Play

पोखरामा हुने कोटीहोमप्रति स्थानीय सकारात्मक बन्दै: आम्दानी खर्च पारदर्शी गर्न र सरसफाइमा ध्यान दिन आग्रह

गुरुकुल खबर


पोखरा, आगामी बैशाख १७ गतेबाट जेष्ठ २६ गतेसम्म पोखराको लेकसाइडमा हुने भनिएको श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञलाई प्रभावकारी बनाउनुपर्ने कुरामा लेकसाइड क्षेत्रका बासिन्दाहरु सहित स्थानीय पर्यटन ब्यबसायीहरुले जोड दिएका छन।

सोमबार महायज्ञ आयोजना गरिने स्थल लेकसाइडमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय सर्बसाधारण एबम पर्यटन ब्यबसायीहरुले लेकसाइडमा महायज्ञ आयोजना गरिंदा धार्मिक पर्यटकहरु सहि सर्बसाधारणको आगमन बढ्ने भएकोले पनि महायज्ञ लेकसाइड क्षेत्रमा नै हुनुपर्ने कुरामा जोड दिएका थिए।

पोखराको लेकसाइडमा महायज्ञ हुने कुरा सार्बजनिक भएसंगै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका क्षेत्रमा महायज्ञ गर्नको लागि महानगरपालिकाले अनुमती नदिएको कारण कुनै हालतमा महायज्ञ गर्न नदिने बताएका थिए । तर, पछिल्लो समय मेयर आचार्यले नै पोखराको लेकसाइड क्षेत्र बाहेक अन्यत्र महायज्ञ गरेमा आपत्ति नहुने खालको अभिव्यक्ति सार्बजनिक गरेका थिए।

मेयर आचार्यले अनुमति नदिएको बताएपनि नेपाल ट्रष्टको स्वामित्वमा रहेको लेकसाइडको जग्गासहित क्याम्पिंग चोकको खालि जग्गा र लेकसाइड क्षेत्रकै अर्को खालि जग्ग्गामा महायज्ञको विभिन्न गतिबिधि हवन, प्रवचन, भजन लगायत विभिन्न प्रतियोगिता गर्न सम्बन्धित निकायबाट अनुमति लिईसकेको र महानगरपालिका सहित सरोकारवालालाई आबश्यक शुल्क समेत तिरेको महायज्ञका आयोजकहरुले बताउंदै आएका छन।

सोहि अनुरुप नेपाल ट्रष्टले ११ लाख भन्दा बढी र पोखरा महानगरपालिकाले करिब ३५ हजार रुपैया जग्गाको भाडा बापत बुझिसकेको छन। यस अगाडी उक्त स्थानमा महायज्ञ संचालन गर्दा आबश्यक पर्ने समिधाको लागि पोखरा महानगरपालिका स्वयमले विभिन्न स्थानमा रुख कटान गरि संकलन गरेका ३२ गाडी दाउरा मानव सेवा फाउन्डेसनलाई दिएको थियो। तर, केहि दिनमा नै फाउन्डेसनले संकलन गरेका अरु काठ दाउरा सहित ५० गाडी काठ दाउरा पोखरा महानगरपालिकाले जबर्जस्ती फिर्ता ल्याएको थियो।

महायज्ञ आयोजक समितिमा रहेका लेखराज ढकालका अनुसार ‘गत माघ १० गते पोखरा महानगरपालिकाले महायज्ञको लागि आबश्यक पर्ने समिधाको लागि ३२ गाडी दाउरा पठाएको भएपनि केहि दिन अगाडी महानगरले  तिनै दाउरा सहितमहायज्ञ आयोजकले विभिन्न स्थानबाट संकलन गरेका करिब ५० गाडी दाउरा फिर्ता लगेको छ। आशा छ, केहिदिनमा महानगरले सबै काठ दाउरा महायज्ञ स्थलमा फेरी पठाउने छ।’

पोखराका पर्यटन ब्यबसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले पनि केहि साता अगाडी बिज्ञप्ति नै सार्बजनिक गरेर पोखराको लेकसाइडमा हुने भनिएको महायज्ञको बिरोध जनाएको भएपनि केहि दिनको अन्तरालमा परिषदका सदस्य रहेका पर्यटन ब्यबसायीहरुले नै लेकसाइडमा महायज्ञ हुनुपर्ने कुरामा समर्थन जनाउन थालेका छन।

