पोखरा, पोखरामा सम्पन्न नवौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडीको उपाधि महिलातर्फ अरुणा शाही र पुरुषतर्फ विश्वास अधिकारीले हात पारेका छन् भने उत्कृष्ट प्रशिक्षक फुटबलका राजेन्द्र तामाङ घोषित भएका छन् । उक्त अवार्ड अन्तर्गत उदीयमान खेलाडीको रुपमा क्रिकेटकी रचना चौधरीलाइ र लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरियो भने उत्कृष्ट पत्रकारको रुपमा बिजय नेपाल सम्मानित भए।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा तामाङलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो । वर्ष उत्कृष्ट प्रशिक्षकमा तामाङसँगै भलिबलका रमेश केसी र टेनिसका निरज थापा पनि मनोनयनमा परेका थिए । वर्ष खेलाडी महिला विधामा आइटिएफ तेक्वान्दो मुआथाईकी सुस्मिता थापा मगर र फेन्सिङकी कृपा गुरुङ मनोनयनमा परेका थिए भने पुरुषतर्फ टेनिसका प्रलिप खड्का र फुटबलका सुमित श्रेष्ठ मनोनयनमा परेका थिए ।
उत्कृष्ट प्रशिक्षक घोषित कास्कीका राजेन्द्र तामाङ फुटबलका उत्कृष्ट प्रशिक्षकको रुपमा चिनिन्छन् । उनी हाल नेपाली महिला राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक हुन् । तामाङ वाफ महिला च्याम्पियनसिप २०२४ मा नेपालका प्रमुख प्रशिक्षकको अनुभव बटुलिसकेका छन् । उनी अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत रहेका प्रशिक्षकहरुको संगठन नेपाल फुटबल प्रशिक्षक संघको अध्यक्ष समेत हुन् ।
त्यस्तै उनले सन २००६ मा सि, सन २०११ मा बि र सन २०१६ मा ए ग्रेडको प्रशिक्षक लाईसेन्स प्राप्त गरिसकेका छन् । साथै तामाङले ०७१/०७२ मा सम्पन्न लिगमा उत्कृष्ट कोचको पुरस्कार पाइसकेका छन् । जापान फुटबल संघबाट सन २०१७ मा सि ग्रेडको इन्सटक्टर कोर्ष पुरा गरिसकेका उनी २०८१ कात्तिकमा सम्पन्न साफ महिला च्याम्पिनसीपमा नेपाली टोलीको मुख्य प्रशिक्षक थिए भने उक्त च्याम्पियनसिपमा नेपाललाई उपबिजेता बनाउन सफल भएका थिए । यस्तै २०८१ फागुनमा सम्पन्न फोर नेसन्स कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाली टोलीको मुख्य प्रशिक्षक रहेका थिए । त्यसैगरि तामाङ मनाङ मस्र्याङ्दी क्लब, थ्रिस्टार क्लब, विभागीय नेपाल एपीएफ क्लबको पुर्व प्रशिक्षक समेत हुन् ।
यसैगरि महिला वर्ष खेलाडी उपाधि बिजेता अरुणा शाही नेपाली महिला भलिबल राष्ट्रिय टिमकी कप्तान हुन् । मुक्तिदान विद्यालयबाट आफ्नो खेल जीवनको सुरु गर्दा उनी मात्र १३ वर्षकी थिइन् । परिवारको बाधाका बिच उनले भलिबललाई नै रोज्दै अघि बढिन् । राष्ट्रिय प्रतियोगिताहरुमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खेल्ने अरुणाले सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने मौका पाएकी थिइन् । त्यसयता नियमित राष्ट्रिय टोलीमा आफ्नो स्थान बनाइराख्न सफल अरुणाले भारतसँगको मैत्रिपूर्ण, साउथ एशियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन, १२ र १३ औं दक्षिण एशियाली खेलकुद (साग) खेल्दै भलिबलमा आफ्नो एकछत्र राज गरिरहेकी छिन् । अहिले उनी एकपछि अर्को सफलतामा रमाइरहेकी छिन् । २०८१ साल उनका लागि अझ स्वर्णिम बन्यो । अन्तर्राष्ट्रिय भलिबल खेल्न थालेको ३७ वर्षको इतिहासमा उनको कप्तानीमा नेपाली महिला टोलीले भारतमाथि निकाल्यो । भने फाइनलमा भारतसँगै पराजित भएर उपविजेता भएको थियो । टाइगर कपमा पनि आयोजक टाइगर ग्रुप पोखराबाट सहभागी बनेर उपाधि जिताएकी थिइन् । त्योभन्दा अघि आठौं एनभिए कपमा एभरेष्ट भलिबल क्लबबाट सहभागी बनेर टिमलाई द्वितिय बनाउन भूमिका खेलिन् । २०८१ सालमै नेपालमै पहिलो पटक भएको महिला भलिबल लिगमा चितवन शक्तिको मार्की खेलाडी थिइन् ।
