Play

कांग्रेसको क्रियाशील सदस्यता चैतभित्र नबिकरण गर्न महामन्त्रीको परिपत्र, कार्यतालिका सार्बजनिक

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने काम आगामी चैत २९ गतेभित्र गरिसक्नुपर्ने निर्देशन सहित मातहतका समितिलाई परिपत्र गरेको छ। साथै क्रियाशील सदस्यता नवीकरणका लागि कांग्रेसले तहगत रूपमा मिति तोकेरै कार्यतालिका समेत बनाएर पठाएको छ।

नेपाली काँग्रेसका महामन्त्री गगन थापा नेतृत्वको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले मुलुकका ७७ वटा जिल्ला कार्यसमितिका सभापतिलाई बिहीबार परिपत्र पठाएर आगामी चैत २९ गतेसम्ममा क्रियाशील सदस्यता नवीकरण विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन गरेको हो।

कांग्रेसमा महामन्त्री थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समिति रहेको छ र सोहि समितिले गरेको सिफारिस अनुसार सदस्यताको नबिकरण गर्नुपर्ने कार्यतालिका सहित मिति तोकिएको हो ।

कांग्रेसले वडा, गाउँ-नगर, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्र तथा जिल्ला कार्यसमितिलाई कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण गर्नसमेत भनेको छ। ‘क्रियाशील सदस्यता नवीकरणसम्बन्धी निर्णयको प्रतिलिपी, अद्यावधिक विवरण, सदस्यता शुल्कलगायत कागजातसहित जिल्लाको प्रतिवेदन चैत २९ गते अपराह्न ३ बजेसम्म अनिवार्य रूपमा पार्टी केन्द्रीय कार्यालय सानेपामा प्राप्त हुने गरी पठाउन अनुरोध छ,’ महामन्त्री गगन थापाको हस्ताक्षर गरि  ७७ जिल्ला सभापतिलाई पठाएको परिपत्रमा उल्लेख छ।

कांग्रेसले क्रियाशील सदस्यको विवरणसँगै शुल्कसमेत पठाउन आग्रह गरेको छ। कांग्रेसले पहिले क्रियाशील सदस्यता नवीकरण सक्ने र त्यसपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी गरेको हो।  २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए। यसपटक नयाँ क्रियाशील सदस्य थप गरि १० लाखको हाराहारीमा सदस्य बनाउने कांग्रेसको योजना रहेको बताईन्छ

यस्तो छ क्रियाशील सदस्यता नवीकरणको कार्यतालिका;

१. एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाका हकमा जिल्ला सभापतिले माघ १२ गते अपराह्न ५ बजेसम्म अनिवार्य रूपमा फारम पठाइसक्ने।

२. एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिले माघ १३ गते अपराह्न ५ बजेसम्म प्रदेश सभा क्षेत्रीय सभापतिलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता फारम र नामावली बुझाइसक्ने।

३. प्रदेश सभा क्षेत्रीय सभापतिले गाउँ-नगरका सभापतिलाई क्रियाशील नवीकरण फारम र सम्बन्धित गाउँ-नगरभित्रका क्रियाशीलको नामावली माघ १४ गते अपराह्न ५ बजेसम्म बुझाइसक्नुपर्ने।

४. गाउँ-नगरका सभापतिले आफूले प्राप्त गरेको क्रियाशील सदस्यता नवीकरण फारम र सम्बन्धित वडाका क्रियाशील सदस्यको नामावली माघ १५ गते अपराह्न ५ बजेभित्र अनिवार्य रूपमा वडा कार्यसमितिका सभापतिलाई बुझाइसक्नुपर्ने।

वडामा क्रियाशील सदस्यता नवीकरण गरिसक्ने समय सीमा;

१. वडा सभापतिले क्रियाशील सदस्यता फारम पाएपछि माघ १५ गतेदेखि फागुन १ गतेभित्रमा वडा कार्यसमिति बैठक राखेर क्रियाशील सदस्यता नवीकरण गर्ने र नवीकरण शुल्क दुई सयका दरले लिने। क्रियाशीलका विवरण र शुल्क गाउँ-गाउँ नगरमा बुझाउने।

२. वडाबाट आएको क्रियाशील नवीकरण फारम र शुल्क फागुन १० भित्र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने।

३. गाउँ-नगरबाट प्राप्त क्रियाशील सदस्यको नवीकरण फारम र सदस्यता शुल्क फागुन २० गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने।

४. प्रदेश सभा क्षेत्रबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फारम र सदस्यता शुल्क फागुन मसान्तभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने।

५. एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील र सदस्यता शुल्क चैत १५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउने।

६. जिल्ला कार्यसमितिले मातहत समितिबाट तहगत रूपमा नवीकरण र आवश्यक सिफारिस भइआएका क्रियाशील सदस्यता नवीकरण फारम जिल्लामै सुरक्षित राख्ने।

७. नवीकरण भएका क्रियाशील सदस्यको नामावली विवरण र वडागत संख्यासहित सदस्यता शुल्क कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंकको खातामा जम्मा गरी भौचर चैत २९ गते अपराह्न ३ बजेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउने।

८. नवीकरण रकम, नामावली र वडागत संख्या विवरण केन्द्रमा प्राप्त भएपछि मात्र पार्टीको वेबसाइटमा नवीकरण डाटा इन्ट्री गर्नका लागि युजरनेम र पासवर्ड उपलब्ध गराइनेछ।

४ माघ २०८१, शुक्रबार २२:१२ मा प्रकाशित
Nabintech