पोखरा पर्यटन परिषदका एक सदस्यले गुरुकुल खबरसंग कुरा गर्दै केहि दिन अगाडी परिषदको तर्फबाट महायज्ञको बिरोधमा बिज्ञप्ति सार्बजनिक भएपनि हाल अधिकांश सदस्यहरु लेकसाइडमा महायज्ञ हुनुपर्ने पक्षमा रहेको बताए । उनले भने “लेकसाइडमा महायज्ञ हुँदा पोखरा भित्र र बाहिरका मानिसहरुको जमघट लेकसाइड क्षेत्रमा नै हुन्छ। जसका कारण लेकसाइड क्षेत्रका होटल, रेस्टुरेन्ट र सार्बजनिक यातायातका साधनमा मानिसहरुको चहल पहल बढ्ने र ब्यबसायिक कारोबार समेत बढ्ने हुन्छ। तसर्थ महायज्ञको बिरोध गर्नुको कुनै अर्थ छैन।”

महायज्ञको आयोजक संस्था मानव सेवा फाउन्डेसनका एक सदस्यका अनुसार शुरुमा महायज्ञको कडा बिरोध गर्नेहरु पनि हाल मौन वा समर्थनमा देखिनुभएको छ। तर, महायज्ञ सफल बनाउन सबैको सहयोग आबश्यक रहेकोले सम्भव भएसम्म सबैलाई भेटघाट गर्ने र महायज्ञलाई सफल र प्रभावकारी बनाउने प्रयासमा आयोजकहरु जुटिरहेका छन। केहिदिन भित्रमा महायज्ञको बारेमा आम सर्बसाधारणमा सकारात्मक उर्जा थपिने बिश्वास उनले ब्यक्त गरे।

यसैबीच सोमबार महायज्ञ स्थल नजिक होटल स्नो ल्याण्डमा आयोजित अन्तरक्रिया एबम भेटघाट कार्यक्रममा सहभागी स्थानीय एबम पर्यटन ब्यबसायीहरुले लेकसाइडमा हुने महायज्ञलाई सफल र प्रभावकारी बनाउन सबैको सहयोग आबश्यक रहेको कुरामा जोड दिएको छन । सोमबार आयोजक मानव सेवा फाउण्डेसन नेपालले वडा न. ६ लेकसाइडका विभिन्न क्षेत्रका व्यक्तित्वहरुले पोखराको पर्यटन प्रबर्द्दनमा महायज्ञले सघाउ पुर्याउने बिश्वास ब्यक्त गरे।

“महायज्ञको लागि पोखरा बजार सहित पोखरा बाहिर र नेपाल बाहिरबाट पनि ठुलो संख्यामा भक्तजनहरु आउछन र धेरै दिन बस्स्छन। उनीहरु पोखरा आएर बस्दा त्यसको फाइदा पोखरा र पोखरेलीलाई नै हुन्छ।” कार्यक्रममा सहभागी होटल संघ पोखराका सदस्य बिबेक गौतमले भने । पोखरामा हुने कोटीहोम महायज्ञबाट होटल ब्यबसायीलाई प्रत्यक्ष फाइदा हुने भएकोले अनाबश्यक बिरोधमा नलाग्न उनले होटल तथा पर्यटन ब्यबसायीलाई आग्रह गरे।

पोखरा -६ का युवा परिषदका अध्यक्ष डिफान भुजेलले लेकसाइड क्षेत्रमा लागुऔषध, ध्वनि प्रदुषण लगायतका विभिन्न सामाजिक बिकृतिको न्युनिकरणमा चासो नराख्ने केहि व्यक्ति र संस्थाले कोटीहोम र महायज्ञको बारेमा नकारात्मक कुरा गरेको सुन्दा आश्चर्य लागेको बताए। उनले कोटीहोमको आम्दानी खर्चको विवरण पारदर्शी हुनुपर्नेमा जोड दिंदै कोटीहोमका कारण निरन्तर घाटामा संचालन भैरहेका पोखराका होटल र अन्य ब्यबसायलाई राहत पुग्ने र धर्म संस्कृति र संस्कारको प्रबर्द्दन हुने बिश्वास ब्यक्त गरे।

कार्यक्रममा विश्व हिन्दु महासंघ पोखरा महानगरपालिका – ६ का अध्यक्ष तुलसी दाहालले अब हुने भनिएको कोटिहोम महायज्ञका कारण  पोखरालाई विश्वसामु चिनाउन सहयोग पुग्ने  बताउंदै कोटीहोमको बारेमा नकारात्मक प्रचार गरिनु दुखद भएको बताए। “कोटीहोम प्रति हाम्रो पुर्ण समर्थन रहेको छ। तथ्यहीन तरिकाले गरिने टिप्पणीको कुनै अर्थ छैन।” दाहालले भने ।

कार्यक्रममा सहभागी लिलबारी टोल बिकास संस्थाका अध्यक्ष टिकाराम परियारले लेकसाइडमा कोटीहोम आयोजना हुनु स्थानीय बासिन्दाको लागि खुशीको कुरा भएको बताए। “यो हाम्रो लागि ठूलो अवसर हो । कोटिहोमले हामी सबैलाई फाइदा छ । यो रोक्न खोज्ने, छेक्न खोज्ने प्रयास कतैबाट नहोस ।  हाम्रो पूर्ण साथ र समर्थन रहन्छ ।” उनले भने ।

