Play

दक्षिण कोरियामा रहेका नेपालीलाई सहयोग गर्न अक्षयकोष स्थापना, रकम जुटाउन सांगीतिक कार्यक्रम

कास्की परिवारको अगुवाईमा सम्पन्न भयो सांगीतिक कार्यक्रम 'माछापुच्छ्रे सांगीतिक साँझ भाग -४'


गुरुकुल खबर


दक्षिण कोरिया, नेपालको कास्की जिल्लाबाट दक्षिण कोरियामा पुगेर विभिन्न पेशा र व्यवसायमा संलग्न कस्केलीहरुको संस्था ‘कास्की परिवार’ले कोरियन नयाँ बर्षको सन्दर्भ पारेर दक्षिण कोरियामा एक बिशेष कार्यक्रमको आयोजना गर्यो । यहि जनवरी २८ तारिखको दिन गरिएको उक्त बिशेष कार्यक्रमलाई ‘माछापुछ्रे सांगीतिक साँझ, भाग -४’ नाम दिईएको थियो।

कास्की परिवार संस्थाले सन् २०१० मा पहिलोपटक माछापुच्छ्रे सांगीतिक साँझ कार्यक्रम गरेकोमा २०१४ मा दोश्रो पटक र २०१७ मा तेश्रो पटक यस किसिमको कार्यक्रम गरेको जनाएको छ । २०१७ मा नेपथ्य ब्याण्डलाई बोलाएर कार्यक्रम गरिएकोमा यस पटक अर्थात् सन् २०२५ मा आयोजित माछापुच्छ्रे सांगीतिक साँझ भाग -४ मा ‘१९७४ एडी’ ब्याण्डलाई आमन्त्रण गरेर भब्यरुपमा कार्यक्रम गरिएको मूल आयोजक समितिका संयोजक खोम प्रसाद गुरुङले गुरुकुल खबरलाई जानकारी दिए ।

उनका अनुसार कोरियामा रहेका नेपालीहरुलाई दुख वा अप्ठ्यारो परेको बेला सहयोग गर्नको लागि स्थापना गरिएको अक्षयकोषमा रकम थप गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रमको लागि बिभिन्न व्यक्ति र संस्थाबाट सहयोग संकलन गरिएको, प्रायोजकहरु खोजिएको र दर्शकहरुबाट प्रवेश शुल्कबापत टिकट समेत लिईएको कारण केहि रकम बचत भएको छ। तर, आम्दानी खर्चको यथार्थ विवरण सहितको प्रतिबेदन आउन बाँकि रहेकोले अहिले नै यति रकम बचत भयो भन्न सकिने अबस्था नरहेको आयोजकको भनाई छ ।

दक्षिण कोरियाका लागि नेपाली राजदुत शिवमाया तुम्बाहम्फेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरु तथा कोरियन पाहुनाहरु समेत उपस्थित रहेको कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद्का सचिब एबम कास्की परिवार कोरियाका सल्लाहकार राजेश सुबेदीले गुरुकुल खबरलाई जानकारी दिए ।

कार्यक्रम दक्षिण कोरियाको राजधानी सिउलस्थित हान नदि किनारमा रहेको जम्सील रंगशालामा भएको थियो। कार्यक्रम हेर्न ठुलो संख्यामा दर्शकहरु सहभागी बनेका थिए। नेपाली सम्पर्क समिति र गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा सम्पन्न कार्यक्रमको मुख्य प्रायोजक ओसिस इमिग्रेसन ग्रुप र यसएनबि ग्रुप कन्सल्ट्यान्सी तथा सह प्रायोजक पोखरा रेष्टुरेन्ट एन्ड बार रहेको मूल संयोजक गुरुङले गुरुकुल खबरलाई बताए ।

उनका अनुसार कार्यक्रमकै दौरानमा भारी हिमपात भएपनि दर्शक सहित पाहुनाहरुले निकै मनोरंजन लिएको लिएका थिए तर कार्यक्रम ब्यबस्थापनमा भने केहि कठिनाई भएको थियो।  कार्यक्रम सम्पन्न गर्न कास्की परिवारका अध्यक्ष सन्तोष पौडेलको संयोजकत्वमा कलाकार छनोट समिति, कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष तथा संस्थाका सल्लाहकार डा. प्रदिप अधिकारीको संयोजकत्वमा कलाकार व्यवस्थापन समिति गठन गरिएको थियो

यसैगरि एनआरएन कोरियाका अध्यक्ष तथा कार्यक्रमको समन्वय गर्ने बुद्धि गुरुङको संयोजकत्वमा हल ब्यबस्थापन समिति, गण्डकी प्रदेश समाजका अध्यक्ष प्रबिण गिरिको संयोजकत्वमा संचार समन्वय समिति, आरती ह्योल्मोको संयोजकत्वमा आर्थीक समिति, टेकनाथ भण्डारीको संयोजकत्वमा प्रचारप्रसार समिति, र अमर थापाको संयोजकत्वमा स्वयंसेवक ब्यबस्थापन समिति गठन गरेर कार्यक्रमको तयारी गरिएको मूल संयोजक गुरुङको भनाई छ ।

यसैबीच कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषदसंग आबद्द रहेको कास्की परिवार कोरियाले भब्य कार्यक्रम सम्पन्न गरेको भन्दै परिषद्का अध्यक्ष शिब बानियाले खुशी व्यक्त गरेका छन । ‘कोरियामा रहेका नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने लक्षका साथ् कास्की परिवारको अगुवाईमा कार्यक्रम हुनु हामी कास्की जिल्लाबाट विभिन्न मुलुकमा आएर बस्नेहरुको लागि खुशीको कुरा हो ।’ अध्यक्ष बानियाले भने ।

उनले विश्वका बिभिन्न मुलुकमा रहेका कस्केलिहर्को विश्व सम्मेलन यसै बर्ष दुबईमा गर्ने निर्णय भएको भन्दै संस्थालाई थप संगठित र एकताबद्ध बनाएर कास्कीको समग्र बिकासको लागि थप योगदान दिन संस्थाका साथीहरु प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउनको लागि विभिन्न तह र तप्काबाट आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्ने सामाजिक, राजनीतिक, खेलकुद तथा धार्मिक संघ संस्था, व्यवसायिक प्रतिष्ठान, गिम्फो विश्व विधालय, सउल तेक्वान्दो एशोसिएशन, संचार माध्यम, मिडियाकर्मीहरु, बिद्यार्थी तथा आमनेपाली समुदायमा आयोजक कमिटी कास्की परिवार दक्षिण कोरियाले आभार  समेत प्रकट गरेको कास्की परिवारका महासचिब अशोक थापाले बताए ।

१७ माघ २०८१, बिहीबार १४:४७ मा प्रकाशित
Nabintech