पोखरा, पोखरा महानगरपालिका को विभिन्न स्थानबाट करिब १३ तोला सुन र २४ तोला चाँदी सहित करिब ७० लाख मुल्य बराबरको गरगहना चोरी गरेको अभियोगमा कास्की प्रहरीले पांच जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकाको विभिन्न ९ स्थानका घरबाट र तनहुँको तिनवटा स्थानमा उनीहरुले चोरी गरेको जाहेरी प्रहरीमा आएपनि त्यस भन्दा अरु ठाउँमा समेत चोरी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
कास्की प्रहरीका प्रमुख एबम प्रहरी उपरिक्षक श्यामबाबु ओलियाका अनुसार पक्राउ परेकाहरुले सिसिटिभी नभएका र घरमा कोहि नभएको मौका पारेर विभिन्न १२ वटा घरबाट करिब ७० लाख बराबरको गरगहना चोरी गरेका थिए प्रहरी प्रमुख ओलियाका अनुसार चोरीमा संलग्न उक्त समूह एक आपसमा नातेदार समेत रहेको र यस अगाडीपनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रही कारबाही समेत भोगिसकेको हरु समेत रहेका छन।
सुनचाँदी पसलका संचालक, कालिगढ र बिगतमा पनि अपराधिक क्रियाकलापमा संलग्न रहेका र एक आपसमा नातेदारको रुपमा रहेका हरुको संगठित समुहले यस किसिमको चोरी गरेको कास्कीका प्रहरी प्रमुख ओलियाले गुरुकुल खबरलाई जानकारी दिए।
पक्राउ पर्नेहरुमा पोखराको रामबजारमा स्याङ्जा कोल्माकोट सुनचाँदी पसलका सञ्चालक रहेका स्यांग्जाको काल्खु घर भएका दुर्गाबहादुर थापा, तनहुँको शुक्ला गण्डकी- १० शांखे घर भएका २६ बर्षीय कटप्पा भन्ने सुवास विक, शुक्लागण्डकी -१० शांखेका २३ बर्षीय विमल विक, सोहि ठाउँका २२ बर्षीय गणेश सुनार र स्यांग्जा काल्खु घर भई हाल पोखरा -२ बस्ने ३३ बर्षीय सुरेश विक रहेका छन । उनिहरुबाट १२ ताेला ८ लाल सुन र २४ ताेला चाँदीका गहना गरगहना बरामद गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ परेकाहरु मध्ये कटप्पा भन्ने सुभाष बिकले यस अगाडी २०७४ सालमा २० लाख बराबरको धनमाल चोरी गरेको अभियोगमा पक्राउ परि ५ बर्ष कैद र ३ लाख ५० हजार जरिवाना तिरेका थिए। उनि २०७९ जेष्ठमा कतार गएर केहि महिना बसेपछि पुन नेपाल फर्किएर अपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ ।
उनै सुभाषका ठुलो बुवाको छोरा अर्थात भाई नाता पर्ने बिमल बिकलाई पनि सुभाषले नै चोरी कार्यमा संलग्न गराएको बुझिएको छ । विमलले चोरी गर्ने समयमा अन्यलाई मोटर साइकलमा विभिन्न ठाउँमा पुर्याउने काम गर्ने गरेको बुझिएको छ । यसै गरि पक्राउ परेका अर्का व्यक्ति गणेश सुनार पनि सुभाषका नातेदार हुन। उनि दुर्गा बहादुर थापाको सुनचाँदी पसलका कलिगढ़ समेत हुन भने अर्का शुरेश बिक पनि दुर्गाबहादुरको पसलका कालिगढ़ रहेको प्रहरीले जनाएको छ। सुन चाँदी पसलका संचालक दुर्गाबहादुर समेत यस अगाडी २०५७ र २०६४ सालमा सार्बजनिक मुद्धामा र २०८० असारमा चोरीडाँका मुद्धामा पक्राउ परेर सजायं भोगेका व्यक्ति हुन।
उनीहरु विरुद्ध पोखराको विभिन्न स्थानबाट चोरी भएको ६९ लाख ३ हजार २ सय ६० रुपैयाँको जाहेरी दर्ता गरेको प्रहरीले जनाएको छ । अन्य केही जाहेरी आउने क्रम रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका सुवास विकले प्रयोग गर्ने ग २२ प ४९८९ नम्बरको मोटरसाइकल समेत चोरी गरेर प्रयोग गरेको प्रहरीले जनाएको छ । ग २१ प ६७५३ नम्बरको स्कुटर समेत चोरीको लागि प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।