कार्यक्रममा पोखरा महानगरपालिका वार्ड नं. ६ मा रहेको महिला सञ्जालकी अध्यक्ष बबिता मल्लले पोखरा -६ मा कोटिहोम हुने कुराले स्थानीय महिलाहरु उत्साहित भएको बताइन। उनले भनिन, ‘कोटीहोम गर्ने कुरामा लेकसाइडका महिलाहरुको साथ् र समर्थन रहेको छ तर, महायज्ञमा धेरै मानिसहरुको आगमन र चहलपहल हुने भएकोले सरसफाईमा भने महायज्ञ आयोजकले बिशेष ध्यान दिनु जरुरी हुन्छ ।’

कार्यक्रममा पोखरा महानगरपालिका -६ का वडासदस्य तथा जनप्रतिनिधि पवित्रा थापा, स्थानिय सामाजिक कार्यकर्ता गिरिराज अधिकारी सहित स्थानीय सर्बसाधारण, आमा समूहका सदस्यहरु, होटलसंघका प्रतिनिधी, टोल बिकास संस्थाका पदाधिकारी र सदस्यहरु लगायतले महायज्ञका बारेमा विभिन्न सुझाब सहित जिज्ञासा राखेका थिए।

कार्यक्रममा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर बिजय श्रीकृष्णमुर्ति महाराजले पोखरामा हुने कोटीहोम महायज्ञले पोखराको प्रबर्द्दनमा सघाउ पुग्ने बिश्वास व्यक्त गरेका थिए। उनले महायज्ञको लागि आबश्यक तयारी भैरहेको बताउंदै लेकसाइड क्षेत्रको खालि जग्गामा महायज्ञ गरेर सनातन धर्मको रक्षा, आफ्नो संस्कार र संस्कृतिको जगेर्ना साथै पोखरामा धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न र स्थानीय धार्मिक स्थलको बिकास र बिस्तारको लागि आर्थिक श्रोत जुटाउन पनि पोखरामा नै महायज्ञ आयोजना गर्नुपरेको स्पष्ट पारे।

उक्त कार्यक्रम पछि गुरुकुल खबरसंग कुरा गर्दै महायज्ञका संकल्पकर्ता धर्मगुरु बिजय श्रीकृष्ण मुर्तीले पोखरा प्राकृतिक सुन्दरताले भरिपुर्ण हुनुको साथै विभिन्न धार्मिकस्थल, मठ मन्दिरहरुको संख्यासंगै धार्मिक गतिबिधि पनि बढ्दै जाँदा पोखरामा आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुको संख्या बढ्रने बिश्वास ब्यक्त गरे । उनले भने ‘बैशाखमा पोखरामा हुने कोटीहोम महायज्ञ पनि पोखरामा धार्मिक पर्यटक बढाउने र पोखराको प्रबर्द्दन गर्ने, पोखराको तालबाराही मन्दिर सहित अन्य मठ मन्दिरको संरक्षण र विकासमा सहयोग गर्ने सहित सनातन धर्मको रक्षा र सम्बर्धनको लागि आयोजना गरिएको हो। ‘

महायज्ञका संकल्पकर्ता बिजय श्रीकृष्ण मुर्ती महाराजका अनुसार महायज्ञमा प्रमुख रुपमा निम्न गतिबिधि संचालन हुनेछन 

१. संगीतमय श्रीमद्भागवत कथा बाचन गरिने

२. श्रीराम कथा वाचन गरिने

३. शिव महापुराण कथा वाचन गरिने

४. श्री हनुमत कथा वाचन गरिने

५. श्रीमद् देबीभागवत कथा वाचन गरिने

६. हजारौंको ब्रतवन्ध, विबाह, चौरासी पूजा, तुलादान जस्ता कर्म गरिने

७. प्रत्येक नेपालीको नाममा कोटि दीप प्रज्ज्वलन गरिने

८. तिनसय भन्दा बढी ब्राह्मण गुरुहरुद्वारा नियमित हवन गरिने

९. लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने

१०. एक करोड पार्थिव शिव लिङ्ग निर्माण गरी एक करोड वेलपत्र द्वारा पूजन गरिने

११. राष्ट्रिय भजन प्रतियोगिताको आयोजना हुने जसमा उचित पुरस्कार तथा सम्मानको पनि व्यवस्था गरिने

