पोखरा, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्दै देश र जनताका निम्ति ‘हामी’ले अझै थुप्रै गर्न बाँकी रहेको बताएका छन। पोखरा महानगरपालिका -१८ सराङकोटमा शनिबार सराङकोट धामको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको र अब मुलुकको आर्थिक विकास गर्नुपर्ने आबश्यकता रहेको स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायनलाई ठूलो चिन्ताको विषयको रुपमा चित्रण गर्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गम्भीर बन्न आग्रह गरे । ‘यो पवित्रस्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस्’ उनले भने। कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने कुरामा उनले जोड दिए ।
हेलीकप्टर मार्फत काठमाण्डौंबाट सिधै सराङकोट पुगेका पौडेलले उहाँले सराङकोट टपमा निर्माण भएका विशाल पञ्चमुखि गणेश मुर्ति, कैलाशेश्वर शिव मन्दिर, १०८ शिवलिङग तथा जलधारा, ऐतिहासिक भूमेकालिका तथा भैरव मन्दिर सहितका धार्मिक संरचना एवम् त्यहाँ जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवको विधिपूर्वक पुजाअर्चना गरी उद्घाटन गरेका थिए।
त्यस अवसरमा राष्ट्रपति पौडेलले जीवनमा एक पटक पुग्नैपर्ने धामका रुपमा सराङकोटलाई चिनाउदै निर्माण भएका संरचनाको उद्घाटन गर्न पाउदाँ आफूलाई सुखानुभूति भएको बताए । पोखरा महानगरपालिकाद्वारा घोषित पोखरा भ्रमण वर्ष – २०२५ ले समग्र नेपालकै पर्यटन प्रबर्द्दनमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा राष्ट्रपति पौडेलले गरे।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सराङकोट धामको एकीकृत विकासमा जोड दिंदै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको उल्लेख्य भूमिका रहेको बताए । पोखरेलीले पर्यटकको आतिथ्यताका लागि आर्जन गरेको ज्ञान, सीप तथा क्षमता राज्यकै लागि अनुकरणीय रहेको बताउंदै मन्त्री पाण्डेले ज्ञान, सीप तथा क्षमतालाई देशैभर विस्तार गर्नुपर्ने धारणा राख्नुभयो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटन विकासमा गण्डकीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राष्ट्रपतिबाट सराङकोट धामको उद्घाटन हुनु प्रदेशकै लागि गौरवको विषय भएको जनाए ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोटलाई पोखरा दृष्यावलोकन स्थलको रुपमा चित्रण गर्दै विकास साझेदार संस्थाहरुको पनि प्राथमिकतामा पोखरा पर्दै गएको सुनाए।
त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना लगायतले आआफ्नो भनाई राखेका थिए।
कार्यक्रममा सराङकोटको बिकासमा महत्वपूर्ण सहयोग गरेको भन्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, भागवत् भाष्कर पण्डित कमलनयन गौतम, रियल स्टेट प्रा.लिका अध्यक्ष कालु गुरुङ, सूर्यप्रेम बहुउद्देश्यीय समाज सेवा ट्रष्ट, संस्थापक अध्यक्ष स्वः लोकबहादुर थापा, इञ्जिनियरद्वय गंगासागर प्रजापति र विश्वदिप शर्मा, हिलटेक कम्पनीका कमल जैन, गुरुयोजना निर्माण संयोजक पशुपति सुवेदी तथा अन्नपूर्ण केबलकारका महाप्रवन्धक दिनेश पौडेललाई कदर पत्रले सम्मान गरिएको थियो ।