पोखरा, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटमा उनले सत्तासाझेदारीमा दुवै दलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको स्पष्ट पारे ।
सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले थपे, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ, अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’ उहाँले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरुचाएको दाबी गरे ।
लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यम हुने गरेका दृष्टान्त प्रस्तुत गरे । मुलुकमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरता कायम रहेको देखिएको बताउँदै उनले वर्तमान संविधानलाई पनि निष्क्रिय हुन नदिइने प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री लेखकले कमीकमजोरीबाट सिक्ने र पुनः त्यस्तो हुन नदिनेतर्फ सबै सचेत रहनुपर्ने विचार राखे । आमाका नामबाट नागरिकता प्रमाणपत्र जारी गर्नेसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइसकेको बताउँदै उनले यो समस्या चाँडै नै समाधान हुने विश्वास दिलाए ।
फरक प्रसंगमा उहाँले गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको स्पष्ट गर्दै उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गरिने जनाए । शिक्षकका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनले सुनाए ।