Play

वहसमा कालीगण्डकी डाइभर्सन : महाकुम्भ मेलाबाट पाठ सिक्ने कि ?

गुरुकुल खबर


  • डम्बर अधिकारी / तनहुँ 

सरकारले एक दशक अगाडि देखि नीति तथा कार्यक्रम र बजेटमा कालिगण्डकी –डाइभर्सनको योजना अगाडि सारेसँगैै कालीगण्डकी डाइभर्सनको मुद्धा चर्को रुपमा उठ्न पुगेको छ । त्यसमा पनि वि.स.२०७८ असार १२ गते तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले बुटवलमा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजनाको कार्यालय स्थापना गरेपछि त कालीगण्डकी डाइभर्सनको विषयमा गण्डकी र लुम्बिनी प्रदेशबीच डाइभर्सन गर्न हुने र नहुने विषयलाई लिएर जुहारी नै चल्न पुग्यो ।

जुहारी यतिसम्म चल्न पुग्यो कि पौडेलले डाइभर्सन बनाउन सबैलाई मनाउने जिकिर गर्दा गण्डकी प्रदेशका तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिष्णु, ब्रम्हा वा महेश्वर ल्याए पनि कालीगण्डकी डाइभर्सन सम्भव नभएको जवाफ फर्काएका थिए ।

त्यस्तै एमालेका अर्का नेता किरण गुरुङले समेत शीर क्षेदन होस् तर डाइभर्सन हुँदैन भन्ने खालको कडा जवाफ फर्काएका थिए ।

नेपाली कांग्रेसका नेता शंकर भण्डारीले वैदिक सनातन हिन्दू धर्म सस्कृति नामेट पार्ने उदेश्यले अगाडि बढाइएको कालीगण्डकी डाइभर्सन कुनैपनि हालतमा स्वीकार्य नहुने बताएका थिए ।

तत्कालिन समयमा कालीगण्डकी डाइभर्सनका विषयमा राजनीतिक तबरबाट मात्र नभई आमनागरिकको तर्फबाट समेत कडा आपत्ति जनाउने कार्य भएको थियो । जुन मुद्धाका विषयमा आज पनि गण्डकी र लुम्बिनी प्रदेशका बीचमा विवाद जारी रहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशको बीच भाग भएर बग्ने कालीगण्डकी नदीलाई स्याङजाको गल्याङ नगरपालिकाको वडा नं १ मालुङगा र पाल्पाको रम्भा गाउँपालिका वडा नं – ३ पिपलडाँडा हुँदै तिनाउ झार्ने र सिचाई गर्ने लक्ष्य राखिएको छ ।

डाइभर्सनको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख भए अनुसार कालीगण्डकी तिनाउ डाइभर्सन मार्फत १ सय ४० मेगावट विद्युत उत्पादन तथा कपिलबस्तु र रुपन्देहीको ६३ हजार हेक्टर जमिनमा सिचाई गर्ने लक्ष्य राखिएको छ । सरसर्ती रुपमा हेर्दा खेर गैरहेको कालीगण्डकी नदीको पानी डाइभर्सन गरेको खण्डमा विद्युतीकरण र हजारौं हेक्टर सुख्खा जमिनमा सिचाई सुविधा उपलब्ध गराउने विषय अत्यन्त सकारात्मक हुने अनुमान गर्न सकिन्छ । तसर्थ सरकारले अगाडि सारेको डाइभर्सनको बहुउदेश्यीय आयोजनालाई स्वभाविक रुपमा लिनुपर्दछ । त्यतिमात्र होइन आयोजनाको विरोध गर्नु मुर्खता सिवाय अरु केही हुने छैन ।

तर, सरकारले जुन नदीलाई डाइभर्सन गरेर तिनाउ झार्ने महत्वकांक्षी योजना अगाडि सारेको छ धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको छ । कालीगण्डकी नदीमा धार्मिक हिसाबले महत्वपूर्ण मानिने शालिग्राम पाइने गर्दछ । कालीगण्डकी नदीसँग करोडौं हिन्दूहरुको आस्था जोडिएको छ । देवघाट देखि मुक्तिनाथ सम्म करोडौं हिन्दूहरुले बर्षेनी पूजा अर्चना र स्नान गर्ने गर्दछन् ।

