पोखरा, पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी कपिल गिरि २५ हजार रुपैया घुस लिएको आरोपमा बिहिबार दिउँसो पक्राउ परेका छन। पोखरा महानगर पालिकामा कार्यरत अर्का एक कर्मचारीसंग एक लाख रुपैया घुस मागेका उनले पहिलो पटक २५ हजार रुपैया लिएको बुझिएको छ उनि महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत थिए । उनलाई पोखरा महानगरपालिकाको कार्यालयको अगाडी पट्टी बाहिरबाट पक्राउ गरिएको थियो ।
स्याङ्जा घर भएका गिरी यसअघि पुतलीबजार नगपालिकामा कार्यरत थिए ।उनि नेकपा एमाले सम्बद्ध निजामती कर्मचारी संगठनका नेता मानिन्छन। उनको बढुवा भएपछि पोखरा महानगरपालिकामा पोस्टिङ भएको थियो। केहि समय पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा काम गरेका उनलाई केहि समय अगाडी पोखरा महानगरपालिकाको न्युरोड स्थित कार्यालयमा सरुवा गरि उजुरी सुन्ने अधिकारीको जिम्मेवारी दिईएको थियो ।
महानगरका विषयमा अख्तियारमा परेका उजुरी फछ्र्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै पोखरा महानगरपालिकाको वडा नम्बर १ , ३ र ३० हेर्ने अमिनसंग एक लाख रुपैयाँ घुस मागेको अख्तियारले जनाएको छ । आफूविरुद्ध अख्तियारमा उजुरी परेको खबरले अत्तालिएका ती अमिनले आफूसंग त्यति ठुलो रकम नभएको भन्दै गिरीसंग गरेको टेलिफोन वार्ताको रेकर्ड पनि अख्तियारले प्राप्त गरेको बताइएको छ ।
गिरी यसअघि पुतलीबजार नगरपालिका वडा नम्बर २ मा कार्यरत हुँदा पनि अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गर्न खोजेको थियो । तर त्यति बेला उनको साथबाट घुस रकम फेला नपरे पछि उनी कारबाहीबाट बचेका थिए । पुतलीबजार- २ मा रहँदा नै बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएर आएका थिए र उनलाई महानगरले पोखरा- १७ मा खटाएको बताइएको छ । त्यहाँ पनि बिबादित बनेका उनलाई पोखरा महानगरपालिकाको कार्यालयमा तानिएको थियो । वडा नम्बर १७ मा बिबादित भएर महानगरको कार्यालयमा तानिएका उनलाई महानगरपालिकाले भनेउजुरी फछ्र्यौट शाखामा जिम्मेवारी दिएको बताइएको छ ।
उनले अर्का कर्मचारीलाई तिम्रो अख्तियारमा उजुरी परेको छ, मैले मिलाइदिन्छु भनि १ लाख रुपैयाँ घुस मागेको तर २५ हजार रुपैया सहित उनी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रवक्ता राकेश पाण्डेले जनाए । अख्तियारले सोधेका प्रष्टीकरण वा प्रश्नहरुको जवाफ पठाउने जिम्ममेवारीमा रहेका गिरिले महानगरकै अर्का कर्मचारीसँग ‘तिम्रोविरुद्ध अख्तियारमा उजुरी परेको छ म मिलाइदिन्छु’ भनी घुस मागेको बुझिएको छ ।
महानगरपालिका कार्यालयभन्दा बाहिर अख्तियारका कर्मचारीले गिरीलाई पक्रेका हुन् । गिरीले आफू निर्दोष रहेको दाबी गरेका छन् । आफूलाई फसाउन प्रपञ्च रचिएको उनले अख्तियारको टोलीसँग बताएका थिए ।
दिउँसोको समयमा नयाँसडक क्षेत्रमा अख्तियारको टोलि सहित प्रहरीले पक्राउ गरेर सर्जमिन मुचुल्का गर्दा ठुलो संख्यामा सर्बसाधारणले गिरिलाई प्रत्यक्ष देख्न पाएका थिए। भने कतिपय व्यक्ति र संचारमाध्यमले सामाजिक संजालबाट भिडियो प्रशारण गरेका थिए। गिरीले अख्तियारको टोलीसंग सामान्य सोधपुछ गर्ने क्रममा पनि हेल्मेट लगाएर आफ्नो अनुहार लुकाउने प्रयास गरेका थिए तर पछि उनले लगाएको हेल्मेट समेत खोल्न लगाईएको थियो।