काठमाडौँ, नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको काज सरुवा भएको छ। मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो।
सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी दिइएको छ। ललितपुर परिसरका एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।
रानीपोखरीका एसएसपी विनोद घिमिरेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथमा पठाइएको छ। त्यस्तै, राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा सरुवा गरिएको छ।
अपराध अनुसन्धान विभागमा कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ।
सरुवा भएका एसएसपीहरूले चाँडै नै नयाँ जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका छन्। उसो त काठमाडौं प्रहरी परिसरमा पनि नयाँ एसएसपी पठाइने चर्चा थियो। सोही अनुरुप त्यहाँ जानका लागि श्यामकृष्ण र अर्का हेडक्वाटरमा रहेका एसएसपी विश्व अधिकारी दौडमा थिए। यद्यपि त्यहाँको सरुवा हुन सकेन।