पोखरा, सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन नयाँ नेतृत्व चयन गरी सकिएको छ । अधिवेशनले अध्यक्ष भीम पराजुलीको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । पराजुली यस अगाडी पनि समितिको अध्यक्ष रहेका थिए ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्ष मनपति भण्डारी, प्रथम उपाध्यक्ष विष्णुमाया भण्डारी, द्वितीय उपाध्यक्ष प्रेम पहारी, महासचिव घनश्याम तिम्सिना, सचिव शम्भुराज पाण्डे, कोषाध्यक्ष गुप्तबहादुर कार्की र सहकोषध्यक्ष धनबहादुर विक निर्वाचित भएको निर्वाचन समितिका संयोजक टंकप्रसाद पौडेलले जानकारी दिए ।
कार्यसमिति सदस्यमा आशवीर नेपाली, दोर्चे तामाङ, सिर्जना सापकोटा, लक्ष्मी केसी सिंह, इन्द्रप्रसाद दाहाल, सरा बोगटी, नारायणप्रसाद पौडेल, मीना ढकाल मिनमाया श्रेष्ठ कमला बज्राचार्य छन् ।
अधिवेशन उद्घाटन गर्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सामुदायिक प्रहरी सेवालाई नेपाल प्रहरीको उच्चतम सेवामा राखेको जानकारी दिए । उनले स्थानीय समुदाय र नेपाल प्रहरी बीचको सम्बन्धको सम्बन्धलाई सुमधुर बनाउन सहयोग पुगेको चर्चा गरे ।
‘प्रहरीको सेवा समुदायमा आधारित हुनुपर्छ,’ उनले भने, ‘सामुदायिक सेवा केन्द्रमार्फत नेपाल प्रहरीको काम समुदाय स्तरमा पुगेको छ ।’ उनले स्थानीय समुदायको सहयोग विना नेपाल प्रहरीले अपराध अनुसन्धान र शान्ति, सुरक्षा कायम गर्न नसक्ने तर्क गरे । समुदायको सहयोगमा र समन्वयमा अपराध रहित तथा न्यायपूर्ण समाज निर्माण गर्न सकिने उल्लेख गर्दै उनले समुदाय सचेत र जिम्मेवार भए सभ्य र समुन्नत समाज निर्माण गर्न सकिने बताए ।
विश्वका उन्नत देशहरुले पनि सामुदायिक प्रहरीको अवधारणामा काम गरेको जानकारी दिदै उनले तीन दशकअगाडि नेपालमा सुरुवात भएको सामुदायिक प्रहरी सेवा केन्द्र १ सय ५८ स्थानमा विस्तार भएको उल्लेख गरे । सामुदायिक प्रहरी सेवाको परिस्कृत रुप समुदाय साझेदारी कार्यक्रम ७ सय ४३ स्थानीय तहमा कार्यसमिति विस्तार भएको जनाए ।
उनले विद्यालय स्तरको अपराध रोकथाम तथा न्यूनीकरणसम्बन्धी पाठ्यक्रम १ सय ५७ स्थानीय तहले निर्माण गरेर कार्यान्वयनमा ल्याएको बताए । कार्यक्रममा सामुदायिक सन्देश बुलेटिङको ३१ औं अंक विमोचन गरिएको छ ।
कार्यक्रममा कास्कीका शान्ति सुरक्षा कायम गर्न तथा विकृति, विसंगति न्यूनीकरणका लागि समुदायस्तरमा सचेतनामुलक कार्यक्रम गर्ने व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कार्यक्रममा मादी गाँउपालिकाका अध्यक्ष देवीजंग गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, पोखरा १४ का अध्यक्ष बोधराज कार्की, पोखरा २५ का अध्यक्ष मोतिलाल तिम्सिना, वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका संस्थापक अध्यक्ष मंगल नेपाली, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, प्रथम उपाध्यक्ष मनपति भण्डारी, महासचिव घनश्याम तिम्सिना, लेखनाथका अध्यक्ष गंगा खनाल, वरिष्ठ प्रहरी नायब निरीक्षक होतबहादुर रोकाया लगायतले बोलेका थिए ।