Play

साहित्यिक चेतना र पठन शैलीको बिकास निम्ति प्रतिभा माविमा ‘साहित्य, कला र संगीत मेला’

गुरुकुल खबर


पोखरा,  विद्यार्थीहरुमा साहित्यको चेतना र पठनशैलीमा विकास गर्ने उद्देश्यका साथ पोखराको प्रतिभा माबिले बिद्यालयमा साहित्य, कला र संगीत मेलाको आयोजना गर्यो। उक्त मेलासंगै बिद्यालयमा अध्ययन गरेका पूर्व बिद्यार्थीहरु बीच पुनर्मिलन कार्यक्रम र पुस्तक तथा चित्रकला प्रदर्शनी एबम सांगीतिक कार्यक्रम समेत सोहि अबसरमा आयोजना गरिएको थियो। विद्यार्थी आफैले कोरेका चित्र उक्त कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो । यसअघि विद्यालयमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट भएको प्रविधिलाई समेत प्रदर्शनीको निम्ति राखिएको थियो ।

२०४३ सालमा स्थापित उक्त बिद्यालयमा अध्ययन गरेका बिद्यार्थीहरुको जमघट हुने कार्यक्रम बिद्यालयले पहिलो पटक गरेको हो । प्रतिभा माबिबाट विद्यालयतहको अध्ययन सकेका पूर्व विद्यार्थीको भेटघाटसँगै साहित्य, कला र संगीतको बारेमा छलफल गर्ने र पूर्व बिद्यार्थीहरुको बिचमा स्कुलका पुराना दिन स्मरण गराउने सोच अनुरुप जमघट गरिएको बिद्यालयले जनाएको छ ।

विद्यालय संचालक समितिका अध्यक्ष समेत रहेका पोखराका प्रतिष्ठित ब्यबसायी नारायण पौडेलले विद्यार्थीहरुलाई फरक फरक कार्यक्रम पस्कने क्रममा साहित्य, संगीत र कलालाई समेटेर कार्यक्रम आयोजना गरिएको बताए । ‘विद्यार्थीको रुची फरक फरक हुन्छ । कतिपयले साहित्यलाई रुचाउँछन, केहीले कला र कतिपयले संगीतलाई । त्यसबाहेक विद्यार्थीमा पठन शैली विकास गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्छन ।’ पौडेलले भने, ‘फरक शैलीमा कार्यक्रम पस्कने क्रममा यो पटक साहित्य, कला र संगीतलाई समेटेका छौ ।’ पौडेलले बिद्यालयले बिभिन्न विधालाई समेटेर कार्यक्रमहरु गर्दै आएको समेत जानकारी गराए ।

‘विद्यालयमा अध्ययन गर्दाको अबस्थाको अनुुभव साट्नका लागि अल्मुनाईमार्फत पहिलो पटक यस किसिमको जमघट गरिएको जानकारी दिंदै बिद्यालयका प्राचार्य किरण सापकोटाले भने, ‘एउटै विद्यालयमा पढेका र हाल विभिन्न जिम्मेवारीमा रहेका पूर्व विद्यार्थीलाई जमघट गराउने र उनीहरुको बिचमा आपसी कुराकानी गराउने र बिद्यालयमा हाल अध्ययनरत बिद्यार्थीहरुलाई पनि पुरानो अबस्थाको बारेमा जानकारी गराउन कार्यक्रम गरिएको हो।’

पछिल्लो पुस्ता पुस्तक पठनमा केही पछाडि परेको अवस्थामा यस्ता गतिविधिले उनीहरुमा पढ्ने शैलीको विकास हुने बिश्वास ब्यक्त गर्दै प्राचार्य सापकोटाले भने। ‘विद्यार्थीको सिर्जना, रचनामार्फत पस्केको सपना देखाउने अवसर यो कार्यक्रमले जुटाएको छ। यसले विद्यार्थीमा रहेको अन्तरनिहीन प्रतिभाको प्रस्फुटन हुने र विद्यार्थीमा कला र संस्कृतिको ज्ञान पस्कने बिश्वास हामीले लिएका छौं।’

उक्त कार्यक्रमको उद्घाटन पोखराका अग्रज साहित्यकार एबम संस्कृतिकर्मी तीर्थ श्रेष्ठले गरेका थिए । उक्त अवसरमा पोखरेली साहित्यकार तीर्थ श्रेष्ठसँग साहित्यकार एबम लेखक जीवनसागर भण्डारीले साहित्यिक छलफल गरेका थिए । भण्डारीसँग गफिँदै कवी श्रेष्ठले विद्यार्थी जीवनबारे अनुभव सुनाएका थिए । आफुले पोखरामा रहेर विद्यालयमा पढ्दा र अहिलेको शिक्षाबारे पनि श्रेष्ठले मनको कुरा पोखेका थिए ।

‘हामी स्कुल जाँदा गुन्द्री लिएर जान्थ्यौ, विद्यालयमा कक्षा कोठा थिएनन । खुला आकाशमुनि बसेर पढ्नुपर्दथ्यो । त्यस्तो बेला पानी पर्दा र हावाहुरी चल्दा स्कुल नै बिदा हुन्थ्यो’ श्रेष्ठले सुनाए। ‘अहिलेका विद्यार्थीका लागि ती कुरा सुुन्दा पनि नौलो लाग्छ । तर, हाम्रो पालामा अध्ययन निकै नै सकसपूर्ण थियो ।’

श्रेष्ठले बिद्यार्थीहरुलाई विरुवासंग तुलना गरे, विरुवालाई अभिभावकले घाम, शिक्षकले पानी र समाजले हावा दिएमा मात्र पूर्णता पाउँछन् । ‘अभिभावक स्वयं पनि शिक्षक नै हुन् । त्यही भएर विद्यार्थीका लागि अभिभावक, शिक्षक र समाज सबै क्षेत्र आवश्यक पर्छ,’ उनले भने, ‘कुनै एउटा क्षेत्रको मात्र अभावमा विद्यार्थीले फक्रने गतिलो मौसम पाउँदैन ।’

एकपटक असफल हुँदैमा सफलताको यात्रा  नसकिने भन्दै श्रेष्ठले असफलताको पाठ पढ्दै अघि बढेमा पक्कै पनि सफलता प्राप्त हुन्छ,  श्रेष्ठले भने। ‘एकपटकको असफलताबाट आत्तिनु हुँदैन ।’ उनले विद्यार्थीहरु पाठ्यपुस्तकमा मात्र निर्भर रहन नहुनेमा जोड दिए । ‘किताब पढेर मात्र विद्यार्थीको सिकाइ पुरा हुँदैन । विद्यार्थीले संस्कार पनि सिक्नुपर्छ । संस्कार सिक्नका लागि संगत पनि राम्रो हुनुपर्छ।’ श्रेष्ठले भने।

१९ माघ २०८१, शनिबार २०:४३ मा प्रकाशित
Nabintech