यसका अतिरिक्त कालीगण्डकी नदी साँस्कृतिक ,जैविक र यस क्षेत्रको हजारौं बर्ष पुरानो मानव सभ्यतासँग जोडिएको छ । यदि कालीगण्डकी नदी डाइभर्सन गरी तिनाउमा झारिएको खण्डमा कालीगण्डकी नदीको हजारौं बर्ष पुरानो सभ्यता समाप्त भएर जाने निश्चित छ ।

महाकुम्भ मेलाबाट पाठ सिक्ने कि ?

छिमेकी मुलुक भारतको प्रयागराजमा १ सय ४४ बर्ष पछि लागेको महाकुम्भ मेला सकिन केहि दिन बाँकी छ । भारतीय सञ्चार माध्यमहरुले जनाए अनुसार महाकुम्भ मेलामा ५० करोड भन्दा बढी भक्तजनहरु मेला स्थलमा पुगेका छन् । महाकुम्भ मेलाले भारतको अर्थतन्त्रमा ठूलो सुधार आएको दाबी गरिएको छ । जुन विषयको कल्पना भारतीयहरुले समेत गरेको थिएन ।

कालीगण्डकी डाइभर्सनको वहस जारी रहँदै गर्दा सरकारमा सहभागी राजनीतिक दल र तिनका नेताहरुले सोच्नु जरुरी के छ भने कालीगण्डकी नदीको अन्त्य भएको स्थल देवघाट नेपालको मात्र नभई हिन्दू धर्मालम्बीहरुको पवित्र स्थल हो ।जहाँ बर्षेनी लाखौैको संख्यामा हिन्दू धर्मालम्बीहरु पूजा अर्चना र स्नानका लागि आउने गर्दछन् । हालै मात्र देवघाटमा आयोजना गरिएको धार्मिक महोत्सवमा उपस्थित भक्तजनहरुको संख्याहरुले पनि त्यसको पुष्टि गरेको अवस्था छ ।

यदि देवघाटमा पूजा अर्चना र स्नानका लागि आउने भक्तजनहरुलाई धार्मिक पर्यटकको रुपमा रुपान्तरण गर्न सकेको खण्डमा नेपालको अर्थतन्त्रमा समेत ठूलो सुधार आउन सक्छ । महाकुम्भ मेलाकै सन्दर्भमा हेर्ने हो भने स्नानका लागि गएका भक्तजनहरुले कम्तीमा पनि भारतीय दश हजार रुपैयाँ खर्च गरेको देखिन्छ । यो हिसाबले ५० करोड भक्तजनले कति खर्च गरे होलान् ?  तपाई, हामी जो कोहीले पनि सहजै अनुमान गर्न सकिने विषय हो ।

त्यसैले भारतको महाकुम्भ मेलाबाट पाठ सिक्दै करोडौं हिन्दूहरुको अस्तित्वसँग जोडिएको कालीगण्डकी नदीलाई डाइभर्सन गर्ने विषय कल्पना समेत गर्न सकिदैन । अन्तमा, विद्युतीकरण र सिचाईको प्रलोभनमा भारत सरकारले गंगा,जमुना र सरस्वतीको डाइभर्सन गरि दिएको भए , आज के महाकुम्भ मेलामा स्नानका लागि करोडौं भक्तजनहरु प्रयागराज पुग्ने थिए ? कदापि  पुग्ने थिएनन ।

कालीगण्डकी र देवघाट पनि विश्वका करोडौंका हिन्दूहरुको आस्था केन्द्र रहेको हुँदा अस्तित्व रक्षाका लागि सबैले आफ्नो ठाउँबाट दबाब सिर्जना गर्नु जरुरी देखिन्छ ।

१३ फाल्गुन २०८१, मंगलवार २०:४५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा