- गंगाधर पराजुली / पोखरा
राजसंस्था पुनस्थापनाको लागि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्ने भनेका राजाका समर्थकहरुको शुक्रबारको प्रदर्शनले उग्ररुप लिनुको साथै अराजक र हिंसात्मक बन्न पुग्यो। जसका कारण केहीको मृत्यु, दर्जनौं घाइते र सार्बजनिक एबम निजि सम्पत्तिमा आगजनी र तोडफोड हुँदा ठुलो क्षती हुनपुगेको छ । आन्दोलन उग्र र अराजक बनेपछि स्थितिलाई नियन्त्रण लिन काठमाडौँमा स्थानीय प्रशासनले निषेधाज्ञा अर्थात कर्फ्यु नै लागू गर्नुपरेको छ ।
शुक्रबार काठमाडौँमा राजाबादी र गणतन्त्रबादीको नामबाट दुई छुट्टाछुट्टै स्थानमा प्रदर्शनको आयोजना गरिएको थियो। स्थानीय प्रशासनले राजावादीहरूलाई काठमाडौँको तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने स्थान तोकेको थियो भने समाजवादी मोर्चाको कार्यक्रमको लागि भृकुटीमण्डपलाई स्थान तय गरिएको थियो। मोर्चाको कार्यक्रममा शान्तिपूर्ण रूपमा सम्पन्न हुँदा राजावादीहरू भने सुरुदेखि नै निषेधित क्षेत्र उल्लङ्घन गरेर नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेका कारण तनाबग्रस्त बन्न पुगेको थियो ।
राजा समर्थकहरुको शुक्रबारको कार्यक्रम दुर्गा प्रसाईं नेतृत्वमा आव्हान गरिएको भएपनि राप्रपा लगायतका दलको समर्थन रहेको थियो । राजावादीहरूको आन्दोलनका कमान्डर बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आफैँले गाडी चलाएर प्रहरीको निषेधित क्षेत्र तोडेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको मात्र छैन कि सोहि भिडियोका कारण शान्तिपूर्ण प्रदर्शनमा आएका प्रदर्शनकारी उत्तेजित बनेको बताईन्छ ।
उक्त भिडियोमा उनले आँफै गाडी चलाएर प्रदर्शन भैरहेको ठाउँबाट अघि बढेर प्रहरीको घेरामा समेत जबर्जस्ती गाडी चलाएर निषेधित क्षेत्र तोडेको देखिन्छ भने उनी आफैले पनि प्रदर्शनमा सहभागी बनेकाहरुलाई उक्साएर प्रहरीको घेरा तोड्न आग्रह गरिरहेको पनि भिडियोमा देखिन्छ ।
तीनकुनेदेखि नै प्रसाईंले गाडी हुइँक्याउँदै आएका थिए। गाडी प्रसाईं आँफैले चलाएका थिए । गाडीको पछाडी प्रदर्शनकारीहरू बसेका थिए।निषेधित घेरा तोडेर बानेश्वरतिर अघि बढ्न खोजेपछि प्रहरीले उनको गाडी रोकेको थियो। गाडी केहीबेर रोकियो तर त्यसपछि प्रहरीलाई पेलेर अघि बढ्यो। अलि अगाडि फेरि अर्को प्रहरीको घेरा थियो। त्यसलाई पनि प्रसाईंले पेलेर अघि हुइँकेर गएका थिए। प्रदर्शनकारीहरू पनि प्रसाईंसँगै अघि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास हानेको थियो र त्यसपछि प्रदर्शनले उग्ररुप लिन पुगेको हो ।
यसैगरी राप्रपाका केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रले पनि प्रदर्शनकारीहरुलाई ‘के हेरेर बसेको ? यता आऔँ ।’ भन्दै चिच्याएर प्रहरीको घेरा तोड्न प्रोत्साहित गरेको भिडियो मिश्रले नै पोस्ट गरेको छन उनले पनि प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साइरहेको भिडियोमा देखिन्छ । उनले सामाजिक सञ्जालमा थप चेतावनी दिँदै लेखेका छन्, ‘आन्दोलन रोकिएको छैन ।’
आन्दोलनका कमान्डरकै रुपमा रहेका प्रसाईं र मिश्रले आन्दोलनका क्रममा कुनै द्वन्द वा झडपको अबस्था आएमा प्रदर्शंकारी र प्रहरी दुबैतिर समन्वय गरेर आन्दोलनलाई हिंसात्मक हुन नदिन पहल गर्नुपर्नेमा दुवै नेताले प्रदर्शनकारीलाइ उक्साउने र प्रहरीको मनोबल कमजोर बनाउन प्रयास गर्नुले प्रदर्शनलाई नेतृत्वतहबाट नै हिंसात्मक बनाउने प्रयास भएको भन्नेहरु प्रशस्त छन।
