पोखरा, धेरै बिद्यार्थी संख्या रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनिंयनको निर्वाचन आज आइतबार हुँदैछ । चैत्र ५ गते हुनुपर्ने मतदान कार्य मतपत्रमा केहि गल्ति देखिए पछि बिद्यार्थीहरुको बिरोधका कारण स्थगित हुन पुगेको थियो। त्यसपछि चैत ६ गते गर्ने भनिएको मतदान पनि बिद्यार्थी सङ्गठनहरु बीच सहमति नहुँदा रोकिएको भयपनि केही विद्यार्थी संगठन बीच सहमति गरी चैत्र १० गतेका लागि मतदानको मिति निर्वाचन समितिले तय गरेको हो ।
पृथ्वीनारायाण क्याम्पसको स्ववियुको अध्यक्षका लागि ८ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुँदै छ। जसमध्ये कमल सुवेदी र विप्लवी न्यौपाने दुई जना स्वतन्त्र रुपमा उमेद्वार बनेका छन् भने बाँकी छ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् । जसअनुसार एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् । पृथ्वीनारायण क्याम्पसमा १६ बर्ष पछि हुन लागेको निर्बाचनमा ९ हजार २ सय ७० मतदाताले मताधिकार प्रयोग गर्न पाउने छन्।
समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न गर्न गठित निर्बाचन समितिका संयोजक प्राडा रामचन्द्र पोखरेलले मतदान शान्तिपूर्ण ढंगबाट अगाडी बढेको जानकारी दिए ।
यसपटकको स्ववियु निर्बाचनमा नेविसंघका उमेद्वारहरु बिगतको भन्दा बढी उत्साहित बनेका छन। लामो समयदेखि एमाले सम्बद्ध अनेरास्ववियुको गढको रुपमा परिचित पृथ्वीनारायण क्याम्पसमा यस पटक नेविसंघका बिद्यार्थीहरुबीचमा एकता देखिएको र मतदाता बिद्यार्थीहरुले समेत नेतृत्वमा परिबर्तन चाहेकोले मात्र नभएर चुनाबी माहोल नेविसंघको पक्षमा देखिएको कारण आफुहरुले जित्ने दाबि नेविसंघबाट अध्यक्षका उमेद्वार शुशील नेउपानेको रहेको छ। तर अनेरास्ववियुका नेताहरु भने आफुहरुको विजयमा कुनै शंका नरहेको दाबि गर्छन।
आइतबार बिहान गुरुकुल खबरसंग कुरा गर्दै डा. पोखरेलले भनेका थिए ‘आवश्यक तयारी पूरा भइसकेको छ । कुनै बाधा, अवरोध छैन । सबै मतदान केन्द्र तयार भइसक्यो,’ उनले भने । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेको उनले बताए । उनीहरुले मतदान हुने दिन बिहान ८ देखि ५ बजेसम्म मतदान गर्ने छन् । क्याम्पसले निर्वाचन दिन पोखरा १ र ११ जोड्ने झोलुंगे पुल पनि बन्द गर्ने सूचना प्रकाशित गरेको छ ।