पुरुषतर्फ वर्ष खेलाडी घोषित विश्वास अधिकारी नवलपुर बौद्धिकाली गाउँपालिका ३ बाझोबारीका उनी २ वर्षअघि मात्रै गण्डकी प्रदेशको टिममा डेब्यु गरे । मिडल ब्लकरको भूमिकामा खेल्दै आएका उनले २०६५ सालमा जन्मिएका विश्वासले श्रीलंकामा भएको काभा यु–२० भलिबल च्याम्पियनसिप खेल्दै रजत पदक हासिल गर्न सफल भएका थिए । उनका लागि राष्ट्रिय टिमबाट खेलेको यो पहिलो खेल समेत हो । उनले प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा समेत उनी पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । ३४ औं राष्ट्रिय मेन्स भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल उनी टोलीमा थिए । आठौं पिएम कप महिला÷ पुरुष भलिबलमा दोस्रो, चौथो टाइगरकपमा दोस्रो समेत भएका थिए । १६ वर्षदेखी भलिबल खेल्न सुरु गरेका उनको पहिलो यात्रा स्थानीय क्लब नयाँछापबाट खेल्दै आएका थिए । त्यो बाहेक प्रदेशस्तरीय र पालिका स्तरीय खेलमा उनले प्राप्त गरेका पदकहरु पनि धेरै छन् ।
वर्ष उत्कृष्ट प्रशिक्षक तामाङलाई नगद ३५ हजार रूपैयाँको साथमा अवार्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । उनलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, मुक्तिनाथ विकाश बैंक गण्डकीका प्रमुख रसिक भण्डारी, टाइगर ग्रुप अफ पोखराका सचिव डिबी नेपालीलगायतले नगद, प्रमाणपत्र र अवार्ड अर्पण गरेका थिए । उत्कृष्ट महिला खेलाडी र पुरुष खेलाडी दुवैलाई छनोट समितिको सिफारिसमा वर्ष खेलाडीस्वरुप टेलजी इलेक्ट्रिक स्कुटर साथमा अवार्ड प्रदान गरियो ।
त्यस्तै मञ्चले लाइफटाइम अचिभेमन्ट अवार्डबाट शुटिङकी प्रशिक्षक भगवती खत्री केसीलाई सम्मान गरेको छ । उनलाई चाँदीको करुवासहित अवार्ड प्रदान गरिएको मञ्चका सचिव एवं अवार्ड कार्यक्रमका प्रचारप्रसार संयोजक राजु गिरीले बताए ।
उदीयमान खेलाडीतर्फ क्रिकेटकी रचना चौधरी उत्कृष्ट बनीन् । सो विधामा भलिबलका जितबहादुर सार्की र एथ्लेटिक्सका बादल कार्की समेत उपाधि होडमा थिए। उत्कृष्ट खेल संस्थाको अवार्ड म्याग्दी जिल्ला भलिबल संघले प्राप्त ग¥योभने वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड बिजय नेपालले पाए । उनीहरूलाई ३५ हजारसहित अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा खेलकुद मन्त्री बिन्दु कुमार थापाले स्वास्थ्य रहनको लागि खेलकुदको ठुलो महत्व रहेको बताए । साथै पर्यटन प्रवर्धनका लागि पनि खेलकुदको योगदान रहेको उनको भनाई थियो ।
त्यस्तै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले खेल र खेलाडीका लागि गरिने यस्ता कार्यक्रमलाई सहकार्य गर्न तयार रहेको बताए । साथै खेलाडीको राष्ट्रप्रतिको योगदानलाई सम्मान व्यक्त गरे ।
त्यसैगरि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले राज्यले आयोजना गर्नुपर्ने कार्य मञ्चले गरेको हुँदा निकै सह्रानिय कार्य भएको बताए । यस्ता कार्यक्रमले खेलाडीलाई प्रोत्साहन मिल्ने उनको भनाई थियो ।
त्यस्तै मञ्चका अध्यक्ष एमबि आस्था मगरले खेलकुद पत्रकारिता गर्नु भनेको समर्पण, धैर्य र इच्छाशक्तिको गहिरो परीक्षण रहेको बताए । ‘यस्ता चुनौतीबीच पनि हामीले सत्य, निष्पक्ष र तथ्यमा आधारित समाचार दिन निरन्तर प्रयास गरिरहेका छौं । र यस्ता अवार्डहरूले हाम्रो प्रेरणामा थप ऊर्जा थप्ने काम गरेका छन् ।’ –उनले भने ।
खेलाडी तथा खेल क्षेत्रमा क्रियाशीललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड गर्दै आइरहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्थाको रुपमा स्थापित छ ।