१२. कवि तथा सन्त सम्मेलन हुने

१३. धार्मिक संघ संस्थाको सम्मेलन हुने

१४. विशेष धर्म सभाको आयोजना गरिने

१५. एघार हजार कलश पूजन गरिने

१६. पच्चीस हजार नरिवल यज्ञभगवान तथा तालबाराही मातालाई भोग लगाएर आम भक्तजनहरुलाई प्रसाद स्वरुप बाँडिने

१७. गण्डकी प्रदेशका ३ देखि ९ वर्ष सम्मका हजारौं बालिकाहरुको कन्या पूजन गरिने

१८. ७० वर्ष भन्दा माथि उमेर पुग्नुभएका गण्डकी प्रदेशका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिने

१९. गण्डकी प्रदेशका एक हजार भन्दा बढी विभिन्न क्षेत्रका स्रष्टालाई सम्मान गरिने

२०. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको आगमन हुने

२१. रामलीला, कृष्णलीला आदिको प्रस्तुति हुने

२२. शालिग्राम पूजन महामहोत्सवको आयोजना गरिने

२३. धार्मिक क्षेत्रहरुको चित्र निर्माण गर्ने गरि चित्रकला प्रतियोगिता हुने

२४. गण्डकी सभ्यता, शालिग्राम क्षेत्र, मुक्ति क्षेत्र, दामोदर कुण्ड तथा यहाँका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक विषयहरुलाई लिएर वक्तृत्वकला प्रतियोगिता हुने र विजयी हुनेलाई विशेष पुरस्कार तथा सम्मानको व्यवस्था गरिने

२५. वृहत रक्तदान कार्यक्रमको आयोजना गरिने

२६. विभिन्न भजन मंच,  ज्ञान मंच, विचार मंच जस्ता विभिन्न मंचहरुमा अलग अलग कार्यक्रमहरु आयोजना गरिने

२७. तण्डुलाचल, धान्याचल पर्वत निर्माण गरिने

२८. गण्डकी प्रदेशका धार्मिक संघसंस्था, मठ मन्दिर, आमा समूह आदिका पदाधिकारीहरु तथा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएकालाई विशेष सम्मान तथा अभिनन्दन गरिने

२९. गण्डकी प्रदेशका धार्मिक तथा सामाजिक अभियन्ताहरुलाई सम्मान पत्र, अभिनन्दन पत्र, कदर पत्र, प्रशंसा पत्र आदिले नागरिक अभिनन्दन गरिने

३०. शंकराचार्य, जगद् गुरु, विभिन्न अखडाका महन्त, विश्व प्रसिद्ध कथा बाचक एबम बक्ताहरु र धर्म गुरुहरुको आगमन हुने

३१. विभिन्न धार्मिक संस्था, गुरुकुल, गौशाला, धर्मशाला, मठमन्दिर आदि संचालन गरी सामाजिक सेवामा उत्कृष्ट कर्म गर्नेलाई पनि छुट्टै सम्मानको व्यवस्था गरिने

३२. गण्डकी प्रदेशका तीर्थस्थलहरुको फोटो प्रदर्शनीहरु गर्दै त्यहाँको महत्त्वका बारेमा प्रचार- प्रसार गरिने

३३. हिन्दु, बौद्ध, जैन, किराँत, मष्टो लगायत विभिन्न धर्म सम्प्रदायमा आस्था राख्ने सबैलाई जमघट गरी सनातन संसद, धर्म संसद आदिको कार्यक्रम आयोजना गरिने

३४. ठुला ठुला सन्त, महन्त, विद्वान पण्डितहरुको समुह बनाई उहाँहरुको हस्ताक्षरबाट विभिन्न मान, पदवी, उपाधि तथा विभूषण  प्रदान गर्ने ।

३५. गण्डकी क्षेत्र भित्रका धर्म, संस्कृति तथा परम्परालाई उजागर गर्ने गरी गण्डकी क्षेत्रको बारेमा कुनै पनि कविता, गजल, गीत, भजन, मन्तब्य आदि कुनै पनि विषयमा सर्वोत्कृष्ट प्रदर्शन गर्नेलाई विशेष पुरस्कारको व्यवस्था गरिने

३६. नेपालका सबै जिल्लाहरुबाट करिव पांच सय भजन समुहको प्रतिनिधित्व हुनेगरि गण्डकी राष्ट्रिय भजन प्रतियोगिताको आयोजना गर्ने र  गरी उच्चतम पुरस्कार प्रदान गरिने

३७. प्रत्येक घरबाट आफ्नो जमिनको माटो ल्याएर भूमि पूजन गरी दोष निवारण गरिने

३८. २१ फिट रुद्राक्षको शिव लिंग निर्माण गरिने

४०. धार्मिक पुस्तकहरुको प्रदर्शनी गरिने

४१. दु:ख निवारण तथा मनोकामना पूर्ति यज्ञको आयोजना गरिने

५ फाल्गुन २०८१, सोमबार २३:२६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा