पोखरा, पोखराका धार्मिक सामजिक तथा राजनीतिक व्यक्तित्व लिलाभक्त आचार्यको शनिबार बिहान आफ्नै निवास पोखरा -१७ बिरौटामा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वास सम्बन्धि रोगका कारण पिडित आचार्यको ९५ बर्षको उमेरमा निधन भएको हो । उनि लामो समयदेखि पोखरा र काठमाडौँ लगायतका स्थानका अस्पतालमा उपचार गराइरहेका थिए ।
धार्मिक रुपमा लामो समयदेखि क्रियाशील व्यक्तित्व आचार्य पोखराको बिरौटा स्थित राममन्दिर संचालक समितिको स्थापना कालदेखि नै अध्यक्ष भएर काम गरेका थिए । मन्दिरको पुनर्निर्माण र बिस्तारमा उनले व्यक्तिगत एबम पारिवारिक रुपमा आर्थिक सहित अन्य किसिमको योगदान दिंदै आएका थिए । राममन्दिर बाहेक पनि अन्य थुप्रै धार्मिक संघ संस्था र गतिविधिमा पनि आचार्यको महत्वपूर्ण योगदान रहेको छ उनले विश्व हिन्दु महासंघ कास्की र केन्द्रीय समितिको समेत अध्यक्ष रहेर काम गरेका थिए ।
राजनीतिक रुपमा उनि लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय रहे नेपाली काँग्रेस कास्कीको सभापति रहेर २०१५ सालदेखि २०१७ साल सम्म कांग्रेसको संगठन बिस्तारमा सक्रिय रहे । उनि पंचायती शासन व्यबस्थाको क्रममा तत्कालिन जिल्ला पंचायतको सदस्य र गण्डकी अंचलको सभापति समेत रहेर काम गरेका थिए पंचायती शासनकालमा उनि डमरु चुनाब चिन्ह लिएर राष्ट्रिय पंचायतको सदस्यको उमेद्वार समेत बनेका थिए तर चुनाब जित्न भने सकेनन ।
२०४६ सालमा मुलुकमा प्रजातन्त्र बहाली भएपछी आचार्य फेरी नेपाली काँग्रेसमा नै सक्रिय रहनपुगे । उनि नेपाली काँग्रेस सम्बद्ध नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीको सभापति भएर लामो समय काम गरे । यस अगाडी उनि नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि समेत बनेर विभिन्न महाधिबेशनमा सहभागी बनेका थिए ।
लिलाभक्त आचार्यको योगदान सामाजिक. शैक्षिक, संचार लगायतका सबैजसो क्षेत्रमा रहेको छ। उनले विभिन्न संघ संस्थालाई र बिद्यालय एबम कलेजहरुलाई विभिन्न किसिमको आर्थिक एबम भौतिक सहयोग गरेका छन । कतिपय शिक्षण संस्थाको ब्यबस्थापन समितिमा रहेर उनले स्कुल कलेजको स्थापना र संचालनमा महत्वपुर्ण भूमिका निर्बाह गरेका थिए। पोखराका संचारकर्मीको प्रोत्साहनको लागि समेत उनले पुरस्कारको संचालन गर्न अक्षयकोष स्थापन गरिदिएका छन।
स्व. आचार्यको शनिबार नै पोखराको सेती नदीमा अन्त्येष्टी गरिएको छ। उनको निवास बिरौटाबाट शबयात्रा गरेर सेती नदीमा पुगेर अन्त्येष्टी गरिएको थियो ।
अन्त्येष्टी पूर्व नेपाली काँग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री एबम पुर्ब सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्यहरु डा. डीला संग्रौला, गण्डकी प्रदेश सभापति शुक्राराज शर्मा, कास्की काँग्रेसका सभापति किशोरदत्त बराल लगायतका नेताले स्व. आचार्यको शवमा नेपाली काँग्रेसको चारतारे झण्डा ओढाएर अन्तिम श्रादंजली प्रकट गरेका थिए।
स्व. आचार्यको शबयात्रामा नेपाली काँग्रेस लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, जनप्रतिनिधिहरु, विभिन्न धार्मिक एबम सामाजिक संघसंस्थाका सदस्यहरु एबम सर्बसाधारण र आफन्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो ।
स्व. आचार्यका तिन श्रीमती रहेको भएपनि उनीहरुको निधन भैसकेको छ भने ५ छोरा र ५ छोरी सहितको ठुलो परिवार रहेको छ।