Play

कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, शनिबार शंकराचार्य सहित साधु सन्त र कलाकार आउने

गुरुकुल खबर


पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । पोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा शनिवार साधु सन्त, कथा व्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय हुने आयोजकको विश्वास छ ।  आयोजकका अनुसार भोलि (शनिवार) ३३ जिल्लाबाट भक्तजन आउने छन् ।

महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले भोलि (शनिवार) मात्रै  एक लाख भक्तहरूले एकै दिन उपस्थिति जनाउने अनुमान गरेको जानकारी दिए । उनका अनुसार शनिवार देशभरबाट सैयौं गाडीबाट कोटिहोममा भक्तजनको आगमन हुन लागेकोले पनि कोटिहोममा भोलि भक्तजनको उपस्थिति उल्लासमय हुने विश्वास लिइएको छ ।

कोटिहोममा शनिवार सुमेरु पीठाधीश्वर जगद्गुरु शंकराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी महाराज र अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर वालसन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वती जी महारज आउने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।उनका अनुसार जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य जेठ ३ गते देखि ५ गते सम्म पोखरामानै रहने कार्यक्रम रहेको छ । उनीहरूले कोटिहोममा प्रवचन गर्नेछन् ।

कोटिहोममा आज चर्चित गायिका एलिना चौहान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए। कोटिहोममा भोलि (शनिवार) देउडा गायक नन्द कृष्ण जोशी, ४ गते भजन गायक रमेश सापकोटा, ५ गते लोकदोहोरी गायक राजु ढकाल,  ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डङ्गोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

कोटिहोममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव श्रीनाथ बरालले पोखरामा सबै खालका पर्यटन भित्राउन कोटिहोमले सहयोग गरेको बताए । ‘सुन्दर नगरी पोखरा पर्यटकीय राजधानीको रुपमा परिचित छ’ उनले भने, ‘कोटिहोमले धार्मिक पर्यटन मात्र नभई सबै खालका पर्यटन प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलको छ ।’ उनले महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीको उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टी साथमै रहेको विश्वास दिलाए । त्यसै गरी खुश्वु ओलीले हिन्दु धर्म सङ्कटमा परेको वेला यति ठुलो महायज्ञ लगाएर धर्मको रक्षा गरेकोमा आभार व्यक्त गरिन् ।

२ जेष्ठ २०८२, शुक्रबार २२:२३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा