको हुन सक्ने अनुमान गर्दै पौडेलले आफ्नै पार्टीको कार्यक्रममा हतियार बर्सिनु दुःखद भएको प्रतिक्रिया दिए।

४ जेष्ठ २०८२, आईतवार १०:३८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा