Play

म्याग्दीको कुमारी सहकारीको डेढ अर्ब ठगि, एमाले नेता तथा जिल्ला समन्वय समिति प्रमुख थापा सहित पांच पक्राउ

गुरुकुल खबर


पोखरा, म्याग्दी जिल्लामा संचालित कुमारी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारीका संस्थापक सचिव राजकुमार थापा सहित पांच जना पक्राउ परेका छन  राजकुमार थापा नेकपा एमाले म्याग्दीका नेता तथा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख हुन उनीसहित सहकारीको ऋण समितिका पूर्व संयोजक मनप्रसाद थजाली, पूर्वअध्यक्ष थमबहादुर गर्वुजा, पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङ र पूर्वसचिव देवीकुमारी थापा पनि पक्राउ परेका छन ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयको छानबिन प्रतिवेदनका आधारमा प्रहरीले उनीहरुलाई अपचलनमा दोषी देखिएको भन्दै पक्राउ गरेको हो ।

सहकारीको १ अर्ब ४९ करोड रुपैयाँ हिनामिना भएको र उक्त रकम अपचलनको मुख्य योजनाकार  नेकपा एमालेका नेता थापा नै रहेको छानबिन प्रतिवेदनले देखाएको छ । थापाले सहकारीको रकम ढुकुटी खेलाउने, आफ्नो बोर्डिङ स्कुल संचालन गर्ने, घरजग्गा खरिद तथा व्यक्तिगत कामका लागि दुरुपयोग गरेको आरोप लागेको छ ।

थापाले सहकारीको ठुलो रकम बुद्ध एकेडेमीमा खर्च गराएका छन् । त्यसबाहेक विभिन्न ठाउँमा घरजग्गा जोड्न पनि उनले सहकारीको रकम दुरुपयोग गरेको आरोप छ । उनी सहकारीका संस्थापक सचिव हुन् भने निवर्तमान उपाध्यक्ष समेत हुन ।२०६५ सालमा सहकारी खुल्दा सचिव रहेका उनले २०७५ सालसम्म सचिव नै भएर काम गरे भने त्यसपछि २०७९ सालसम्म उपाध्यक्षका रूपमा रहेका थिए।

स्थानीय तहको चुनाबताका उनले आफ्नो लागि आबश्यक पर्ने खर्च समेत सोहि सहकारीबाट निकालेर चलाएको बुझिएको छ ।सहकारीमा समस्या देखिएपछि २०८१ जेठ २५ गते सहकारीको सञ्चालक समितिले सहकारीको आर्थिक गतिविधि छानबिन गर्न सहकारी रजिष्ट्रार कार्यालयलाई पत्राचार गरेको थियो । लगत्तै कार्यालयले छानबिनका लागि विज्ञ टोली खटाएको हो ।

संस्थाको वासलात विवरणमा रहेका खाताका लेजरमा भेटिएको कारोबारको अध्ययन गरिएको वित्तीय विश्लेषक निर्मल गौतमले जानकारी दिए । छानबिनपछि रजिष्ट्रार कार्यालयले हिसाब मिलाउन १ वर्षको समय दिएको थियो । दिइएको समयभित्र करिब ७ करोड हाराहारी मात्रै रकम मिलान भएको देखिएको छ ।  अझै १ अर्ब ४२ करोड मिलान हुन बाँकी देखिएको रजिष्ट्रार कार्यालयले जनाएको छ ।

हिसाब मिलान नभएपछि रजिष्ट्रार कार्यालयले कानुनी कारबाहीको प्रक्रिया सुरु गर्न सिफारिस गरेको रजिष्ट्रार भेषराज रिजालले जानकारी दिए । ‘धेरै समय दियौँ । हिसाब मिलान हुँदै भएन भन्दा पनि हुन्छ । त्यत्रो हिनामिना छ, थोरै रकम मात्रै मिलाएको देखियो,’ उनले भने, ‘अब मिल्ने अवस्था नदेखेपछि कारबाहीको सिफारिस गरिएको हो ।’  छानबिनकर्ताले गरेको बयानमा अधिकांशले सहकारीको हालत बिग्रिनुमा मुख्य जिम्मेवार थापालाई नै भनेका छन् ।

सहकारीका बचतकर्तालाई नोक्सान पुर्‍याएको रकम असुल गरी बचतकर्ता र सेयर समेतको रकम भराई बाँकी रकम सरकारको नाममा कायम हुने व्यवस्था मिलाउनुपर्ने रिपोर्टमा उल्लेख छ । बचतकर्ताको मात्रै ५५ करोडभन्दा बढी अपचलन भएको देखिएको छ । ‘रिपोर्ट हेर्दा सम्पत्ति शुद्धीकरणको कसूर गरेको हुन सक्ने अवस्था देखिएकोले थप अनुसन्धानको माग गरिएको छ,’ रिजालले भने । विभिन्न काल्पनिक खाता खोलेर सहकारीको ठुलो रकम अपचलन गरिएको उनको भनाइ छ ।

प्रतिबेदनमा के छ ?

छानबिनप्रतिबेदनले शीर्षकगत रूपमै रकम उल्लेख गरेर हिनामिना भएको हिस्सा निकालेको छ । जसअनुसार सञ्चालक समिति र उनीहरूका नातेदारबाट सामूहिक ऋण देखाएर १४ करोड ८९ लाख हिनामिना भएको छ ।  अन्य कर्जा भनेर ५७ करोड ५९ लाख र पेस्की बैंक खाता तथा धरौटीबाट १० करोड ७४ लाख हिनामिना भएको छ । थापाको स्वामित्वमा रहेको भनिएको बुद्ध एकेडेमीले १६ करोड ५ लाख ऋण लगेको देखाइएको छ ।

कर्जा रकमको ब्याज आम्दानीबाट ७ करोड ४४ लाख, विभिन्न खर्च शीर्षकमा रकम लेखांकन गरी १ करोड १० लाख र शून्य ब्याज कायम गरी ऋणको आयबाट १४ करोड २६ लाख हिनामिना भएको छ ।

मनप्रसाद थजाली र थमबहादुर गर्बुजाको नामबाट १० करोड ९० लाख, कोष म्यानेजमेन्ट कमिट र एड्जस्टमेन्ट खाताबाट १ करोड ४८ लाख, अल रिसेबल नामको सम्पत्ति खाता खडा गरेर १ करोड ४६ लाख, पूर्वव्यवस्थापक रुद्रबहादुर गुरुङको पेस्की खाताबाट २८ लाख १५ हजार, लोकबहादुर पुनको पेस्की खाताबाट ५६ लाख ५३ हजार, लोकेश पुनको खाताबाट २ लाख ५४ हजार हिनामिना भएको देखिएको छ ।

सिस्टमले भन्दा अधिक ब्याज खर्च लेखांकन गरी निकासी गरेको ५ करोड ९२ लाख, ब्याजदर अधिक राखी विभिन्न कर्जा मिलान तथा निर्सग गरेर १ करोड ४५ लाख हिनामिना भएको छ । संस्था विकास कोषबाट खाता प्रयोग गरी ३० लाख ३५ हजार, शेयर लाभांश कोषबाट १ लाख ८ हजार, अधिक ब्याजदर कायम गरी ८ लाख ३६ हजार, कर्जाको ब्याजदरभन्दा अधिक ब्याजदर प्रदान गरी भएको हिनामिना १ लाख र कर्जाको ब्याजदरभन्दा अधिक ब्याजदर लेखांकन गरेर नोक्सानी गरिएको ४ करोड रुपैयाँ छ ।

मुख्य हिनामिनामा संलग्न थापा र उनकी श्रीमती लीलामायाको नामबाट निकालिएको १ करोड ३० लाखभन्दा बढी कर्जा र ७ करोड रुपैयाँ सञ्चालक समितिका पदाधिकारीको मिलेमतोमा हिनामिना भएको उल्लेख छ । रकमहरू विभिन्न समयमा सञ्चालक समितिमा रहेका पदाधिकारी, अन्य उपसमितिका पदाधिकारी र उनीहरूको पति वा पत्नी तथा नजिकका व्यक्ति लगायतबाटै हिनामिना भएको छ ।

राजकुमार थापा र लोकबहादुर पुनको नाममा घरजग्गा किन्नका लागि, पोखराको हेमजामा प्लटिङ गर्न, बेनी नगरपालिका संगमचोकमा मनप्रसाद थजालीको नाममा घरजग्गा किन्न, पर्वतको जलजला माझफाँट बौरमा थापा र गर्बुजाको नाममा, बुद्ध एकेडेमीलगायतको  कामका लागि धेरै रकम लगेको विभिन्न व्यक्तिहरूले बयान दिएका छन्। थापासहित रुद्रबहादुर गुरुङ, बालकुमार रोका, लोकबहादुर पुन, गेमबहादुर घर्तीमगर, मनप्रसाद थजाली, थमबहादुर गर्बुजाको नाममा जग्गा किन्न पनि शून्य प्रतिशत ब्याजमा धेरै रकम लगिएको बयानबाट खुलेको छ ।

२० माघ २०८१, आईतवार २२:५६ मा प्रकाशित
Nabintech