पोखरा,‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित पोखराको टुंडिखेलमा जारी प्रतियोगितामा आज ६ खेल सम्पन्न भएका छन् । बगर भाइखलकको आयोजनामा जारी १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगितामा आज पहिलो चरण अन्तर्गतकै खेल भएका हुन् ।
पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुंडिखेलमा बुधबार भएको पहिलो खेलमा बिबिसी काठमाडौंको टोलि नआएपछि ताकामी काठमाडौंले वाक ओभरमार्फत विजयी बन्ने अवसर पायो । दोस्रो खेलमा चितवन भेट्रान्स र सुनाखरी भेट्रान्स ललितपुर बीच भएको खेलमा चितवनका एक खेलाडीको निर्धारित उमेर कम (४० वर्ष मुनीका) खेलाडी खेलाएको थाहा भएपछि प्रोटेस्ट परेको थियो । अनि चितवनको टिम अयोग्य ठहरियो र सोहि आधारमा ललितपुर टिम खेल्दै नखेली विजयी बन्यो ।
तेश्रो खेलमा गार्डेन एफसी पोखराले एनजेजेभिसी सिमरालाई २–० गोल अन्तरले पराजित गर्याे । यस्तै चौंथो खेलमा चियापप ठमेलको अनुपस्थितिमा ब्रदर्शहुड काठमाडौं वाकओभरमार्फत विजयी बन्यो । पाँचौ खेलमा फ्रिडम फाइटरले र कुपण्डोललाई २–० गोल अन्तरले हराउँदै फाइटर दोस्रो चरणमा प्रवेश गर्याे ।
अन्तिम खेल झम्सीखेल र गण्डकी स्पोर्टस् क्लबबीच भएकोमा १/१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि पेनाल्टी सुटआउटमा झम्सीखेल विजयी बनेको हो । बिहिबार पनि पहिलो चरणकै खेलहरुहुने बगर भाइखलकका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए ।
शुक्रबारबाट मात्र ५० वर्ष माथी उमेर समूहतर्फको खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीले नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५ र ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल,सिमरा,कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता रहेको छ ।