पोखरा, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ लिग चरणका दुई खेल र महिलातर्फ एलिमिनेटर खेल हुनेछ ।
महिलातर्फको पहिलो खेल बिहान नौ बजेबाट सुरु हुनेछ । उक्त खेल नेपाल पुलिस क्लब र टिपटप न्यू डायमण्डबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए ।
उक्त खेलको विजेता एपिएफ र आयोजक टोलीमध्ये पराजित हुने टोलीसँग फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
भोलिको दोस्रो र तेस्रो खेल पुरुषतर्फको हुनेछ ।दोश्रो खेल त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल पनि सुरु हुने तालिका छ । उक्त खेल समय अभावका कारण बुधबार स्थगित भएको थियो । यसैगरि तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबबिच हुनेछ । दुवै खेल समय अभावका लागि पछि सरेसँगै प्रतियोगिता एक दिन लम्बिने भएको छ । यसअघि १९ गतेसम्म तय गरिएको उक्त प्रतियोगिता २० गतेसम्म चल्ने प्रतियोगिता संयोजक ज्ञवालीले जानकारी दिए ।
यस अगाडी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित हुन पुगेको थियो ।
पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो । अब आर्मी र सुनिल भलिबल क्लबबिचको खेल बिहीबार हुनेछ ।
यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबिचको खेल पनि बिहिबार हुने तालिका छ ।
यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग ३–२ सेटले पराजित हुँदै सशस्त्र प्रहरी बल एपिएफ प्रतियोगिताबाट बाहिरिएको थियो ।
महिलातर्फ भएको खेलमा एपिएफ र ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले जित निकालेका थिए । पहिलो खेलमा ट्राभल इन्क्वारीले आर्मीलाई ३–० र एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित थियो ।