पोखरा, नेपालको पर्यटकीय राजधानीको रुपमा रहेको पोखरामा संचालित २० औं फेवा नव वर्ष महोत्सव २०८२ सम्पन्न भएको छ। महोत्सबमा पोखरा भित्र र बाहिरबाट उल्लेखनीय संख्यामा पर्यटकहरुको आगमन भएको महोत्सब आयोजक पोखरा होटल संघले जनाएको छ। नेपाली नयाँ बर्षको अवसर पारेर बिगतका वर्षहरुमा जस्तै यस बर्षपनि महोत्सब आयोजना गरिएको थियो। महोत्सबको कारण र नयाँ बर्ष मनाउन समेत विभिन्न स्थानबाट पोखरामा पर्यटकहरुको आगमन भएकोले पोखराका सबैजसो होटलहरुमा पाहुना भरिभराउ जस्तै थिए ।
महोत्सब अन्तर्गत आइतबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा लन्डनबाट आएका साम प्रथम भएका छन् । युके, रसिया र अमेरिकाका क्रमशः लियो, डेनिस र युसेफले द्वितीय, तृतीय र सान्त्वना स्थान हाँसिल गरे । महिला तर्फको छुट्टै मूल्यांकनमा फ्रान्सकी कोलिन प्रथम भइन् । फ्रान्सकी एलिजा द्वितीय भइन् भने रसियाकी मारिया तृतीय भइन् । चीनकी फ्लोराले सान्त्वना स्थान हाँसिल गरिन् । प्रतियोगितामा प्रथम हुनेले हाइ ग्राउन्ड एड्भेञ्चरबाट प्रदान गरिने बञ्जी सुविधा पाएका छन् । मायाको चिनो, प्रमाणपत्र, सिइङ हेन्ड्स ब्लाइन्ड मसाज क्लिनिकबाट मसाज सेवा र ब्यञ्जन रेन्टुरेन्टबाट खाना पनि उनीहरुले पाएका छन् ।
द्वितीय हुनेले हाइग्राउन्डबाट प्रदान गरिने एटिभी सेवा प्राप्त गरे । एटिभी चार पांग्रे विशेष खालको सवारीमा गरिने सहासिक यात्रा हो । यसैगरी सिइङ हेन्डबाट ५० प्रतिशत शुल्क छुटसहितको मसाज र ब्यञ्जनमा खाना सुविधा पनि उनीहरुले पाउने छन् । तृतीय हुनेले हाइग्राउन्डबाट जिपलाइन सेवा, सिइङ हेन्डबाट २५ प्रतिशत शुल्क छुटसहितको मसाज सेवा र व्यञ्जनमा खाना पनि पाउने छन् । सान्त्वना स्थान प्राप्त गर्नेले हाइग्राउन्डबाट स्वीङ सेवा लिने छन् । निःशुल्क टिसट, अन्नपूर्ण केवल कार र सिइङ हेण्डबाट ५० प्रतिशत छुटमा मसाज सेवा सहभागीले पाएका छन् ।
खहरे र अम्बोट विचको दुई किलोमिटर लामो सडकमा रन फर फन नाम दिएर आयोजित दौडमा १८ देशका ५५ पर्यटकले भाग लिएको प्रतियोगिता संयोजक हेमराज पहारीले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मण सुवेदीले सहभागी पर्यटकलाई धन्यवाद दिंदै प्रतियोगिताले पोखराको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए । महोत्सव अन्तर्गत शनिबारको तालिकामा संस्थागत ब्याडमिन्टन प्रतियोगिता, दोहोरी गीतका कार्यक्रम, लाइभ ब्यान्ड, नृत्य, डिजे तथा विविध सांस्कृतिक कार्यक्रम रहेका थिए ।
यस अगाडी पोखराको लेकसाइडमा शुरु भएको फेवा नव वर्ष महोत्सवको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । उद्घाटन पुर्ब खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितको विशाल झाँकी र र्याली सभास्थलमा पुगेको थियो । पञ्चेबाजा, भजन, रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण रहेका थिए । महोत्सवमा यस पटक भक्तपुरको बिस्केट जात्रा विशेष आकर्षण बनेको थियो ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेको र महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरेको बताउंदै संघका अध्यक्ष लक्ष्मण सुबेदीले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको जानकारी दिए । महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए । महानगर प्रमुख आचार्यले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसाबले उत्कृष्ट रहेको बताउँदै यस्तो विशिष्टतालाई अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको बताए । पोखराको यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनको भनाइ छ ।
पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले पोखराको नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे । पोखरामा जलन अस्पताल निर्माणका लागि कोरियाली सहयोगमा प्रारम्भिक काम अगाडि बढेको जानकारी पनि उनले दिए ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए । उनले पोखरामा पर्यटन सम्वन्धि लगानी र ब्रान्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए । होटल संघ नेपालका केन्द्रीय सदस्य भरतराज पराजुलीले फेवा तालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जलगतिविधि सञ्चालन गर्न सकिने सुझाए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला सञ्जाल पोखरा – ६ कि अध्यक्ष बबिता मल्लले पनि आआफ्नो भनाई राखेका थिए ।
सम्बन्धित समाचार ..
पोखरामा फेवा नवबर्ष महोत्सबको तयारी पुरा, शनिबारबाट महोत्सब शुरु हुने
पोखरामा फेवा महोत्सबको तयारीमा तिब्रता, होटलले बिस प्रतिशत र अन्य प्रतिष्ठानले पनि छुट दिने