पोखरा, कास्की जिल्लामा संचालनमा रहेका विभिन्न सहकारी संस्थाहरुको छाता र साझा संस्थाको रुपमा रहेको जिल्ला सहकारी संघ लिमिटेड कास्कीको ५१ औं साधारण सभा तथा अधिबेशन शनिबार सम्पन्न भएको छ ।
अधिबेशनले आगामी चार बर्षका लागि जिल्ला सहकारी संघ कास्कीको नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ। नबनिर्बाचित समितिको अध्यक्षमा दिपकराज बास्तोलालाई चयन गरिएको छ। उनि यसभन्दा अगाडीको कार्य समितिमा महासचिब पदमा निर्बाचित भएर काम गरेका थिए।
समितिको बरिष्ठ उपाध्यक्षमा छबिलाल लामिछाने र महिला उपाध्यक्षमा अम्बिका आचार्यलाई चयन गरिएको छ । लामिछाने र आचार्यले यस अगाडी पनि सोहि पदमा रहेर जिम्मेवारी सम्हालेका थिए ।
संघको महासचिवमा दीपक प्रकाश आचार्य, कोषाध्यक्षमा भोजराज घिमिरे पनि सर्बसम्मत निर्बाचित भएका छन । आचार्य यस अगाडी राष्ट्रिय प्रतिनिधिको रुपमा रहेका थिए भने घिमिरे यस अगाडी संघको कार्यालय ब्यबस्थापकको रुपमा काम गरेका थिए।
यसैगरि जिल्लाबाट प्रतिनिधित्व गर्ने संघको राष्ट्रिय प्रतिनिधिमा विना लोहनीलाई चयन गरिएको छ भने संघको सञ्चालक सदस्यमा आनन्द सुवेदी, सविना अधिकारी क्षेत्री, धनराज पुरी, विमलाकुमारी थापा बस्नेत, मैनादेवी रावत, चन्द्रावती गैह्रे, , ईश्वरीप्रसाद लम्साल लाई चयन गरिएको छ ।
यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा रुद्रनाथ पौडेल र सदस्यहरुमा शुष्मा पहारी र नारायण बजगाइँलाई चयन गरिएको छ। अधिबेशनबाट नयाँ नेतृत्व सहित विभिन्न पदको लागि निर्बाचन गर्नको लागि सहकारी रजिस्टारको कार्यालयकी इश्वरी ढकाल संयोजक एबम पोखरा महानगरपालिकाको प्रतिनिधि राजु सुबेदी र सहकारी बैंकका गण्डकी प्रदेश प्रमुख नरेश पाण्डे सदस्य रहेको निर्बाचन समिति गठन गरिएको थियो ।
साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी संघले उत्कृष्ट काम गरेको बताए । उनले सहकारी सिद्धान्त, मूल्य मान्यता तथा ऐन नियमको परिधिभित्र रहेर सञ्चालन गरेमा कुनै समस्या नआउने जिकिर गरे ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, पोखरा महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी र सहकारीकर्मी एबम अधिबक्ता युवराज पराजुली लगायतले आआफ्नो भनाई राखेका थिए ।
सभामा सञ्चालक समितिको तर्फबाट संघकी अध्यक्ष सावित्रा कोइराला, कोषाध्यक्ष नवराज बराल र लेखा सुपरिवेक्षण समितिका धर्मराज गुरुङले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए।
संघका वरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, महिला उपाध्यक्ष अम्बिका गौतम आचार्य र महासचिव दिपकराज बास्तोलाले पनि जिल्ला सहकारी संघका बिबिध गतिबिधिहरुमा जानकारी गराएका थिए ।
समारोहमा जिल्ला सहकारी संघका गतिविधिलाई सहयोग गर्ने व्यक्ति र संस्थाहरु सहित विभिन्न सहकारी संस्थाका ११ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो।
कास्की जिल्ला सहकारी संघले जिल्लाको विभिन्न स्थानबाट कृषकहरुले उत्पादन गरेको दुध संकलन गर्ने, प्रसोधन गर्ने एबम दुग्धजन्य पदार्थको उत्पादन गरि बिक्रीवितरण समेत गर्दै आएको छ । हाल संघले करिब चार हजार लिटर दुध दैनिक रुपमा संकलन गरि दुग्धजन्य पदार्थ प्याकेट दूध, दही, नौनी, पनिर, खुवा र आइसक्रिम उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ ।
संचालक समिति सर्बसम्मत तर राजनीतिक रुपमा पदको बांडफांड
कास्की जिल्ला सहकारी संघ जिल्लामा रहेका सहकारी संस्थाहरुको छाता एबम साझा संस्थाको रुपमा रहेकोले संचालक समिति सर्बसम्मत रुपमा चयन गरिएको बताइएको छ। जिल्ला सहकारी संघ कास्कीका पूर्व अध्यक्ष रबिरमण तिवारीले गुरुकुल खबरसंग कुरा गर्दै बर्तमान समयमा सहकारी संस्थाहरुमा चुनौती बढेको र आमसर्बसाधारणमा समेत सहकारी प्रति नकारात्मक धारणाको विकास हुँदै गएकोले सहकारीको गरीमा र प्रतिष्ठालाई जोगाउनुपर्ने आबश्यकतालाई दृष्टिगत गरि कार्यसमिति सर्बसम्मत रुपमा चयन गरिएको बताए ।
कार्यसमितिमा पद बांडफांड गर्दा सहकारी संघमा प्रतिनिधित्व गर्नेहरुका बिचमा राजनीतिक रुपमा पदको भागबन्डा गरि राजनीतिक सन्तुलन मिलाउनुपर्ने आवाज समेत उठेको थियो। पछिल्लो समय सहकारी अभियानमा देखिएको चुनौतीको सामना गर्न सबै मिलेर जानुपर्ने आबश्यकता बोध गरेर राजनीतिक रुपमा पनि सहमति कायम गरि पदको बांडफांड गरिएको बुझिएको छ।
सहकारी संघको केन्द्रमा नेकपा एमालेको बर्चस्व रहने गरेको भएपनि कास्कीमा भने नेपाली काँग्रेस निकट सहकारीको संख्या बढी रहेको बताईन्छ। जसका कारण कास्की जिल्ला सहकारी संघमा नेपाली काँग्रेस निकट मानिनेहरुको बहुमत पुगेको छ।
कास्की जिल्लामा सात सय जति सहकारी संस्था दर्ता भएको भएपनि पछिल्लो समय कतिपय सहकारी बन्द भैसकेको छन भने कतिपय संचालनमा नै आएका छैनन। हुन त संघमा आबद्द हुने वा नहुने भन्ने कुरा सम्बन्धित सहकारीको आफ्नो निर्णयमा भर पर्ने भएकोले कतिपय सहकारीहरु संघमा आबद्द नभएर पनि आफ्नो गतिबिधि संचालन गरिरहेको छन।
कास्कीमा सहकारी संघको इतिहास लामो भएपनि प्रजातन्त्र पुनस्थापना पश्चात मेजर केशब तामांग, हिरामणि भण्डारी, प्रभा कोइराला, रबिरमण तिवारी र सावित्री शर्मा कोइरालाले मात्र संघको अध्यक्षको जिम्मेवारी सम्हालेका छन। तामांग र भण्डारी सर्बसम्मत रुपमा अध्यक्ष चयन भएको भएपनि प्रभा कोइरालाले नेतृत्व लिने समयमा राजनीतिक खिताचानी बढेको कारण निर्बाचन नै हुन पुगेको थियो । जसका कारण २६ वटा सहकारीबाट प्रतिनिधित्व भएको त्यो समयमा समेत मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्नुपरेको थियो।
मतदान प्रक्रियाबाट अध्यक्षमा निर्बाचित नेकपा एमाले निकट रहेकी कोइरालाले दुई कार्यकाल नेतृत्व गरेकी थिइन। उनि भन्दा पछि रबिरमण तिवारीले जिल्ला सहकारी संघको अध्यक्ष निर्बाचित हुने मौका पाए। उनि नेपाली काँग्रेस निकट मानिन्छन। तिवारीको कार्यकालमा सहकारी संघमा जिल्लाका सहकारी संस्थाहरुलाई सदस्य बनाउने अभियानले तिब्रता पाएपछि संघमा करिब चारसय सहकारी संस्थाहरु सदस्य बनेको बताईन्छ।
तिवारी पछि सहकारी संघको अध्यक्ष सावित्री शर्मा कोइराला बनेकी हुन। त्यस अगाडिका अध्यक्ष रबिरमण र प्रभाले दुई दुई कार्यकाल अध्यक्ष बनेर काम गरेको भएपनि सावित्रा शर्मा कोइराला भने एक कार्यकाल मात्र अध्यक्ष बनेर काम गरेपछि भएको अधिबेशनबाट दिपकराज बास्तोलाले नयाँ अध्यक्ष बन्ने मौका पाएका छन ।
विश्वस्त श्रोतका अनुसार संघको संचालक समितिको अध्यक्ष दिपकराज बाँस्तोला, महिला उपाध्याक्ष अम्बिका आचार्य गौतम, महासचिब दिपक प्रकाश आचार्य साथै संचालक सदस्यहरु सबिना अधिकारी क्षेत्री, बिमला बस्नेत थापा, धनराज पुरी र बिषयगत सहकारीबाट प्रतिनिधित्व गर्ने आनन्द सुबेदी गरि सातजना नेपाली काँग्रेस निकट हुन भने बरिष्ठ उपाध्यक्ष छबिलाल लामिछाने र संचालक सदस्य द्वय मैनादेवी रावत र इश्वरी प्रसाद लम्साल गरि तीनजना नेकपा माओबादी केन्द्र निकट मानिन्छन ।
जिल्ला सहकारी संघ कास्कीको कोषाध्यक्ष भोजराज घिमिरे, राष्ट्रिय प्रतिनिधि बिना लोहनी, संचालक सदस्य चन्द्रावती गैरे सहित कार्यसमितिमा रहेका तिन जना र लेखा समितिको संयोजक रुद्रनाथ पौडेल र लेखा समितिको सदस्य सुष्मा पहारी नेकपा एमाले निकट मानिन्छन। लेखा समितिको एक सदस्य नारायण बजगाईंलाई भने नेकपा एकीकृत समाजबादी निकट रहेको बताइएको छ।
राजनीतिक रुपमा भागबन्डा गरि कार्यसमितिमा सहमति कायम गराउन जिल्ला सहकारी संघ कास्कीका पुर्ब अध्यक्ष रबिरमण तिवारीलाई नेपाली काँग्रेसको तर्फबाट, भेषराज बराललाई नेकपा एमालेको तर्फबाट र युबराज पराजुलीलाई नेकपा माओबादी केन्द्रको तर्फबाट जिम्मा दिईएको बुझिएको छ ।