पोखरा, पटक पटक गरि छ पटकसम्म बिजेता बनेको नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले पोखरामा संचालित २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जित्न सफल भएको छ ।
पोखरा रंगशालमा शनिबार भएको खेलमा छ पटक सम्मको बिजेता टोली नेपाल पुलिसलाई १ -३ गोलले हराएर उज्वेकिस्तानको ब्ल्याक बुल्स क्लब आहारारा गोल्डकपको पहिलो सहभागितामै च्याम्पियन बन्न सफल भएको हो ।
ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरेका थिए भने नेपाल पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा गरेको गोल नै पहिलो र अन्तिम बन्न पुग्यो ।
नेपाल पुलिस टिमले खेलको तेस्रो मिनेटमै गोल गर्ने राम्रो अवसर पाएको थियो । क्रसमा प्राप्त भएको बलमा अरुण गाहाको हेडर पोष्टमा लागेर फर्किएपछि नेपाल पुलिसले खेलमा अग्रता लिन नसकेको हो ।
पोखराको आहारारा गोल्डकपमा पहिलो पटक सहभागी टिमको रुपमा रहेको ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० र सेमिफाइनलमा ५ पटकको विजेता थ्री स्टारलाई ४-० ले पराजित गरेको थियो ।
लगातर राम्रो खेल प्रदर्शन गरेको ब्ल्याक बुल्सले पहिलो सहभागितामै आहारारा पोखरा गोल्डकपको उपाधि जित्दै इतिहास रचेको छ ।
कीर्तिमानी सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकीस्तानको टिम संग पराजित भएर उपविजेतामा चित्त बुझाउनुपर्यो।
आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी र समग्रमा नवौं क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरु समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।
आहारारा गोल्डकपको विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजार रुपैया सहित आहाराराको आकर्षक ट्रफी प्राप्त गर्यो भने उपविजेता पुलिसले ६ लाख १ हजारमा चित्त बुझाउनुपर्यो।
तस्बिर – सुदर्शन रंजित
आहारारा पोखरा गोल्डकपमा अहिलेसम्मका विजेता
२०५८ : नेपाल पुलिस क्लब
२०५९ : नेपाल पुलिस क्लब
२०६० : मनाङ मर्स्याङ्दी क्लब
२०६१ : मनाङ मर्स्याङ्दी क्लब
२०६२ : अफ्रिकन युनाइटेड
२०६३ : थ्रीस्टार क्लब
२०६४ : नेपाल पुलिस क्लब
२०६५ : नेपाल पुलिस क्लब
२०६६ : नेपाल पुलिस क्लब
२०६७ : थ्रीस्टार क्लब
२०६८ : मनाङ मर्स्याङ्दी क्लब
२०६९ : थ्रीस्टार क्लब
२०७० : सहारा क्लब
२०७१ : थ्रीस्टार क्लब
२०७२ : मनाङ मर्स्याङ्दी क्लब
२०७३ : मनाङ मर्स्याङ्दी क्लब
२०७४ : नेपाल पुलिस क्लब
२०७५ : थ्रीस्टार क्लब
२०७६ : मनाङ मर्स्याङ्दी क्लब
२०७७ : संकटा एफसी
२०७८ : एपीएफ एफसी
२०७९ : संकटा एफसी
२०८० : त्रिभुवन आर्मी एफसी
२०८१ : ब्ल्याक बुल्स एफसी, उज्बेकिस्तान*