पोखरा, नेपाली काँग्रेसको पोखरा महानगरपालिका समितिको तेश्रो सम्मेलन आइतबार पोखरामा सम्पन्न भयो। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहित पार्टीको दर्जन बढी केन्द्रीय नेताहरुको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो। सम्मेलनमा दुई दर्जन बढीको संख्यामा बक्ताहरु रहेपनि अधिकांश बक्ताहरुले पार्टीको आन्तरिक राजनीति, आसन्न महाधिबेशन र कांग्रेस सहितको गठबन्धन सरकारको काम कारबाहीको बारेमा खासै चर्चा गरेनन।
कार्यक्रमको प्रमुख अतिथि रहेकाब पार्टीका केन्द्रीय सभापति एबम पुर्ब प्रधानमन्त्री देउवाले त राजनीतिको कुरै नगरी पोखराको सुन्दरताको बखान गरे। उनले पोखरा सुन्दर शहर रहेको र नेपाल बहिरबाट पनि ठुलो संख्यामा पर्यटकहरु पोखरा घुम्न आउने भएकोले यहाका ताल, हिमाल सहितको सुन्दरता जोगाउन कांग्रेसले नेतृत्व लिनुपर्नेमा जोड दिए।
समारोहमा बोल्ने बक्ताहरुमध्ये केहिले पार्टी भित्र गुटउपगुटको अन्त्य गर्नुपर्ने, कांग्रेस समेत रहेको सरकारले जनताको काम प्रभावकारी ढंगले गर्नुपर्ने, महाधिबेशन समयमै हुनुपर्ने, पार्टीको विधानमा संसोधन गर्नुपर्ने लगायतका विषय उठाएको भएपनि देउबाले पार्टी र सरकारको कार्यशैली तथा आसन्न महाधिबेशन र बिधान वा पार्टी भित्रको गुट उपगुटको बारेमा केहि बोलेनन।
देउवा पोखरामा सोमबार र मंगलबार न्पानी बस्दै छन। उनले कांग्रेसको विभिन्न प्रदेशका सभापति सहित प्रदेशका प्रशिक्षण विभागका प्रमुखहरुको ओरियन्टेसन कार्यक्रम र देशका ७७ जिल्लाका कांग्रेस सभापति सहितको ओरियन्टेसन कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेकोले ति कार्यक्रममा देउवाले राजनीतिक बिषयमा बोल्ने अपेक्षा गरिएको छ। सोमबारको कार्यक्रम नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र गण्डकी प्रदेशको ब्यबस्थापनमा र मंगलबारको कार्यक्रम कास्की जिल्लाको ब्यबस्थापनमा गरिन लागेको हो।
पोखरा महानगरको सम्मेलनको उद्घाटन समारोहमा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री जिबन परियारले पोखरामा अन्तराष्ट्रिय उडान गर्न, पोखराका तालहरुको संरक्षण गर्नको लागि गुरूयोजना तयार गरेर काम गर्न र माछापुच्छ्रे हिमालको सुन्दरता बिग्रन नदिन काम हुनुपर्नेमा जोड दिए। उनले नेपाली काँग्रेसले जिताएको मेयरले जनताको काम गरेन भनेर कांग्रेसले नै ताला लगाउनुपर्ने अबस्था आएको भन्दै चिन्ता ब्यक्त गरे ।
पार्टीको अर्का सहमहामंत्री महालक्ष्मी उपाध्याय डिनाले नेपाली काँग्रेसलाई संगठित र एकताबद्द बनाउन सक्नुपर्नेमा जोड दिंदै सबैले आफ्नो आफ्नो जिम्मेवारी कुशलता पुर्बक निर्बाह गर्नुपर्ने बताईंन।
आँफु कसरि स्थापित हुने भन्ने प्रतिष्पर्धाले पार्टी कमजोर – डा. महत
नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाशशरण महतले राजनीतिक दलको प्रभावकारिता त्यसको नीति र संगठनको आधारमा मापन हुने भन्दै कांग्रसको नीति ठिक भएपनि संगठन कमजोर बन्दै गएको, पार्टीभित्र नेताहरुबीच संगठनको जनाधार बढाउन भन्दा पनि कसरि आँफुले पार्टीमा आफ्नो प्रभाव बढाउने भन्ने प्रतिष्पर्धा हुने गरेको भन्दै चिन्ता प्रकट गरे।
‘पार्टीमा कसरिआँफु स्थापित हुने र आंफ्नो प्रभाव कसरि बढाउने भन्ने मात्र प्रतिष्पर्धा देखिएको छ. त्यसैले कांग्रेसको संगठन अरुको कारणले नभएर आफ्नै कारणले कमजोर बन्दै गएको छ।’ प्रबक्ता डा. महतले भने । पूर्व अर्थमन्त्री समेत रहेका महतले मुलुकको आर्थिक वृद्धि गरेर सबैको पहुंच पुग्ने गरि काम गर्नुपर्नेमा सरकारमा बस्नेहरुको ध्यान जानुपर्नेमा जोड दिए ।
आग्रह पूर्वाग्रह त्यागौं – बराल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टी संगठन बलियो बनाउनको लागि आँफुसंग कुनै आग्रह पूर्वाग्रह नरहेको स्पष्ट पार्दै पार्टीको सबै तह र तप्काका नेता कार्यकर्ताले आग्रह पूर्वाग्रह त्याग्ने हो भने कांग्रेस बलियो बन्ने बिश्वास ब्यक्त गरे।
अर्का केन्द्रीय सदस्य गोबिन्द भट्टराईले नेपाली काँग्रेसले मुलुकको बिकास र अर्थतन्त्र बलियो बनाउनको लागि धेरै काम गरेको भएपनि आमनागरिकको अपेक्षा पुरा हुन नसक्दा नैराश्यता बढ्दै गएको बताए उनले पार्टीले जनतालाई लक्षित गरेर आफ्ना कार्यक्रमहरु तयार गर्नुपर्नेमा समेत जोड दिए।
प्यानल बनाएर भोट माग्ने प्रवृति अन्त्य गरौँ, गुट उपगुट अन्त्य हुन्छ- महर
पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले सम्मेलनमा कार्यकर्ताहरुको उपस्थिति न्यून भएको तर्फ संकेत गर्दै यस्तै अवस्थाले कांग्रेस कसरि एक्लै चुनाब लड्न सक्छ ? भनि प्रश्न गरे । केन्द्रीय सदस्य महरले आफु ७२ वटा जिल्ला घुमेर पार्टीका नेता कार्यकर्तासंग भेटघाट गर्दा पार्टी भित्रको गुट उपगुटको अन्त्य हुनुपर्नेमा सबैको जोड रहेको उल्लेख गर्दै गुट अन्त्य गर्नको लागि महाधिबेशनमा कुनै प्यानलको नामावली बाँड्न नदिने गरि चुनाब लड्ने बाताबरण तयार गर्नुपर्नेमा जोड दिए।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले आफ्नो बिरासत भुल्न नहुने भन्दै देशमा आईपर्ने सबै समस्याको समाधान गर्ने क्षमता काँग्रेससंग रहेपनि आफ्नो बिरासत भुल्दा कांग्रेस कमजोर बनेको भन्दै चिन्ता प्रकट गरे।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एबम गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्य कार्यक्रममा जस्तै आफुले कार्यकर्ताको शिर निहुरिन नदिने गरि काम गर्ने कुरा दोहोर्याए।
कार्यकर्ताको मनोबल कमजोर हुने निर्णय गर्नुभएन – केसी
यसैगरि सम्मेलनको उद्घाटन समारोहमा नेपाली काँग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसीले पार्टीको जिल्ला वा केन्द्रीय तहबाट कार्यकर्ताको मनोबल कम्जोर हुने गरि कुनै निर्णय गर्न नहुने कुरामा जोड दिए। उनि केहि दिन अगाडिमात्र पार्टीको केन्द्रीय प्रदेश समन्वय विभागमा मनोनित भएको निर्णय सार्बजनिक भएको करीब दुई घण्टामा नै उक्त पदबाट हटाइएको थिए।
पार्टीको बिधानमा परिमार्जन जरुरी – पौडेल र बिजुक्छे
पोखरा -६ का कांग्रेस सभापति सन्तोष पौडेलले पार्टीको बिधानको व्यबस्थाको कारण पार्टीको वडा वा प्रदेश समेतका तहको कार्यसमिति भन्दा प्रतिनिधिहरु बलियो जस्तो देखिएको भन्दै जनाधार भएका र प्रभावशाली कार्यकर्तालाई कार्यसमितिमा बस्न मिल्ने गरि बिधान संसोधन गर्नुपर्नेमा जोड दिए।
नेपाली काँग्रेस पोखरा महानगर समितिका सभापति सुरेन्द्रमान बिजुक्छेले पार्टीको बिधान संसोधन गरि महानगरको सभापतिलाई महाधिबेशन प्रतिनिधि बनाउन, मर्यादाक्रममा सोहि अनुसारको स्थान दिन, महानगर भित्र चुनाबको लागि उमेद्वार छनोट गर्दा महानगर समितिलाई अधिकार हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, अर्का केन्द्रीय सदस्य अब्दुल सतार, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, पुर्ब सभापति यज्ञबहादुर थापा, गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापा, कांग्रेस काठमाडौँ महानगरका सभापति , पोखरा महानगरपालिका -२ का वडाध्यक्ष दिवसमान प्रधानांग, महानगर समितिका पूर्व सभापति बजिरमान श्रेष्ठ, सहसचिब संजय आले, महानगरका उपसभापति प्रयागराज भण्डारी, सचिब द्वय गणेश बहादुर थापा र तुबराज बाँस्तोला र कोषाध्यक्ष सम्मर बहादुर श्रेष्ठलगायतले आआफ्नो भनाई राखेका थिए।
केन्द्रीय सदस्यहरुमा गिरि र अर्यालले मात्र बोल्न पाएनन्
कार्यक्रममा पार्टीको केन्द्रीय समिति र अन्य गरि दुई दर्जनको सङ्ख्यामा नेताहरुलाई मन्तब्यको लागि समय दिईएको भएपनि दुईजना केन्द्रीय सदस्यहरुलाई भने बोल्ने अवसर दिईएन। केन्द्रीय सदस्य दिपक गिरि र सरस्वति अर्याल तिवारी दुईजना केन्द्रीय सदस्यहरुले मात्र सम्मेलनको लागि शुभकामना प्रकट गर्ने र आफ्नो कुरा ब्यक्त गर्ने अवसर पाएनन। आँफुलाई बोल्न नदिने निश्चित भएपछी केन्द्रीय सदस्य गिरि मंचबाट झरेर कार्यकर्ताहरु माझ हुँदै बाहिरिएका थिए।
कार्यक्रम संचालक रहेका सचिब गणेश थापाले पटक पटक महानगरको कार्यसम्पादन समितिको बैठकले निर्दिष्ट गरेअनुरुप नै कार्यक्रम संचालन गरिएको कुरा पटक पटक दोहोर्याएका थिए । कार्यक्रममा सांगीतिक कार्यक्रमको नाममा हिमाली संस्कृतिक परिवारको टोलि बोलाएर तायमचा, सोरठी, लाखे, कौडा लगायतको नृत्य प्रस्तुत गरिएको थियो भने पोखरा-७, पोखरा -१५ र पोखरा -१८ बाट विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस प्रवेश गर्नेहरुलाई कांग्रेस सभापति देउवाको हातबाट सदस्यता प्रदान गरिएको थियो।
कांग्रेस प्रवेश गर्नेमा नेपाली काँग्रेस कास्कीको १४ औं महाधिबेशनमा कास्की जिल्ला कार्यसमितिको सदस्यमा निर्बाचित दिपक सुबेदी लगायतका रहेका छन सुबेदी केहि महिना अगाडी राप्रपा नेपाल कास्कीको अध्यक्ष बनेको थिए। कांग्रेस जिल्ला सदस्य छोडेर राप्रपा नेपाल प्रवेश गरेका सुबेदी अहिले पार्टीको साधारण सदस्यता लिएर कांग्रेस फर्केका हुन । उनीहरुलाई कांग्रेसमा प्रवेश गराउन आशबहादुर गुर्रुंग, नबिन बराल लगायतले सहजीकरण गरेको जानकारी दिईएको थियो।
सोहि कार्यक्रममा नेपाली काँग्रेसको पोखरा र लेखनाथको सभापति भएर काम गरिसकेका पूर्व सभापतिहरुलाई सम्मान समेत गरिएको थियो। सम्मान पाउनेहरुमा पूर्व सभापति बिष्णुहरी बराल, राजेन्द्रमणि लामिछाने, चन्द्र गोपाल श्रेष्ठ, बजिरमान श्रेष्ठ, स्व चक्रपाणी पौडेल लगायत रहेका छन पूर्व सभापति रहेका पूर्ण मेयर भोला थापा र नरेश शंकर पलिखे भने कार्यक्रममा सहभागी भएनन।
सम्मेलनमा सहभागीको लागि समय ब्यबस्थापन नगरिएकोमा चिन्ता
नेपाली काँग्रेसको बिधानमा पालिका वा जिल्ला तहको सम्मेलन हरेक बर्ष गर्नुपर्ने ब्यबस्था छ । सोहि ब्यबस्था अनुरुप कांग्रेसको पोखरा महानगरको सम्मेलन गरिएको हो। सम्मेलनमा सम्बन्धित पालिकाका क्रियाशील सदस्यहरु सहभागी हुने ब्यबस्था गरे अनुरुप पोखरा महानगरको सम्मेलनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितो रहनुपर्ने हो । पोखरा महानगरमा कांग्रेसका १४ हजार भन्दा बढी क्रियाशील सदस्य रहेपनि उपस्थिति भने अधिकांश क्रियाशील सदस्यहरु सहभागिता भने हुन सकेन।
सम्मेलनको उद्घाटन सहित समापन कार्यक्रम समेत एकै चरणमा सम्पन्न गरिएको थियो। सचिब र कोषाध्यक्षको प्रतिबेदन समेत उद्घाटन समारोहमा नै प्रस्तुत गरिएको थियो । सम्मेलनमा सहभागीहरुबाट कुनै विचार वा सुझाब लिन वा छलफल गर्नको लागि समय ब्यबस्थापन नगरिएको भन्दै वडा वडा बाट आएका कतिपयले चिन्ता प्रकट गरेका थिए।