हुन त, कतिपयले आन्दोलनकारीलाई दमन गर्न र दबाउनको लागि व्यक्तिको घर भित्र हतियारधारी प्रहरीलाई लुकाएर राखिएको र त्यहाबाट नै प्रदर्शनकारीहरुमाथि अश्रु ग्यास प्रहार गरिएको कारण प्रदर्शनकारीहरु उत्तेजित र उग्र बनेर तोडफोड र आगजनीमा उत्रिन बाध्य भएको भन्नेहरुको संख्या पनि कम छैन ।
आन्दोलन हिंसात्मक बन्नुको पछाडी धेरै कारण रहेपनि प्रसाईं र मिश्र समेतको गतिबिधिका कारण बिग्रिएको अवस्था त्यसपछि झनै तनावग्रस्त बन्न पुगेको थियो । निषेधित क्षेत्र तोड्न नदिएको आक्रोशमा प्रदर्शनकारीहरूले विभिन्न भौतिक संरचना तोडफोड गर्ने, आगजनी गर्ने र लुटपाट गर्नेतर्फ लागे । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन सुरुमा लाठी प्रहार, अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन सकेन । बरु प्रदर्शनकारीहरू थप अराजक बन्दै व्यक्तिका घर, सरकारी तथा निजी घर गाडी, प्रहरी विट, पार्टी कार्यालयलाई निशानामा पारेर आक्रमण र तोडफोडमा उत्रिए ।
एक पत्रकार सहित दुईजनाको मृत्यु
प्रदर्शनकारीहरुले घरमा आगजनी गरेको कारण सोहि घरको माथिल्लो तलामा बसेर भिडियो खिच्दै गरेका एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यका अनुसार तीनकुनेस्थित एउटा घरको चौथो तलामा जलेको अवस्थामा ति पत्रकारको शव भेटिएको थियो।
पत्रकार रजक दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनको दृश्य खिच्न तीनकुनेमा गएका हुन् ।
यसैगरी काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनमा एकजनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका–४ घर भएका सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
कान्तिपुर टिभी र अन्नपूर्ण पोष्टको कार्यालय संगै जडिबुटी प्रशोधन कार्यालयमा तोडफोड, आठवटा गाडीमा आगजनी
राजावादीहरूको आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले कान्तिपुर तेलेभिजनको भवन, अन्नपूर्ण पोस्टको कार्यालय भवन, सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयसहित कोटेश्वस्थित प्रहरी विट लगायतका संरचना तोडफोड गर्नुका साथै कतिपयमा आगजनी समेत गरिदिए । जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रको कार्यालयमा समेत राजावादीहरूले आगजनी गर्नुको साथै उक्त कार्यालयका आठवटा गाडी जलाइदिएका छन ।
प्रदर्शनमा उत्रिएकाहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको ८ वटा गाडीमा आजगनी गरेका छन् । गृह मन्त्रालयका सहसचिव छवि रिजालले कम्पनीको कार्यालयमा परिसरमा ८ वटा सवारीमा आगजनी गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिए । प्रदर्शनकारीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा पनि आगजनी गरेको जानकारी रिजालले पत्रकारहरु समक्ष दिएका थिए।
प्रदर्शनकारी र सुरक्षाकर्मी गरि दर्जनौं घाइते
प्रदर्शनकारीहरू तोडफोड र आगजनीमा उत्रिएपछि तीनकुनेमा गर्ने भनिएको सभा छाडेर हिँडेका थिए । प्रदर्शनकारी र आन्दोलनकारीको झडपमा परी प्रहरी र आन्दोलनकारीहरू दुवै तर्फ केहि घाइते भएका छन् । प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार प्रदर्शनकारीको आक्रमणमा परि करिब २० जना सुरक्षाकर्मीहरु घाइते भएका छन।
उक्त तिनकुने क्षेत्रमा भएको प्रदर्शन र झडपमा परेर घाइते भएका ३३ जनाको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । तर प्रदर्शनका क्रममा भएको झडपमा परि घाइते हुनेहरुको एकिन विवरण भने प्राप्त हुन सकेको छैन। “शुक्रबार आन्दोलनमा घाइते भएको यकिन विवरण आइसकेको छैन। तर, ३३ जना घाइतेको उपचार उक्त अस्पतालमा भइरहेको अस्पताल प्रशासनले जनाएको छ।
प्रशासन प्रमुख नारायणप्रसाद दाहालका अनुसार घाइते भएका सबैलाई नि:शुल्क उपचार गरिने बताइए पनि औषधि र औषधिजन्य सामग्री भने सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने पनि बुझिएको छ।
एकीकृत समाजबादीको कार्यालयमा तोडफोड र आगजनी
आलोक नगरमा रहेको नेकपा एकीकृत समाजवादीको कार्यालयका कागजपत्र तथा फर्निचरहरू बाहिर निकालेर जलाउनुका साथै कार्यालय भवनमै आगो लगाएका छन् । सरकारले सुरक्षा प्रदान गर्न नसकेको कारण नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा आक्रमण, तोडफोड र आगजनी भएको उक्त पार्टीका महासचिब घनश्याम भुषालले बताएका छन ।
राजावादीहरुले प्रदर्शनका क्रममा एकीकृत समाजबादीको कार्यालय जलाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव भुसालले अराजक पश्चगामी तत्वहरु प्रवेशगरी तोडफोड गर्नुका साथै कागजात र फर्निचर जलाएको जानकारी दिए । उनले सुरक्षाका लागि सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुरक्षा दिन नसकेको भन्दै सरकारको लापरवाहीका कारण उक्त घटना भएको दाबी गरे ।
राजावादीको ढुङ्गा प्रहारका कारण तीनकुने र कोटेश्वर क्षेत्रमा व्यक्तिका दर्जनौँ निजी घरमा तोडफोड भएको र घरका सिसा फुटेका छन् ।
रास्वपाका प्रमुख सचेतक परियार चढेको सरकारी गाडीमा आगजनी
प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार चढेको गाडी पनि जलाइदिएका छन । संसदको काम कारबाही सकेर घर फर्कने क्रममा बालकुमारी पुगेको बेला राजावादीहरुले उनि चढेको सरकारी गाडी जलाएका हुन ।
भक्तपुरस्थित घर फर्किँदै गर्दा बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर गाडी जलाइ दिएको परियारले संचारकर्मीहरुलाई जानकारी दिए । उनले कफ्यु छली भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै गर्दा आन्दोलनकारीहरुले परियार चढेको १३८२ नम्बरको गाडी रोकेर जलाई दिएका हुन् ।
साँझ सवा ४ बजेपछि कर्फ्यु, सडकमा नेपाली सेना
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था फाल्ने र राजा फर्काउने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको राजावादी समूहको शुक्रवारको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौँ प्रशासनले शुक्रवार सवा ४ः २५ बजेबाट गौशाला, तीनकुने, गैरीधारा, कोटेश्वर, जडीबुटी बालकुमारी, शंखमुल, पुरानो वानेश्वर र नयाँ बानेश्वर आसपास निषेधाज्ञा लगाएको छ । निषेधाज्ञा लगाएपछि काठमाडौँको सडकमा सेनाको परिचालन समेत गरिएको छ ।
सरकारले पूर्वानुमान गर्न नसक्दा धनजनको क्षति
राजावादीको प्रदर्शन उग्र बनेपछि शुक्रवार अपराह्न गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृह सचिव सहित सुरक्षा निकायका टोली सहभागी समेतको बैठकले थप सुरक्षा रणनीति तय गर्ने बुझिएको छ । सुरक्षा विज्ञ डा.इन्द्र अधिकारले राजावादीहरूको आन्दोलनबारे सरकारले पूर्वानुमान नै गर्न नसक्दा राजावादीहरूले आफ्नो चरित्र प्रदर्शन गर्दै भौतिक क्षतितर्फ उन्मुख भएको बताइन् । सरकारले राजावादीको आन्दोलन यो हदसम्म जाला भन्ने अनुमान नै गर्न नसकेकाले क्षति हुन पुगेको अधिकारीको भनाइ छ ।
‘खासगरी राजावादीहरूको चरित्र नै त्यही हो, तर सरकारले त्यो अनुमान गर्न सकेन’, अधिकारीले भनिन्, ‘किनभने राजनीतिक दल र नागरिक समूहहरुले पछिल्लो समय जसरी आन्दोलन गरिरहेका छन् उनीहरू अधिकारको मागसहित आफ्नो कर्तव्यबाट पनि च्युत नभएको अवस्था छ।’ राजनीतिक दलहरूको आन्दोलन सङ्गठित र अनुशासित भएको अवस्थामा सरकारले राजावादीको आन्दोलन पनि त्यही किसिमको होला भन्ने अनुमान गरेको हुनसक्ने अधिकारीको तर्क छ ।
तस्बिर – विभिन्न संचार माध्यम र सामाजिक संजाल